बागलुङ,२७ असोज–जिल्ला मालपोत कार्यालय बागलुङका प्रमुख विश्वनाथ शर्मा सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले अधिकृत शर्मालाई १० हजार रुपैयाँ घुस लिँदै गर्दा आफ्नै कार्यकक्षबाट रकमसहित बिहिबार पक्राउ गरेको हो ।
अख्तियार पोखरा कार्यालयका सूचना अधिकृत रमेश ढकालका अनुसार, बिहिबार दिउँसोे जग्गा राजिष्ट्रेसन पास गरिदिने क्रममा उनले १० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको आयोगको पोखरा कार्यालयले जनाएको छ । मालपोत प्रमुख शर्माले आफ्नो जग्गा नामसरीको कामलाई लिएर मालपोत कार्यालय पुगेका बागलुङ नगरपालिका–२ का एक सेवाग्राहीसंग घुस मागेको बताईएको छ । सेवाग्राहीले सबै प्रक्रिया पुरा गरेर मंगलबार कामका लागि कार्यालय पुगेपनि मालपोत प्रमुख शर्माले कागजात नपुगेको भन्दै काम गर्न नसक्ने बताएको सेवाग्राहीको भनाई छ । मिलाएर काम गर्न भन्दै उनले घुस मागेपछि सेवाग्राहीले अख्तियार टोलीलाई खबर गरेका हुन् । मालपोत प्रमुख शर्मालाई बुझाएको १० हजार रुपैयाँको सबै नम्बर सेवाग्रहीले पहिले नै अख्तियारलाई बुझाईसकेको र सोही आधारमा शर्मामाथि भएको अनसुन्धानबाट नम्बर मिल्ने सबै पैसा शर्माबाट प्राप्त भएपछि उनलाई पक्राउ गरिएको अख्तियार पोखराले जनाएको छ । पक्राउ परेका शर्मालाई अख्तियारको टोलीले थप अनुसन्धानको लागि बिहिबार पोखरा लगेको छ ।
मालपोत प्रमुख शर्मा अख्तियारको फन्दा परेको विषयमा शुक्रबार बिहान १० बजे मात्रै यथार्थ बाहिर आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विश्वराज सिंह थापाले जानकारी दिए । शर्मालाई अख्तियारले पक्राउ गरेपछि निमित्तको जिम्मेवारी कार्यालयका नायव सुब्बा भीमसेन श्रेष्ठलाई दिईएको छ । मुद्दा फाँटमा काम गरिरहेका नासु श्रेष्ठलाई अख्तियारको टोलीले कार्यालय प्रमुखको कार्यकक्षमा बोलाएर रोहबरमा बस्न आग्रह गर्दै निमित्तको जिम्मेवारी समेत सम्हाल्न भनेको छ । कस्ले के काममा पैसा लियो भन्ने विषयमा आफु अनभिज्ञ भएको नासु श्रेष्ठले बताए ।
Previous Articleयसरी छाडे २ सय जनाले सुर्तिको लत ?
Next Article कार्यशाला गोष्ठि सम्पन्न