काठमाण्डौ,२९ असोज–बेनी–जोमसोम–कोरला सडक आयोजनाले यस वर्षका लागि सरकारले दिएको ४५ करोड रुपैयाँ खर्च गरिसकेको छ । अन्य आयोजनामा बजेट खर्च हुन नसकिरहँदा शुरुवाति चरणमै उक्त आयोजनाले बजेट सकेको हो । नवलपरासीको गैंडाकोटदेखि पाल्पा, बागलुङ हुँदै कोरला जोड्ने उक्त सडक चार सय ३५ किलोमिटरको छ । अहिले दुई भागमा बाँडेर काम अगाडि बढाइएको छ, नवलपरासीदेखि पाल्पा र बेनीदेखि कोरला ।
उक्त सडकले भारत र चीन जोड्छ । सोही सडकको बेनी–जोमसोम–कोरला खण्डमा अहिले सडक विस्तार तथा ग्राभेलिङ भइरहेको छ । उत्तर–दक्षिण व्यापारिक मार्ग आयोजना प्रमुख भीमार्जुन अधिकारीका अनुसार यस वर्षका लागि छुट्याइएको बजेट तीन महिनामै सकिएको हो । द्रुत गतिमा काम अगाडि बढेकाले बजेट सकिएको उनको भनाइ छ । थप बजेट मागको प्रक्रिया पनि सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार ४५ करोड रुपैयाँले सडक विस्तार तथा ग्राभेलिङ गरिएको छ ।
सुवेदीले भने, ‘यो क्षेत्रमा जाडोमा काम गर्न कठिन हुन्छ, वर्षामा पनि पानी खासै नपर्ने हुँदा सहज तरिकाले काम गर्न सकियो, जसका कारण बजेट सकिएको हो ।’गत वर्ष उक्त सडकका लागि ६९ करोड रुपैयाँ विनियोजन भएको थियो, जसमध्ये ६८ करोड २५ लाख ५८ हजार खर्च भयो । सुवेदीका अनुसार जोमसोम–कोरला एक सय १० किलोमिटर सडक दुई लेनको बनाउन लागिएको हो । बेनी–जोमसोम ७६ किमिमा भने कालोपत्रेको काम सुरु हुन लागेको छ । रकम सकिएसँगै विभागले उक्त आयोजनालाई बजेट थप गर्ने गरेको छ । खर्च भएअनुसार सरकारले यस्ता आयोजनामा बजेट थप्दै जान्छ । बजेटको अभावमा यस्ता सडकको निर्माण भने रोकिन परेको छैन ।
सोही करिडोरको राम्दी–मालढुंगा खण्डमा सरकारले ४५ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त खण्ड पनि दुई लेनको बनाउन लागिएको छ । उक्त सडकमा पर्ने आठ वटा पुल निर्माणका लागि टेन्डरको काम अगाडि बढेको छ । अन्य स्थानमा भने पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको छ । गत वर्ष भने गैंडाकोट–राम्दी–मालढुंगा सडकका लागि २८ करोड ८२ लाख रुपैयाँ छुट्याइएको थियो । त्यसमध्ये २६ करोड ६९ लाख रुपैयाँ खर्च भएको थियो ।
Previous Articleकार्तिक ४ गते ११ः५१ बजे उत्तम भाइटीकाको साइत
Next Article बागलुङ–कुश्मीसेरा सडकमा सवारी चेकजाँच