पर्वत,२२ असोज–फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलोकोे घिरौँला फलेको छ । साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलोसम्मको हुने गर्छ । पौडेलले भने, ‘२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिलेसम्म फलेको थिएन ।’ घिरौँला तीन हात लामो छ । जेठमा रोपिएको घिरौँला अरु पनि यस्तै ठूला ठूला आकारमा फलेकाछन् । उनले सो घिरौँला बीउको प्रयोजनका लागि बचाइराखेको बताए ।
अस्वाभाविक ठूलो घिरौँला फलेपछि उहाँको बारीमा हेर्न आउनेहरुको भीड लाग्न थालेको छ । मलिलो जग्गाका कारण घिरौँला हौसिएर बढेको कृषि प्राविधिकले बताएका छन् । कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भने, ‘मलिलो जग्गा, नियमित गोडमेल र सिँचाइको प्रबन्धका कारण उत्पादन राम्रो भएको हुन सक्छ ।’