राजेशचन्द्र रा.भ.
हरेक वर्ष हामीले बिश्व खाद्य दिवस धुमधामका साथ देशभरी मनाउँदै आएका छौ । हामीले धेरै पहिला नेपाललाई कृषि प्रधान देश भनेर चिन्ने गर्दथ्थौ । तर, अहिले हाम्रो देशको नारा परिवर्तन भएको हो त ? हामी अहिले नुन, दाल र चामल सबै बेसाएर खाने भएका छौ । हामी कृषि प्रधान देश नेपालका जनता हैन । अहिले हामी सबै कुरामा बिदेशतर्फ निर्भर भएका छौ । हामीले हाम्रो देशमा भएको कृषि उब्जनी बिदेशलाई हैन बिदेशमा भएको उब्जनी किनेर ल्याएर खाने अबस्थामा पुगेका छौ । अहिले हामीले विश्व खाद्य दिवस मनाउदै गर्दा हामीले भन्ने नारा के छ त ? सायद हामी कुनै जमानामा कृषि प्रधान देश थियौ । हामीले हाम्रो देशमा बढी भएको चामल, मकै र गहुँ बिदेशमा लगेर बिक्री गर्ने गर्दथ्थौ । अहिले पनि देश कृषि प्रधान नै हो तर नामको मात्रै । हामीले हिजो खेती गर्ने जग्गा जमिन अधिकांश बाँझो छ । अहिले गाउँदेखि शहरसम्म घडेरी प्लटिङ गरेर चिराचिरा पारिएको छ । नेपाल सरकार छ कि छैन भनेर सोध्यो भने सबैले सहज रूपमा जवाफ दिन्छन् । देशमा सरकार छ । मन्त्रीको कुरा गर्ने होभने अहिले जिल्ला–जिल्लालाई मात्रै हैन गाउँ–गाउँलाई समेत मन्त्री बनेका छन् । देशमा कृषि मन्त्री बन्छन्, असार १५ मा धान दिबसमा रोपाइ गर्न जान्छन् । धान रोप्छन मन्त्री ज्युले, महिलासंग रमाइलो गर्न खोज्छन् अनि देशमा मन्त्री फेरिन्छ । कृषिको विकास नभए पनि धान दिबसमा रोपेको धान हिउँदमा राम्रोसँग फले पनि नफलेपनि मन्त्रीलाई केही चिन्ता छैन । कृषि विकास कार्यालयलाई कुनै पश्च्ताप पनि छ । देशलाई चाहिने चामल, दाल, लसुन, तरकारी, खसीबोका, तिहारलाई चाहिने फूल समेत बिदेशबाट आउने भएपछि कसैलाई केही चिन्ता भने छैन ।
अहिले खाली हातमा पैसा भए पुग्छ । हामीलाई चाहिने सामान बजारमा जति बेला पनि सहजै पाइने भएपछि किन यहाँ खेती गरेर टाउको दुखाई राख्नु पर्या । देशमा दिबस मनाउने कुरा गर्ने हो भने गनेर र भनेर साध्य छैन । एक बर्षमा ३६५ दिन हुन्छन् । त्योभन्दा बढी दिबस पर्छन् । अहिले खाद्य दिबस मनायो फेरि अर्को साल दिबस मनाउने बेलामा मात्रै थाहा हुन्छ हामीलाई । दिबसहरू पनि खाली औपचारिकता मात्र भएको छ । खाली मनाउनको लागि मनाउने यस्तो खालको नीतिले हामीले के प्रगति गर्न सक्छौ । अनि देशलाई कसरी आत्मनिर्भर बनाउन सक्छौ । कसरी हामी खाद्यन्न देशमा उत्पादन गर्न सक्छौ, कसैलाई केही मतलब र चासो नै छैन । देशमा ठुलो राजनीतिक परिवर्तन भए । देशबाट २४० बर्ष पुरानो राजतन्त्रको अन्त्य पनि भयो तर अहिले खाली राजनीति मात्रै परिवर्तन भयो तर देशको विकास गर्ने कुरामा भने कुनै नीति परिवर्तन भए जस्तो लागेन । जहाँ जुनसुकै ठाउँमा हेर्दा पनि आशा लाग्दो ठाउँ देखिदैन । देशको ठूलो जनशक्ति विदेशमा गएका छन् । दिनहुँ १५ सय युवा रोजगारीको लागि बिदेश गैरहेका छन् । यिनीहरूलाई स्वदेश मै रोजगारी दिने हाम्रो सरकारसंग न त कुनै कार्यक्रम छ न त नीति नै छ । सरकारको सबैभन्दा सजिलो ब्यापार छभने सरकारले राहदानीको ब्यापार गर्न भने भ्याइनभ्याई छ । बिदेश जान खोज्ने युवालाई सरकारले भनेको समयमा राहदानी डबल पैसा दिँदा समेत उपलब्ध गराउन सक्दैन भने यहाँ रोजगारी दिने कुरा त धेरै परको बिषय भयो । हामी कृषि प्रधान देशका जनता किन आज यस्तो अबस्थामा पुग्यौं त भन्ने कुराको हेक्का राख्ने कसले ? जसले देश र जनताको पक्षमा नीति बनाउने हो उसलाई अहिले फुर्सद छैन ।
सरकार परिवर्तन गर्ने र मन्त्री बन्ने खेलकै कारण पनि कुनै कृषि नीति सफल छैन । हाम्रो सरकारको काम भनेको दलालीको मात्रै भएको छ । बिदेशीको सामान बिक्री गरिदिने मध्यस्थता गरिदिने । हाम्रो देश साँच्चिकै कृषि प्रधान होइन भने अबदेखि यो पुरानो नारालाई हटाउनु जरुरी छ । होइन भने सधैं नुनदेखि चामल र तरकारी बिदेशबाट आयात गर्ने होभने भोलिका दिनमा कसरी हामीले हाम्रो छोराछोरीलाई बिहान बेलुकी भात खुवाउने । त्यो बिषयमा पनि अहिलेदेखि गम्भीर बन्न जरुरी छ । अहिले भएको हाम्रो खेतबारी सबै बाँझो राखेर युवा जनशक्ति बिदेश गएपछि गाउँमा भएका परिवार समेत शहर बजार झरेपछि गाउँमा झन् अबस्था नाजुक बन्दै गैरहेको छ । हामी बजारमुखी बनिसकेका छौ । बजारमा केही कुरा पाइएन भने हाम्रो घरमा चुल्हो बल्दैन । आफ्नो करेसाबारी बरू खाली होस् तर हामीले हामीलाई चाहिने सागपात पनि उमार्नतिर लाग्दैनौ । काम गरेमा हामीले हाम्रो इज्जत, मान र प्रतिष्ठा घटेको महसुस गर्दछौं । हाम्रो आफ्नो पनि कमीकमजोरी छन् । हामीले सबै दोस सरकार, राजनीतिक पार्टीलाई दिएर पन्छिन खोज्छौ । हामीले बहस गर्नुपर्ने बिषय देशलाई कसरी स्वाधिन र आत्मनिर्भर बनाउने भन्नेतर्फ नै हुन जरूरी छ । सधैं किनेर खाने बानी भए भोलिका दिनमा छिमेकी मुलुकले नाकाबन्दी गर्ने होभने बिदेशबाट चामल, दाल र तरकारी पठाउन बन्द गरेमा हामी नेपालीले त्यतिबेला कसरी जीवन जिउने ? त्यो त अहिले देखिनै सोच्न जरुरी छ ।
भएको खेतीयोग्य जमिनमा झार उमार्न दिने र युवा जनशक्तिलाई मजदुरी गर्न बिदेश पठाउने । त्यहीँ युवाले पठाएको रेमिट्यान्स रकमले सबैथोक किनेर खाने बानी भएपछि केही सजिलो त भएको छ तर कालान्तरमा भने यसले हानी नै पु¥याउने देखिन्छ । अब ७ वटा प्रदेशबीच प्रतिस्पर्धा गरेर आ–आफ्नो प्रदेशलाई चाहिने खाद्यन्न आफै उत्पादन गर्ने तर्फ प्रदेश सरकारले ध्यान दिने मात्रै हैन कार्यक्रम नै बनाउन जरुरी छ । हामीले गीत मात्रै राष्ट्रिय स्वाभिमान को गाएर पुग्दैन व्यवहार पनि हाम्रो त्यहीँ अनुसारको हुन जरुरी छ । अबको ५ बर्षभित्र हामीलाई चाहिने धान, मकै, गहुँ, फापर र कोदो सबै देशमै उत्पादन गर्नेछौ भनेर सरकार र जनप्रतिनिधिले मन वचनले प्रतिबद्धता जनाउने हो भने समस्या केही पनि छैन । देशमा सबै राजनीतिक पार्टीको किसान संघ छन् । केन्द्रदेखि गाउँ तहसम्म संगठन पनि छन् । यसमा कृषिको महत्व बिषयमा कुरा गर्ने नेताहरू छन् तर प्रगति भने शून्य नै छ । यो हुनुको कारण हाम्रो किसान संघका मान्छेहरूको ध्यान कृषिमा हैन राजनीतिमा नै बढी छ । त्यहीँ भएर पनि हो अहिले कृषि क्षेत्रमा प्रगति नभएको । अहिलेदेखि देशको बारेमा सोच्ने होभने मात्रै फेरि खाद्य दिबस मनाउने बेलामा गर्व गरेर भाषण गर्न सजिलो हुनेछ ।