पोखरा,२३ असोज–नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को राष्ट्रिय सम्मेलनमा क्रान्तिकारी माओवादीहरुबीचको एकतामा जोड दिइएको छ । पोखरामा आइतबारदेखी सुरु भएको वैद्य माओवादीको सम्मेलनमा बोल्ने वक्ताहरुले वाम गठबन्धनको नाममा दक्षिणपन्थी र लोकतान्त्रिक गठबन्धनको नाममा प्रतिक्रियावादी गठबन्धन भएकाले उनीहरुलाई चुनौति दिन क्रान्तिकारी माओवादीहरुको गठबन्धन गर्नुपर्नेमा जोड दिएका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले वाम गबन्धन र लोकतान्त्रिक गठबन्धन दुबै दक्षिणपन्थी र प्रतिक्रियावादी गठबन्धन भएको बताउँदै त्यसलाई परास्त पार्न क्रान्तिकारी माओवादीको एकता अपरिहार्य भएको बताए । एकतामा ढिलाई गर्न नहुने बताउँदै उनले चाँडो भन्दा चाँडो एकता गरिहाल्नुपर्नेमा जोड दिए । वैद्यले आफ्नो पार्टीको सम्मेलनले क्रान्तिकारीहरुबीच एकता गर्नुपर्ने विषयमा छलफल गरेर आधार तय गर्ने जानकारी दिए । सम्मेलनमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले विश्वलाई एउटै नजरले हेर्ने क्रान्तिकारीहरुबीच एकता गर्नु अहिलेको आवश्यक्ता भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले कार्यक्रम सञ्चालक गर्ने क्रममा नेपालमा तेश्रो ध्रुविकरण आवश्यक रहेको बताउँदै त्यसको आधार तय गर्न आफ्नो पार्टीको सम्मेलन भइरहेको बताए । ५ दिनसम्म पोखरामा चल्ने नेकपाका (क्रान्तिकारी माओवादी)को सम्मेलनले पोखरा घोषणा पत्र जारी गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।
Previous Articleकोरला नाका : चीनको विशाल, नेपालको एक कोठे भवन
Next Article सिवाईसीको समृद्वि दिवश