काभ्रेपलाञ्चोक,२४असोज – प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्बन्धीको सम्पूर्ण काम अन्तिम चरणमा पुगेकाले सरकारलाई अप्रिय निर्णय नगर्न आग्रह गरेका छन्। मंगलबार काभ्रेको धुलिखेलमा ७७ वटा नै जिल्लाका मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिकृतहरुका लागि आयोजित निर्वाचन सञ्चालन तथा व्यवस्थान प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त यादवले आफूहरु निर्वाचनको तयारीमा तिब्रताका साथ लागेकाले अप्रिय निर्णय नगर्न आग्रह गरेका हुन्। ‘यस्तो अवस्थामा नेपाल सरकारले अप्रिय निर्णय नगर्नुहोला, हामी आग्रह गर्न चाहन्छौं, जनताको आग्रह छ, नेपाली जनताको बीचमा काम गरिरहेको अवस्थामा यस्तो अप्रिय निर्णय नगरिदिनुहोला’ डा। यादवले भने ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले चुनाव सार्न लागेको र माओवादी मन्त्रीहरु हटाउन लागेको भन्ने समाचारहरु सार्वजनिक भएका बेला प्रमुख आयुक्त यादवले सरकारलाई त्यस्तो आग्रह गरेका हुन्। कल्याणकारी राज्य निर्माण गर्ने नेपाल सरकारको दायित्व भएको र यो निर्वाचन पनि त्यही विषयसँग सम्बन्धित रहेकाले त्यस्तो निर्णय नगर्न उनले आग्रह गरे।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्थानीय निकायको निर्वाचन भन्दा फरक रहेकाले उम्मेदवारहरुले शक्ति, पैसा र जनबल प्रयोग गरेर निर्वाचनलाई प्रभावित पार्न सक्ने प्रमुख आयुक्त यादवले बताए। निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचन तोकिएकै मिति र समयमा सम्पन्न हुने भएकाले अरु कसैले फिजाएको भ्रममा नपर्न मुख्य निर्वाचन र निर्वाचन अधिृकृतहरुलाई आग्रह गरे। उनले निर्वाचनमा नियम उलंघन गर्ने राजनीतिक दल र त्यसका कार्यकर्ता भएकाले त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह गरे। मंगलबारदेखि सुरु भएको दुई दिने प्रशिक्षण कार्यक्रममा ७७ जना मुख्य निर्वाचन अधिृकत र नेपाल सरकारका न्याय सेवाका उप–सचिवस्तरका निर्वाचन अधिृकत गरी १७४ जनाको सहभागिता रहेको निर्वाचन आयोगले जनाएको छ।
Previous Articleअर्थशास्त्रर्फको नोबेल पुरस्कार थालरलाई
Next Article सेवा नपाएरै ज्यान गुमाउछन महिला : राष्ट्रपति भण्डारी