बागलुङ, २५ असोज –आसन्न संघ र प्रदेश सभाको निर्वाचन नजिकिंदै गर्दा जिल्ला तहबाट उमेदवारमा सिफारिस भएका र नभएका नेताहरु काठमाण्डौमा छन् । नेताहरुको लर्को काठमाण्डौ लागेकोले जिल्लाका पार्टी कार्यालयहरु सुनसान जस्ता देखिएका छन् । जिल्लामा पार्टी कार्यालयदेखि सामान्य कार्यक्रम सम्म पुगेर भाषण गर्ने नेताहरु पार्टीका गुटमा र त्यसबाट छानिएर सिंगो पार्टीको उमेदवार बनेर आउने दाउमा लागेका हुन् । कांग्रेसमा प्रत्यक्ष देखिने गरी संस्थापन पक्षको रुपमा देउवा समूह, बरिष्ठ नेता रामचन्द्र समूह, कृष्ण सिटौला समूह छन्भने पौडेलकै लाईनमा देखिएपनि छुट्टै शक्ति केन्द्र बनाउने कोइरालाहरुको समूहबाट छानिने योजनामा धेरै नेताहरु राजधानी धाएका हुन् ।
नेताहरुको निवास आसपासका होटलमा बिहान चिया पिउने, दिउसो सिंहदरवार र संसदीय दलका कार्यालयमा छापिने उनीहरुको दैनिकी जस्तै भएको छ । एमालेमा पनि अध्यक्ष केपी ओली समूह र बरिष्ठ नेता माधव नेपाल समूह बागलुङमा बढी क्रियाशिल छन् । अधिवेसन ताका खुलेरै लागेका नेताहरुले अहिले पनि शक्तिकेन्द्र धाएर टिकट आफ्नो पक्षमा पार्ने दाउ गरिरहेका छन् । अर्का नेता झलनाथ खनालको गुट भने अहिले बलियो छैन । उक्त गुट माधव नेपालको समूह नजिक छ । माओवादीमा अध्यक्ष प्रचण्ड बढी शक्तिशाली छन् । तर नारायणकाजी श्रेष्ठको एकता केन्द्रबाट गएकाहरुको छुट्टै गठबन्धन अझै बाँकी छ । नयाँ शक्ति समेत मिसिएर बन्ने बाम गठबन्धनपछि उमेदवारमा कसकसको भागबण्डामा जाने भन्ने रस्साकस्सीले पनि निर्वाचनको माहोल रोमान्चक बनेको छ । ‘टिकटको पहल गर्न काठमाण्डौ आएका छौं’ एमाले पूर्वअध्यक्ष श्रीप्रसाद शर्माले भने, ‘धेरै काम केन्द्रबाटै हुने भएपछि सबै काठमाण्डौमै छौं ।’ एमाले जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा लगायतका उच्च नेताहरु पनि काठमाण्डौमा छन् । कांग्रेस केन्द्रीय सदस्य रत्ना शेरचन, सांसद प्रकाश शर्मा पौडेल, पार्टी सभापति दिपेन्द्र थापा लगायत पनि अहिले काठमाण्डौमै बसेर टिकटको लविङ गरिरहेका छन् । बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनहरुका आफ्ना आफ्ना छलफल चलिरहेको समयमा कुन क्षेत्र कसको भागमा पर्ने यकिन भएपछि उमेदवारहरुको अन्तिम टुंगो लाग्ने छ ।
बाम गठबन्धनमा बागलुङ क्षेत्र नं १ माओवादी र २ एमालेलाई भाग लगाइएको कार्यकर्तामा चर्चा शुरु भएको छ । लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय जनमोर्चा मिलेमा पनि बागलुङको क्षेत्र नं. १ नै रोजेको छ । प्युठान र अर्घाखांची पनि जनमोर्चाको चाहनामा छ । माओवादीका केन्द्रीय नेताहरु दिननाथ शर्मा, देवेन्द्र पौडेल र लिलाबहादुर थापा पनि बागलुङ १ कै भएकोले उनीहरुको समेत यहाँ दावी रहने बताईएको छ । यसअघि कांग्रेसले जितेकोले कांग्रेसका दर्जन नेताले पनि यो क्षेत्रमा चुनाव लड्ने आकांक्षा राखेका छन् । गत स्थानीय निर्वाचनको मत परिणाममा जनमोर्चा नै निर्णायक देखिन्छ । केन्द्रीय राजनीतिमा पनि प्रदेश नम्बर ४ मा नारायणकाजी श्रेष्ठ, बाबुराम भट्टराई, देव गुरुङ, दिननाथ शर्मा, पृथ्वी सुब्ब गुरुङ, लगायतका नेतालाई क्षेत्र तय गर्न ठूलै कसरत भैरहेको देखिन्छ । अवको निर्वाचनमा राप्रपा, नयाूशक्ति लगायतका दलहरुको पनि पुरक प्रभाव पर्ने दलहरुले आकलन गरेका छन् ।
उनीहरुलाई राष्ट्रिय रुपमा समेट्दा जिल्लाको मत एकतृत गर्न सकिने दलहरुको बुझाई छ । जिल्ला भित्रको वास्तविकता जे जस्तो भएपनि केन्द्रबाट टिकट हात पार्नका लागि भने नेताहरु राजधानी पुगेर शिर्ष नेताहरुको वरिपरि घुम्ने क्रम भने दोहो¥याएका छन् । जिल्लाबाटै निर्विकल्प पर्ने संभावना न्युन छ । राजर्चाको केन्द्रीय नेतृत्वनै बागलुङको भएपनि उनीहरु ढुक्क छैनन् । केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी आएको खण्डमा अरु कार्यकर्ता वा जिल्ला अध्यक्ष समेत पछाडि हट्नुपर्ने चर्चा अहिले पार्टी वृत्तमा चल्न थालेको छ । निर्वाचन जित्ने निश्चित हुने र सोचे जस्तो गठबन्धन बनेको खण्डमा केसी चुनाव लड्ने कार्यकर्ता बताउँछन् ।
Previous Articleनिर्माण व्यवसायी संघको भत्र्सना ( बिज्ञप्तीसहीत )
Next Article २५ असोज २०७४, ढोरपाटन दैनिक