बागलुङ,२९ असोज–जिल्लाको निसीखोला गाउँपालिकाको जुग्जाखोला स्थित रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयमा शुक्रबार एक दिने निःशुल्क जनरल स्वास्थ्य शिविर सम्पन्न भएको छ । बागलुङ सदरमुकामस्थित नेपाली सेनाको अर्जुनबाण गणको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा ४ सय जना नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ । समुदायका सबै नागरिकलाई समेट्ने गरि सञ्चालन गरिएको शिविरमा आँखा, स्त्री तथा प्रसुति, जनरल मेडिसिन, हाडजोर्नी तथा नसा लगायतका विशेषज्ञद्धारा बिरामीहरुको स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण गरिएको प्रमुख सेनानी अच्यूतम भण्डारीले बताए ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, माछापुच्छ्र्रे बैँक, नबिल बैँक र निसीखोला गाउँपालिकाको समन्वयमा भएकोे शिविरमा विशेषज्ञ चिकित्सकहरु डा.राहुल रायमाझी, डा.सुनिल कुमार जैसवाल र डा. प्रमोद शाह सहितका अन्य प्राविधिक टोलीद्धारा स्वास्थ्य परिक्षण गरिएको थियो । निसी क्षेत्र एक विकट क्षेत्र तथा सहज स्वास्थ्य सुविधाको पहुँचमा यस क्षेत्रका नागरिकमा नभएको भन्दै शिविर सञ्चालन गरिएको प्रमुख सेनानी भण्डारीले बताए । विशेष गरि बाढीपहिरो प्रभावित क्षेत्र भएका कारण पनि शिविर सञ्चालन गरिएको उनको भनाई थियो । शिविरमा निसीखोला गाँउपालिका र त्यस आसपासका पायक पर्ने क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।