अंकतालिकाको शीर्ष चार टोलीले आगामी वर्ष बंगलादेशमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने मौका प्राप्त गर्नुका साथसाथै चारवर्षका लागि एकदिवसीय मान्यता पनि प्राप्त गर्नेछन्।
विश्वकप छनोट खेल्न र एकदिवसीय मान्यता प्राप्त गर्न नेपालले अब बाँकी चार खेल जित्नैपर्ने हुन्छ। लगातार चार खेल जिते १६ अंकका साथ नेपाल स्वतः छनोटमा पुग्नुका साथै एकदिवसीय मान्यता प्राप्त गर्नेछ।हाल शीर्षस्थानको नेदरल्याण्ड्स छनोट खेल्ने पक्का भइसकेको र पपुवा न्युगिनी र स्कटल्याण्ड पनि शीर्ष चारमा पर्ने निश्चितप्रायः देखिन्छ। अन्तिम तथा चौथो स्थानमा रहन हङकङसँग एक खेलमा जित र एक खेलमा पराजित भएमा नेपालले अन्य टोलीको नजितामा भर पर्नु पर्नेछ। नेपालले हङकङ र युएईविरुद्ध उनीहरुकै २–२ खेल खेल्न बाकीं छ। यदि नेपालले दुवै खेलमा हङकङलाई पराजित गर्न सकेमा र हङकङ पपुवा न्युगिनीसँग एक खेलमा मात्रै पराजित भएमा नेपालको शीर्ष चारमा पर्ने सम्भावना प्रबल रहन्छ।
हङकङको हालसम्म १० खेलबाट ११ अंक छ भने उसले नेपाल र पपुवा न्युगिनीसँग खेल्न बाँकी छ। हाल दोस्रो स्थानमा रहेको पपुवा न्युगिनी प्रतियोगिताको बलियो टोली मानिएकाले हङकङ उससँगको टक्कर अघि नेपाललाई पन्छाउने दाउमा हुनेछ।
अवे मैदानमा खेल्नुपर्ने भएकाले नेपालका लागि चुनौती रहेको कप्तान पारस खड्का बताउँछन्। ‘डिभिजन वानका हरेक टोली उतिकै सक्षम हुन्छन्,’ उनले भने, ‘हामीले राम्रो क्रिकेट खेल्नुपर्छ र हामीले त्यसअनुसारको रणनीति बनाएर हङकङ जानेछौँ।’
यस्तो छ तयारी
दशैअघि नेपाली राष्ट्रिय टोलीले हङकङ विरुद्धको खेलको तयारीका लागि १० दिने भारत भम्रण गरेको थियो। नेपाली क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेका बेला आइसिसीको व्यवस्थापनमा भारतको चेन्नाई पुगेको नेपाली टोलीले खेलेका चारवटा खेल मध्ये तीनमा जित र एकमा हारको नजिता निकालेको थियो।
असोज २४ गते हङकङ प्रस्थान गर्ने तयारीमा रहेको नेपाली टोलीले दशैँपश्चात बुधबारदेखि पुन टीयु मैदान तयारी थालेको हो। जित्नैपर्ने दबाब रहेकाले आफूहरु राम्रो भन्दा राम्रो क्रिकेट खेल्ने तयारी गरेको मुख्य प्रशिक्षक जगत टमटा बताउँछन्। केन्या विरुद्धको खेलमा चोटका कारण मैदान बाहिर रहेका कप्तान पारस खड्कासँगै अन्य खेलाडीहरु पनि लयमा हुनु नेपालका लागि सुखद रहेको उनी बताउँछन्।केन्या विरुद्धको खेलमा राम्रो प्रभाव छाडेका शक्ति गौचन र मेहबुब आलम यसपटक टोलीमा छैनन्। शक्तिले पायल्स पूर्ण रुपमा निको नभइसकेको भन्दै नखेल्ने पहिल्यै जानकारी दिइसकेका थिए भने मेहबुब आलम अन्तिम सूची आउँदा वैकल्पिकमा थिए। राष्ट्रिय टोलीमा पहिलोपल्ट स्पिनर सुशील कडेँल र मध्यमगतिका बलर ललितसिंह भण्डारीले स्थान बनाएका छन्। तयारीका क्रममा युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेको बताउँदै मुख्य प्रशिक्षक टमटाले आवश्यकता अनुरुप उनीहरुको प्रयोग गरिने बताए।
शीर्ष चारमा नपरे के हुन्छ ?
प्रतियोगिताको शीर्ष चारमा पर्नु भनेको अगामी वर्ष बंगलादेशमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न योग्य हुनुका साथै एकदिवसीय स्टाटस पाउनु पनि हो। तर हङकङकै घरेलु मैदानमा दुवैलाई जितको उत्तिकै महत्व रहेको खेलमा नेपाल पराजित भएमा नेपाल डिभिजन ‘टु’ मा घटुवा हुनेछ। जहाँ नेपाल सहित डब्लुसिएलको पुछारमा रहेका चार टोली र विश्व क्रिकेट लिग डिभिजन थ्रीबाट बढुवा भएका ओमान र क्यानडा हुनेछन्।
यता डब्लुसिएलका पुछारमा रहेका नामिबिया र युएईले पनि आगामी वर्ष हुने भनिएको उक्त प्रतियोगिता खेल्ने निश्चित भइसकेको छ।बंगलादेशमा हुने एकदिवसीय विश्वकप छनोटमा डिभिजन ‘टू’ का शीर्ष २ टोलीले पनि सहभागिता जनाउन पाउने प्रावधान रहेकाले डब्लुसिएलको शीर्ष चारभित्र अटाउन नसकेपनि नेपालका लागि सो विकल्प खुल्ला छ।
डब्लुसिएलबाट चार र डिभिजन ‘टु’ का शीर्ष २ टोली हुदैं विश्वकप छनोटमा पुगेका शीर्ष ६ टोलीले स्वतः चारवर्षका लागि एकदिवसीय मान्यता पाउनेछन्। त्यसरी नेपालले एकदिवसीय मान्यता पाएमा नेपालले बढी भन्दा बढी अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताको मौका सँगै आइसिसीबाट आउने अनुदान रकममा पनि वृद्धि हुनेछ। साथै छनोटमा परेका सवै ६ टिमले स्वतः टी–२० को पनि मान्यता प्राप्त गर्नुका साथै इन्टर कन्टिनेन्टलकप र विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सिधै छनोट हुने अवसर प्राप्त गर्नेछन्।
को को हुनेछन् विश्वकप छनोटमा ?
बंगलादेशमा हुने विश्वकप छनोटमा १० टोली सहभागी हुनेछन्। जसमा आइसिसी एकदिवसीय च्याम्पियनसिपको बरियताको तल्लोक्रममा रहेका चार टोलीहरु वेष्ट इण्डिज, अफगानिस्तान, जिम्बावे, आयरल्याण्ड छन् भने डब्लुसिएलका शीर्ष चार र डिभिजन टूका शीर्ष २ टोली रहनेछन्। यस प्रतियोगिताको शीर्ष दुई टोलीले एकदिवसीय विश्वकप खेल्न पाउने प्रावधान छ।
सन् २०१९ मा हुने विश्वकपमा इंग्लाण्ड आयोजक राष्ट्र भएकाले स्वतः छनोटमा परेको छ। त्यसबाहेक अष्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका पनि छनोट भइसकेका छन्। १० राष्ट्र खेल्ने विश्वकपमा बाकीं दुई खेलको टुंगो विश्वकप छनोटबाट लाग्नेछ।
डब्लुसिएलको यात्रातस्बिर: द हिमालयन टाइम्स
२०१५ मा नामिबियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईमा चौथो स्थानमा सिमित भएपछि नेपालले डब्लुसिएल खेल्ने मौका गुमाएको थियो तर पछि अफगानिस्तान र आयरल्याण्डले स्वतः छनोट हुने मौका पाएपछि नेपाल र केन्यालाई आइसिसीले च्याम्पियनसिप खेल्ने अवसर दिएको हो।
होम एण्ड अवेका आधारमा हुने डब्लुसिएलमा नेपालले पहिलो खेल स्कटल्याण्ड विरुद्ध उसकै गृहमैदानमा खेलेको थियो। दुवै खेलमा नेपाल पराजित हुन पुग्यो। दोस्रो चरणमा पपुवान्युगिनी विरुद्ध तटस्थ भूमि युएईमा खेलेको दुवै खेलमा पनि पराजित भएपछि नेपाल लगातार सुरुवाती चार खेलमा पराजित हुन पुग्यो।
तेस्रोचरणमा घरेलु मैदानमा नामिबिया विरुद्धको दुवै खेलमा जित हात पार्दै अंक बटुलेको नेपालले नेदल्याण्ड विरुद्धको चौथो चरणको खेलमा पहिलोमा हार र दोस्रो खेलमा जित निकाल्यो। प्रतियोगितामा नेदरल्याण्डलाई पराजित गर्ने नेपाल पहिलो टोली हो।
पाचौ चरणमा पानीले प्रभावित केन्या विरुद्धको पहिलो खेलमा घरेलु मैदानमा नेपाल पाँच विकेटले पराजित हुन पुग्यो भने दोस्रो खेलमा जित निकाल्दै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ। अक्टुबर १३ र १५ मा हङकङ विरुद्ध खेल्ने नेपाल डिसेम्बरमा युएइ विरुद्ध उसैको मैदानमा खेल्नेछ।
हङकङ विरुद्ध खेल्ने नेपाली टोली
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललित भण्डारी, सुसान भारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने
वैकल्पिक खेलाडी
जितेन्द्र मुखिया, नरेश बुढाऐर, मेहबुब अलाम, कुशल भुर्तेल
Previous Articleबृहत लोकतान्त्रिक गठबन्धन बनाउन कांग्रेसको आह्वान
Next Article प्रभासले विवाह गर्दै, को हुन् युवती ?