बागलुङ,२६ असोज–जिल्लाको बलेवामा पहिलोपटक तीन वर्षे कृषि तथा पशुविज्ञान सङ्कायमा कक्षा शुरु भएको छ । बागलुङ नगरपालिका–१४ बलेवामा स्थापना भएको धौलागिरि पोलिटेक्निकल इन्स्टिच्युटले तीनवर्षे कोर्षमा कृषि तथा बाली विज्ञानको पढाइ शुरु गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को झण्डै ६ करोडभन्दा बढीको लागतमा भवन तथा अन्य पूर्वाधार निर्माण भए पछि पहिलो सत्रका रुपमा कक्षा शुरु भएको हो । प्राविधिक शिक्षा लिनका लागि लाखौ रुपैयाँ खर्चेर पोखरा, काठमाण्डौ लगायतका सुविधा सम्पन्न ठाउँमा जान बाध्य यस क्षेत्रका विद्यार्थी तथा बेरोजगार युवायुवतीलाई मध्यनजर गर्दै तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माको पहलमा उक्त इन्स्टिच्युट स्थापना भएको थियोे ।
इन्स्टिच्युटमा यसवर्ष भेटेरिनरी सम्बन्धी कक्षा सञ्चालन गरिने र आगामी वर्षदेखि कृषिजन्य उत्पादन तथा प्राविधिक तर्फका अन्य कक्षा सञ्चालन गरिने धौलागिरि पोलिटेक्निकल इन्स्टिच्युटका प्रमुख बज्रमोहन पौडेलले जानकारी दिए । बिद्यार्थीहरुका लागी आवेदन माग भइरहेको र छठ पर्व लगत्तै कक्षा सञ्चालन गरिने समेत उनले बताए । इन्स्टिच्युटमा एक विषयमा ४० जनासम्मले अध्ययन गर्न सकिने बताइएको छ । उक्त विषय निजी क्याम्पसमा अध्ययन गर्नका लागि ६ देखि दश लाख रुपैयाँसम्म खर्चिनुपर्ने भए पनि सरकारी लगानीमा सञ्चालित उक्त पोलिटेक्निकल इन्स्टिच्युटमा अध्ययन गर्दा एक लाख २५ हजारमा पढ्न सकिने पौडेलको भनाइ छ । कृषि तथा पशु विज्ञान अध्ययनका लागि सबैजसो भौतिक पूर्वाधार निर्माणको काम सकिएको इन्स्टिच्युचले जनाएको छ ।
Previous Articleअसोज २८ मै संसद् विघटन : शुक्रबारै अन्तिम बैठक
Next Article ५५ दिने प्रहरी सेवामा भर्ना खुल्यो