डा. पुण्यसागर मरहट्टा
विक्रम सम्वत् २०३९ साल कार्तिक २२ गते हुनुपर्छ म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको रङ्गमञ्चमा मुसा बनेको । त्यतिखेर कार्तिक २२ तत्कालीन बडामहारानी ऐश्वर्यको शुभजन्मोत्सवको उपलक्ष्यमा अञ्चलस्तरीय सांस्कृतिक प्रतियोगिता हुने गथ्र्याे । सिद्धार्थ वनस्थली विद्यालयको प्रतिनिधित्व गर्दै मलगायत केही दाजुदिदीहरू एउटा नाटक (सायद पिंजडाको सुगा ?) मा खेलेका थियौँ । नाटकको अरू सबै प्रसंग बिर्सी सकेँ । नाटककार स्व. विजयबहादुर मल्लको लेखन र हरिहर शर्माको निर्देशनमा बनेको उक्त नाटकमा मलाई किन मुसाको भूमिका दिइयो भन्ने त थाहा भएन, तर म कुनै पौराणिक कथाको पात्र मुसा बनेको थिएँ म । यति चाहिँ थाहा छ । महाभारतमा एउटा प्रसंग छ पाटिल नामक मुसो, लोमश नामक बिरालो, हरित नामक न्याउरी मुसो र चन्द्रक नामक उल्लु (लाटोकोसेरो) को । छोटकरीमा, एक जना सिकारीको जालमा परेका लोमश र पाटिलमध्ये पाटिल सबैभन्दा बढी डराउँछ । किनभने आकाशबाट चन्द्रक र जमिनबाट जालमै पर्दा समेत हरितको आतंकबाट ऊ मुक्त छैन । लोमश पनि जालमा जेलिएको त छ तर जालबाट फुत्किनासाथ ऊसमेत पाटिललाई खान तम्सनेछ । यस्तो जटिल परिस्थिति आँकलन गरेर पाटिल लोमशलाई आफ्नो क्षमतानुरूपको प्रस्ताव गर्छ– लोमश ! सिकारीको जालमा परेका हामी बाँच्ने उपाय तिमीसँग त छैन तर मसँग छ ।
म यो जाल काट्न सक्छु तर म त्यसो किन गरूँ ? मेरो प्राण त्यसै पनि जालमै परेको अवस्थामा समेत सिकारी, चन्द्रक र हरितबाट जोखिममा छ । तिमी र म यो जालबाट निस्कना साथ ती ज्यानमाराहरूको लाममा तिमी पनि थपिने छौ । त्यसैले, सिकारीको जालबाट मुक्त हुने हो भने मेरो एउटा सर्त मान्नुपर्छ । जालमा जकडिएको लोमश भन्छ– पाटिल, भन सर्त के हो ? म यो जालबाट मुक्त हुन चाहन्छु । लोमस राख्दै भन्छ– तिमी अहिले तत्काल मलाई आफ्नो आलिङ्गनमा बाँध जसले गर्दा मलाई हरित र चन्द्रकले आक्रमण गर्न नसकुन् । जब ती दुवैले तिम्रो सामथ्र्य र तिमीले मलाई दिएको संरक्षण देख्नेछन्, ती हच्कनेछन् र अन्तै जानेछन् । सर्तअनुरूप आफ्नो प्राण रक्षार्थ लोमशले पाटिललाई अंकमाल गरेर संरक्षण दिन्छ । पाटिल जाल काट्न थाल्छ । हरित र चन्द्रक आफ्नो बाटो लाग्छन् । कथा यहीँ सकिंदैन । अत्यन्तै सुस्त गतिमा जाल काटिरहेको पाटिललाई लोमश भन्छ– पाटिल यो चालाले त रात बित्छ, हामी सिकारीको सिकार हुनेछौँ । पाटिल भन्छ– लोमश, म मुसो हुँ बिरालोको प्राकृतिक सिकार । म आफ्नो सर्तमा बद्ध त छु नै त्यति मूर्ख पनि छैन कि जाल काट्नासाथ तिम्रो आहारा बनुँ । लोमश, कुनै पनि कर्म उपयुक्त समयमा सुरु र सम्पन्न गरिनुपर्छ । त्यसैले पर्ख र बित्दो समयको आनन्द लिऊ । म तिमीलाई धोका दिन्न, आश्वस्त होऊ । यति भनिसकेर पाटिल तल्लीन भएर जाल काट्न लाग्छ । बिहान जब सिकारी जाल हेर्न आउँछ ठीक त्यहीबेला जाल काट्ने कर्म सम्पन्न हुन्छ र सिकारीका डरले लोमश रुख चढ्छ र पाटिल रुखको पिंधमा भएको दुलोभित्र पस्छ । सिकारी जाल काटिएको र सिकार नपरेको देखेर फर्किन्छ ।
कथा यहाँ पनि सकिँदैन । रुखको हाँगामा बसेको लोमश दुलोतिर हेर्दै भन्छ– पाटिल ! अब त सिकारी पनि गयो, जाल काट्नासाथ हाम्रो परिस्थिति यस्तो बन्यो कि मैले तिमीलाई मित्रताको लागि र मेरो ज्यान बचाएको कर्मका लागि कृतज्ञता पनि दिन भ्याइन । आऊ, हामी कृतज्ञता साटासाट गरौँ र मित्रताको उत्सव मनाऔँ । पाटिल दुलो भित्रैबाट भन्छ– यस संसारमा मित्र र शत्रु अस्तित्वमा नै छैनन् । परिस्थितिले मित्र र शत्रुको निर्माण गर्छ । तिनको निर्माण स्वार्थ र प्राप्यतामा निर्भर रहन्छ । मित्रता शत्रुतामा परिवर्तित हुन्छ । त्यसैले परिस्थितिलाई जान्न, बुझ्न र सोहीअनुरुप चल्न सिक । अझ थप्दै पाटिल भन्छ– यस जगतमा प्रत्येक प्राणी कुनै स्वार्थ वा लालसाले प्रेरित छ । विनाकारण कोही कसैको प्रियसम्म हुँदैन । अहिलेको परिस्थितिमा म तिम्रो प्रिय हुँला, तर तिमीलाई भोक जाग्नासाथ नहुन सक्छु । तसर्थ, तिम्रो कृतज्ञता ग्रहण गर्ने प्रस्ताव म मेरो स्वार्थवश लत्याउँदैछु । लोमश लाजले पानी पानी हुँदै पुनः मित्रताको खातिर बाहिर आऊ भन्छ । पाटिल भन्छ– जो भरोसायोग्य छैन, उसलाई भरोसा गर्नुहुन्न । न त कसैलाई निरपेक्ष भरोसा नै गर्नुहुन्छ । संक्षेपमा, भरोसा नगर्नु वा भरोसामा सन्देह गर्नु आफ्नो लागि पÞmाइदाजनक हुन्छ । शत्रु जतिसुकै कमजोर भएको किन नहोस्, उसले मौका पाउनासाथ् वा परिस्थिति बदलिनासाथ तिमीलाई अक्करमा पार्छ नै ।
त्यसैले हे लोमश ! म तिमीसँग सदैव सतर्क रहनै पर्छ, तिमी सिकारीसँग । मित्रता क्षणभंगुर हो, तिमी शाश्वत हौ । यो कथा मैले ११ वर्षको उमेरमा बुझ्ने कुरा थिएन नै, न त ऊ बेलाको जटिल कालखण्डका कुनै स्मृति चिन्ह बाँकी रहे । रंगीन रिल धुलाउनसमेत बैङ्कक पठाउनु पर्ने जमानाका जे–जे बाँकी छन्, सम्झनाका पत्रमा छन् । सामाजिक सञ्जालमा मुसा प्रवृत्तिबारे चर्कै चर्चा चलेपछि यो कथा मेरो स्मृतिमा ताजा हुनपुगेको मात्रै हो । सामाजिक सञ्जालमा जसरी मुसा प्रवृत्तिको धज्जी उडाइन्छ, सम्भवतः माथि उल्ल्लेखित कथासँग तादात्म्य राख्दैन । निश्चय नै जहाज डुब्न लाग्दा वा दन्दनी बलेका बखत पानीमा हाम्फाल्ने मुसाका कथा होलान् ती । तर, बुझ्नुपर्ने कुरो के हो भने यो संसारमा स्वभन्दा प्रिय न केही थियो, न छ, न हुनेछ । मरेपछि डुमै (जातीयताको बात नलागोस् ) राजा भन्ने त उखानै छ । म र मेरो स्वार्थ सर्वोपरी हो, मुसा प्रवृत्तिलाई पाटिलका दिव्यज्ञानको आलोकमा हेरियोस्, स्वाद आउँछ । यस्तै २०३४–३५ साल तिर विश्वनिकेतनमा पढ्थेँ म । तिनताक भाले जुधाई हाम्रो खुब प्रचलित खेल थियो । एउटा खुट्टा उचालेर हातले समातेर अर्को खुट्टाले टेकेका दुई प्रतिस्पर्धी कुम कुम जुधाउँथे, जसले प्रतिस्पर्धीलाई जोडले कुमले घुच्च्याएर तोकिएको सीमारेखा कटाउन सक्थ्यो उसैले जित्थ्यो । कुनै एकदिन मैले साथीलाई सीमा कटाएको देखेर दसैंताका कक्षा कोठामा मञ्चन गरिने रामायणमा गुरुगुरुमाले हनुमानको भूमिका दिएको पनि धमिलो सम्झना छ । आजकाल सामाजिक सञ्जालमा हनुमानको उछित्तो काढेको देखेर पुनस् त्यस कालखण्डमा फर्कें म । हनुमान अष्टचिरञ्जीवी मध्येका एक हुन् । ती बलशाली छन्, ती संकटमोचकका रूपमा पुजिन्छन् । कुपन्डोलमा जन्मे हुर्केका मजस्ताका त ती ‘डिफ्याक्टो’ इष्टदेवता नै हुन् । हरेक कठिन परीक्षा उनको दर्शनबिना फत्ते गरेको मलाई सम्झना छैन ।
‘पशुपतिप्रसाद’ ले हाम्रो आधुनिक समाजमा हनुमानजीको परिभाषा बदलिदियो, ठीक बेठीक के भयो त्यो यस लेखको विषय होइन । तर, हनुमानविना रावणको अभेद्य दुर्ग हल्लिन सक्दैनथ्यो । हनुमान सहनायक रहेर आफ्नो भक्तिभाव प्रदर्शन गरी राजालाई वशीभूत पारेका नभई बल प्रयोग गरेर तत्कालीन समाजलाई त्राण दिए । तिनले चाकरी गरेनन्, कर्मलाई दायित्वलाई प्रेम गरे । त के अनर्थ गरे ? रामायण मिहिन ढंगले पढ्ने कसैले पनि पवनपुत्रलाई चाकरीबाज बुझ्दैन । सत्यको लागि आफ्नो प्राण हत्केलामा राख्ने अदम्य बलशाली हनुमानजी फेसबुक वा ट्विटरतिर घुसे भने हाम्रा सामाजिक सञ्जालेहरू देखेर फिस्स हाँसिदिँदा हुन् । समग्रमा, हामीले सामाजिक संजालमा अहिले प्रयोग गर्ने गरेका मुसा र हनुमान दुई प्रतीकको अपमान भएको छ । मलाइ त लाग्छ, हाम्रो समाजमा पाटिल मुसो र पवनसुत हनुमानजीको पो दह्रो आवश्यकता छ । छद्मभेषी मुसा र हनुमानरूपी ढेडुहरुको आतंकले आक्रान्त हाम्रो समाज परिस्थिति बुझ्न सक्ने बन्न सकोस् । अहिलेको एकता, गठबन्धन, ठगबन्धन, तालमेल, जालझेल परिस्थितिको उपजमात्र हो । दिमाग हुनेले आफ्नो सुरक्षा गर्न सकून्, कसैलाई शत्रु वा मित्र नठानून्, जगतको भलाइ त्यसैमा छ ।
नाटककार विजयबहादुर मल्ल वा निर्देशक हरिहर शर्माले जे देखेर मुसा बनाए पनि आफ्नो कुनै भूमिकाबिनै पनि परिस्थितिको जालमा परेर व्याकुल मुसा बनेका मजस्ता सयौं पेसाजीवी सिमाना, नागरिकताजस्ता भौतिक जाल काटेर दुलो भित्र पसेकै हौँ । निश्चय नै अहिले हामी जहाँ छौँ, त्यो उही कथाको रुखको पिँधको दुलो नै नहोला, तर बिरालाको आतंकबाट जोगियुञ्जेल आफ्नो निमेक गरेर उब्रेको समय आफू जन्मेको देश, समाजलाई आफूले भोगेका, देखेका कुरा बताउन छोड्दैनौ । यो चाहिँ वाचा नै भयो । –बाह्रखरीबाट