एक साताअघि एमाले, माओवादी र नयाँ शक्तिले बनाएको बामपन्थी गठबन्धन पछि कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन पनि बन्ने तयारीमा छ । निर्वाचनको मुखैमा आएर भएका यी दुई गठबन्धनले राजनीतिक सिद्धान्त, राष्ट्रिय हित र दिर्घकालिन योजना खासै बनाएको देखिंदैन । केवल निर्वाचनलाई आफ्नो पक्षमा पार्ने दाउ मात्र जस्तो देखिएको छ । घोषणा सभामा नेताहरुले गठबन्धनले राष्ट्रियता बलियो बन्ने, सैद्धान्तिक रुपमा स्पष्ट हुने, अन्तत पार्टीहरुको एकता भएर देशमा थोरै दलको संख्या पुग्ने समेत भनिएको छ । तर त्यो भोलीका दिनमा होला नहोला, आजको दिनमा भने बामपन्थी र लोकतान्त्रिक धारहरु एकजुट भएर निर्वाचन लड्ने अभियान चल्दैछ । मधेसका केही दलहरुको पनि एकताको अभ्यास शुरु भएको छ ।
राजधानीमा केही जनमत बनाएका विवेकशिल र साझा पार्टीको पनि एकतापछि फरक ढंगले निर्वाचनमा जाने संभावना देखिएको छ । यसरी राष्ट्रिय राजनीतिमा देखिएको ध्रुविकरण देशका लागि आवस्यक थियो वा थिएन, त्यो राजनीतिक बहसको बिषय हो । तर अहिले भने निर्वाचनमा होमिइ सकेको समय भएकोले उमेदवार छनौटनै पहिलो प्राथमिकता पाएको छ । यो गठबन्धनले शिर्ष नेतालाई चुनाव जित्नका लागि बाटो खुला गराईदिने, साना केही दललाई अनावस्यक हैसियद दिएर निर्वाचनमा जित्ने वातावरण बनाउने काम समेत हुने संकेत देखिएको छ । केही दलहरु भने केही स्थानमा आँफैमा पकड बनाएर बसेका छन् । उनीहरु कुनैपनि एकतामा सामेल भएका छैनन् । तत्कालिक अवस्था हेरेर स्थानीय जोडघटाउमा उनीहरु स्थापित हुने दौडमा देखिन्छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीहरु यसका उदाहरण हुन् ।
अहिले निर्वाचनका लागि उमेदवार छनौटको समय पारेर गठबन्धनमा घुमेका साना दलहरुले ठूलालाई बार्गेनिङको केन्द्र बनाएर अस्तित्व रक्षा गर्ने दाउ गरेका छन् । बाबुराम भट्टराईको दलले गोर्खामा स्थानीय तहको एक सिट पनि नजितेकै समयमा गठबन्धनबाट आफ्नो क्षेत्र सुरक्षित बनाउन खोज्नु, बिजय गच्छदारको दलले पहाडका केही जिल्लामा पनि संगठन बनाएको नाउँमा कांग्रेस सँग बार्गेनिङ गर्नु र त्यसकै आडमा एकताको अभियान ल्याउनु पनि गठबन्धनको चुनौती हो । अघिल्लो निर्वाचन लगत्तै यस्तो गठबन्धन भएर चारबर्षपछि मात्र निर्वाचनमा जान खोजेको भए मात्र त्यस्ता दलको स्थायित्व देखिनेमा निर्वाचनको कार्यक्रम तोकेपछि भएका गठबन्धनबाट कस्तो परिणाम आउला ? एमाले र कांग्रेस जस्ता दलले भोट हालि दिएर उनीहरुलाई जिताउने मात्र हुन पनि सक्ने देखिन्छ । केही गरी नजितेको खण्डमा त्यही दलमा बसेर राजनीति गर्ने की अन्य क्षेत्र रोज्ने भन्ने यकिन नभएको अवस्थाबाट निर्वाचनमुखी एकता भयोकी भन्ने आशंका गर्न सकिन्छ । हुन पनि यही मौका छोपेर कतिपय दलहरुले आफ्नो जिल्ला कार्यसमितिका सबै सदस्यलाई प्रतिनिधिसभा, राष्ट्रिय सभा, समानुपातिक, प्रदेश सभा समेतमा सिफारिस गरेर देखाएका छन् । गठबन्धनका नाउँमा उनीहरुकै पछि लागेर गए भने ठूला दलहरु पनि सानो साइजमा झरेर राजनीतिक स्थायीत्वको सट्टा झन अस्थिर राजनीतिमा प्रवेश गर्ने खतरा पनि उत्तिकै छ । तसर्थ स्थायित्वको लागि चाल्नुपर्ने अन्य धेरै प्रकृया बारेमा पनि गठबन्धनका नेतृत्वकर्ताहरुले सोच्ने की ?
Previous Articleवाम गठबन्धनले तरंगित राजनीति
Next Article २०७४ असोज २५ बुधबारको राशिफल