काभ्रेपलाञ्चोक,२४असोज –राष्ट्रपति विद्यादेवी भण्डारीले अझै मुलुकको ग्रामीण भेगमा महिलाहरूले गुणस्तरीय स्वास्थ्य सेवा नपाएर अकालमै ज्यान गुमाएकोमा चिन्ता व्यक्त गरेकी छन्। मंगलबार काभ्रेको धुलिखेल सामुदायिक अस्पताल र जर्मन नेपाल सोसाइटी अफ अब्सट्रेटिक्स एण्ड गाइनोलोजी ९जि–नेसोग० को संयुक्त आयोजनामा महिला प्रजनन्सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले परंपरागत र रुढीवादी गलत सोचका कारण स्वास्थ्य चेतनाको अभावमा वर्सेनि कयौँ महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको बताइन्।
अझै पनि दुर्गम र ग्रामीण भेगका महिलाहरूले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेका बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘त्यसैले महिला स्वास्थ्य सेवा, प्रजनन् स्वास्थ्यमा सुधार र विस्तार गर्न सरकार, समुदाय एवं सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु।’ राष्ट्रपति भण्डारीले विशेषगरी दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार हुन नसक्दा विकट भेगका महिलाहरू स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेको बताइन्। ‘महिलालाई अतिरिक्त कार्यबोझ, चुह्लाचम्का, घरायसी धन्दामा केन्द्रित गर्दा आर्थिक स्रोत साधनमा न्यून पहुँच भएका महिलाहरूमा स्वास्थ्य सेवासम्बन्धी ज्ञानको अभाव कायमै छ’, उनले भनिन्, ‘यो समस्या समाधानका लागि सम्बन्धित निकायले सेवा र पहुँच तत्काल पु¥याउन जोड दिनुपर्नेछ।’
राष्ट्रपति भण्डारीले प्रजनन्को समयमा स्वास्थ्यकर्मीहरूले मुस्कानसहितको सेवा दिन आग्रह गर्दै त्यसबाट नवजात शिशु स्वस्थ रहने बताइन्। कार्यक्रममा धुलिखेल अस्पतालका प्रशासकीय प्रमुख राजेन्द्र कोजुले तीन दिनसम्म चल्ने सम्मेलनमा दश देशका विशेषज्ञहरूको सहभागिता रहेको जानकारी दिए। सम्मेलनमा नेपालसहित भारत, अमेरिका, स्वीट्जरल्याण्ड, क्यानडा, नर्वे, जर्मनी, डेनमार्क, श्रीलंका र अष्ट्रेलियाका ३७ जना विशेषज्ञहरूले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन्। सम्मेलनमा स्त्री रोगसम्बन्धी पिसाव चुहिने, पाठेघरको समस्या, आङ खस्ने समस्या, फिजियोथेरापी र गर्भ अवस्थामा महिलामा देखिने समस्या र तिनको समाधानका विषयमा छलफल हुने अस्पतालका स्त्री रोग विशेषज्ञ डा। आभा श्रेष्ठले जानकारी दिइन्। डा। श्रेष्ठका अनुसार विशेषगरी ग्रामीण भेगका महिलाहरूमा देखिने विभिन्न स्त्री रोग, गर्भवती महिलाको समस्या, रक्तश्राव, आङ झर्नेलगायत फिजियोथेरापी, बेबी मसाज, अप्रेसन र उपचार पद्धतिका बारेमा अनुभवी चिकित्सकहरूबीच छलफल हुनेछ। सम्मेलन असोज २४, २५ र २६ गतेसम्म अस्पतालमा सञ्चालन हुनेछ।
विभिन्न देशमा भएको उपचार पद्धति, अनुभव, प्रविधिको प्रयोगलगायतका विषयमा विशेषज्ञद्वारा आ–आफ्नो अनुभवसहितका कार्यपत्र प्रस्तुत हुनेछन्। अनुभवी फिजियोथेरापिष्ट, गाइनोलोजिष्ट, मेडिकल सर्जनलगायत सहभागी यो पहिलो सम्मेलन भएको अस्पतालको दाबी छ।