म्याग्दी,२२ असोज–नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षमा वार्षिक रु. एक करोडभन्दा बढी राजश्व उठ्ने गरेको छ । शिकार, काठपूर्जी, पर्यटक शुल्क, दण्ड जरिवानालगायतबाट राजश्व संकलन हुने आरक्ष कार्यालयले जनाएको छ । वर्षेनी दुई याममा हुने शिकारबापत विदेशी शिकारीले तिर्ने शुल्कबाट सबैभन्दा बढी राजश्व उठ्ने गरेको छ । वर्षेनी सातदेखि १० लाखसम्म काठपूर्जीबाट राजश्व प्राप्त हुने कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
हरेक वर्ष असोज–मंसिरमा चल्ने पहिलो र फागुन–वैशाखमा चल्ने दोस्रो शिकार याममा गरी ३० देखि ४० को संख्यामा नाउर र झारलको शिकार हुने गरेको छ । नेपाली शिकार कम्पनीमार्फत अमेरिका, फ्रान्स, नर्वे, रसियालगायतका मुलुकबाट तालिमप्राप्त शिकारी आरक्षमा आउने गरेका छन् । विदेशीहरू लाखौँ रूपैयाँ खर्चेर शिकारमा रमाउन ढोरपाटन आउने गर्छन् ।
अघिल्लो शिकार याम फागुन–वैशाखमा हालसम्मकै उच्च एउटा झारल शिकारको रू. १३ लाख पाँच हजार तिरेका थिए । यस्तै नाउर शिकारबापत रु. आठ लाख ७५ हजार तिरेका थिए । साढे दुई वर्षअघि पनि झारल शिकारको दर बढेर रू. नौ लाख ३१ हजारसम्म पुगेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले तोक्ने कोटा र मागबीचको अन्तरले पनि दर घटबढ हुने गरेको छ । शिकारको दरमा आउने परिवर्तनले राजश्व संकलनमा पनि घटबढ ल्याउने गरेको छ । गत आर्थिक वर्षमा शिकारबाट मात्रै रू. एक करोड ४७ लाख राजश्व संकलन भएको थियो ।
शिकारको दर उच्च हुँदा उक्त आवमा राजश्व संकलन बढेको अधिकृत बरालले बताए । यस्तै आरक्ष क्षेत्रभित्रको जंगलबाट काठ झिक्न चाहने स्थानीय उपभोक्ताबाट समेत काठपूर्जीबाट वर्षमा लाखौँ रूपैयाँ राजश्व उठ्ने गरेको छ । कार्यालयले विशेषगरी सल्लो प्रजातिका काठ प्रयोगका लागि अनुमति दिने गरेको छ । हिमाली राष्ट्रिय निकुञ्ज नियमावली अनुसार आरक्ष क्षेत्रभित्र बसोबास गर्ने स्थानीयवासीका लागि काठ प्रयोग गर्न पाइने सुविधा छ ।
‘एक घनफिट काठ निकालेबापत रु. १०० राजश्व आरक्षलाई तिर्नुपर्छ, त्यसबाहेक १३ प्रतिशत भ्याट थपिने गरेको छ’, आरक्षका अधिकृत बरालले भने । आरक्षमा शिकारका लागि आउने र अन्य विदेशी पर्यटकले पनि प्रवेश शुल्क तिर्ने गरेका छन् । सार्क राष्ट्रबाहेकका मुलुकका पर्यटकले रू. तीन हजार, सार्कभित्रका पर्यटकले रु. एक हजार ५००, विदेशीले ‘क्यापिङ शुल्क’ बापत रु. एक हजार, सार्क राष्ट्रका पर्यटकले ५०० र नेपालीले रु ३०० आरक्षलाई बुझाउने गरेका छन् । आरक्षभित्र हेलिकोप्टर अवतरण गरेबापत रु. पाँच हजार र भरिया प्रवेशको रु. २५ राजश्व तिर्नुपर्ने व्यवस्था छ ।
आरक्ष क्षेत्रभित्र हुने अवैध क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहबाट असुलेको जरिवानाबापतको रकम पनि राजश्वमा जाने गरेको छ । अव्यवस्थित चरिचरन, चोरीनिकासीजस्ता घटनामा संलग्नलाई जरिवाना गर्ने गरिएको छ । सो क्षेत्रमा हुने संवेदनशील प्रकृतिका घटनालाई भने कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने गरिएको ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ ।
ढोरपाटन शिकार आरक्षमा वार्षिक करोड बढी राजश्व
Previous Articleसमानुपातिक निर्देशिका पारित, ५० प्रतिशत महिला सुनिश्चित
Next Article राजनीतिक अबरोध नै अर्थतन्त्रको बाधक : क्षेत्री