माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल हुँदै पार्टी एकता हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवामाथि माओवादी केन्द्रका मन्त्रीहरुलाई राजिनामा गराउनु पर्ने वा बर्खास्त गर्ने दवाव पार्टीभित्रैबाट परेको छ। विपक्षमा रहेको राप्रपाले सोमबार अकस्मात सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि सोमबार राजनीतिक बृत्तमा के हल्ला चल्यो भने देउवाले माओवादी केन्द्रका मन्त्रीलाई राजिनामा गरिदिन भनिसकेका छन्।
यदि माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरिए माओवादी केन्द्र र एमाले मिलेर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने अनुमानपनि गरिए। के देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई राजिनामा गराउन भनेकै हुन्? यदि साँच्चिकै माओवादी केन्द्रका मन्त्रीहरु हटाइए भने माओवादी केन्द्रको प्रतिक्रिया के होला ? यी प्रश्नमा माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको जवाफ यस्तो छः
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रलाई सरकारबाट हट्नु भनिसकेका हुन् ?
माओवादी केन्द्रलाई सरकारबाट हटाउनु पर्यो भन्ने दवाव नेपाली कांग्रेसभित्रबाट सुरु भएको भन्ने कुरा सार्वजनिक भएपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग यस विषयमा चासो राख्नु भएको रहेछ। अध्यक्षले हामीलाई बताउनु भए अनुसार प्रधानमन्त्री देउवा त्यो विन्दूमा पुगिसक्नु भएको छैन। सम्भवतः देउवाले त्यस्तो कदम चाल्नुहुने पनि छैन।
राप्रपाले सरकारलाई साथ दिने निर्णय गरेपछि माओवादी केन्द्रका मन्त्री हटाउन प्रधानमन्त्री देउवालाई गाह्रो छैन, हटाइहाले भने के हुन्छ ?
हाम्रो प्राथमिकता प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हो। चुनाव गर्ने शर्तमा त्यसो गर्छन् भने हामीलाई त्यसले केही असर गर्दैन। तर चुनाव टार्नका लागि त्यसो गरे भने चाहिँ त्यसको राजनीतिक प्रतिवाद हुन्छ। त्यो स्थिति प्रधानमन्त्री देउवाका लागि महंगो पर्न सक्छ।
माओवादी केन्द्र एमालेसँग मिलेपछि आशंकाको स्थिति बनेको होइन र ?
राजनीतिमा यस्ता गठबन्धन भइरहन्छन्। हिजोपनि हामी सँगै सरकारमा थियौं। तर रोल्पा, रुकुम, कालिकोट, सल्यान लगायतका जिल्लामा कांग्रेस र एमाले मिलेर हामीविरुद्ध स्थानीय तहको चुनाव लडे। हामीले त्यसलाई स्वभाविक रुपमा लियौँ। अहिलेको वामपन्थी गठबन्धनलाई पनि कांग्रेसले त्यसैगरी स्वभाविक रुपमा लिनुपर्छ।
एमालेसँग मिल्ने भएपछि कांग्रेस नेतृत्वको सरकारमा बसिरहन नैतिक रुपमा मिल्छ र ?
चुनाव गराउनकै लागि भनेर यो सरकार बनेको हो। त्यसैले यो चुनावी सरकार हो। चुनावी सरकार त अझ बृहद हुनुपर्छ, अहिले त हामीमात्र छौँ। जहाँसम्म प्रतिपक्षी एमालेसँग मिलेको भन्ने कुरा हो, सरकारमा हुनु र तालमेल हुनु फरक फरक कुरा हुन्।
हिजो राप्रपा एक हुँदा समेत एउटा पक्ष सरकारमा थियो, अर्को सरकार बाहिर। अहिलेको स्थिति पनि त्यही हो। हामी सरकारमा छौँ, एमाले बाहिर छ। अझ हामी त तालमेलको क्रममा मात्रै छौँ। हामी अलग पार्टीका रुपमा छौँ अहिलेसम्म।
Previous Articleजिल्ला अदालतका नासु खत्री घुससहित पक्राउ !
Next Article पत्रकार महासङ्घको नयाँ नेतृत्व र दायित्व