काठमाडौं,२२ असोज– हिमाल आरोहणका दुई सिजन छन्, वसन्त र शरद ऋतु । वसन्त ऋतुलाई सगरमाथा आरोहणको सिजनका रुपमा बढी चिनिन्छ । असोज र कात्तिक अर्थात् शरद ऋतुमा साना हिमालतिर मोडिन्छन्, आरोही ।
पर्यटन विभागका अनुसार यस पटक हालसम्म ९२ वटा दलले साना हिमाल आरोहणको अनुमति लिइसकेका छन्, जसमा सातसय आठ जना आरोही छन् । गत वर्षभन्दा यसपटक आरोही बढ्ने आकलन विभागको छ । महानिर्देशक दिनेश भट्टराईका अनुसार अनुमति लिने क्रम कात्तिकभरि नै चलिरहने भएकाले कति दलले साना हिमाल आरोहण गर्छन् भन्ने यकिन गर्न सकिँदैन । यो सिजनमा मनास्लु हिमाल आरोहीको विशेष आकर्षणमा रहन्छ । हालसम्म २१ वटा टोलीले उक्त हिमशिखर चढ्ने अनुमति लिएका छन् । अनुमति लिएकामध्ये अधिकांश टोलीले मनास्लुको शिखर चुमिसकेका छन् ।
गत वर्ष यही सिजनमा साना हिमाल चढ्ने एक सय ६३ वटा आरोही दल थिए । कुल आरोही एक हजार एक सय २५ जना थिए । ‘अनुमति लिन आउनेहरुको भीड हेर्दा गत वर्षभन्दा कम होलान् भन्ने लाग्दैन,’ भट्टराई भन्छन् । ६ हजार पाँच सयदेखि आठ हजार मिटरसम्म उचाइका हिमाच्छादित पहाडहरुलाई साना हिमाल भन्ने गरिएको छ । त्यसभन्दा बढी उचाइलाई ठूला हिमाल भन्ने गरिएको छ । गरमाथा, मनास्लु, कञ्चनजंघा, ल्होत्से, मकालु, चो–ओयु, धौलागिरी र अन्नपूर्ण गरी आठ वटा ठूला हिमाल छन्, नेपालमा । तीभन्दा कम उचाइका साना हिमाल २० वटा छन् । साना हिमालको आरोहण ठूलाको शिखर चुम्न अभ्यासका रुपमा लिन्छन्, आरोहीहरुले । नेपाली आरोही पनि विदेशभन्दा स्वदेशी हिमालमै त्यस्तो अभ्यास गर्न थालेका छन् ।
त्यसैले शरद ऋतुमा आठ हजार मिटरभन्दा तलको उचाइका हिमालमा स्वदेशी÷विदेशी आरोहीको भीड लाग्ने गर्छ । केही आरोहीले गत वसन्त ऋतुमा पनि साना हिमालको शिखरमा पाइला राखेका थिए । शरद ऋतुमा ठूला हिमाल आरोहण गर्न चाहने एक जना पनि आरोही आएका छैनन्, पर्यटन विभागमा ।