म्याग्दी, २८ भदौ – यसपालीको दशैंतिहारमा हिमाली जिल्लाबाट करिव २५ हजार भेडाच्याङ्ग्रा बाहिरने भएका छन् । पर्याप्त चरन, बजार मुल्य र जिल्ला पशुसेवा कार्यालयको नियमित प्राविधिक सहित अनुदान सहयोगबाट भेडाच्याङग्रा पालनमा आर्कर्षित भएका उपल्लो मुस्ताङबासीको गोठमै ब्यापारी पुग्न थालेका छन् ।
उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर गाविसका भेडापालक कृषकहरूको गोठमै ब्यापारीहरू पुग्न थालेपछि यसपटक असोजको दोस्रो सातासम्म जिल्ला बाहिर निकासी हुने पशुसेवा कार्यालय मुस्ताङका प्रमुख डा.नन्दलाल बर्माले बताए । ‘चाडपर्वको चहपहल सुरू भएको छ ।
विगतमा भन्दा भेडाच्याङग्राको निकासी बढ्छ’ बर्माले भने । यसबर्ष चरन क्षेत्रमा कुनैपनि रोग नदेखिएकाले पनि स्वस्थ भेडाच्याङग्रा बजारमा जाने बताए । ‘आयआर्जन हुने भएकाले पनि हरेकबर्ष कृषकले संख्या बढाउने गरेका छन ।
स्थलगत रुपमै पुगेर प्राविधिक सहयोगले समेत उत्साहित छन्’ उनले भने । गतबर्ष मुस्ताङबाट १९ हजार ३ सय भेडाच्याङग्रा निकासी भएको थियो । भेडापालनलाई प्रमुख पेशा बनाएकाहरूले घुम्ती चरन क्षेत्रको ब्यवस्था गरेर समेत संख्या बढाएको समेत पशुसेवा कार्यालयले जनाएको छ ।
मुस्ताङमा भेडाको तुलनामा च्याङ्ग्राको संख्या धेरै हुने गरेको छ । विगतमा हिउँ चितुवाको आक्रमणले गोठमै ठुलो संख्यामा भेडाच्याङ्ग्रा मरेपछि निरास भएका कृषकले गोठ समेत परिवर्तन र बस्ती नजिकका साथै सुरक्षाका विभिन्न उपायहरूको प्रयोग गरेका छन् ।
मासुका पारखीले समेत च्याङ्ग्रा रोज्ने भएकाले पनि कृषकको आर्कषण बढेको पशु स्वास्थ्य प्राविधिक आमप्रसाद थकालीले बताए । उनले जिल्लामा रहेका भेडापालक कृषकसंग समन्वय भइरहेकाले जिल्लाबाट बाहिरिने क्रममा स्वास्थ्य परिक्षण सहित तथ्याङ्क संकलन गरिने बताए ।
उपल्लो मुस्ताङमा रहेका विभिन्न स्थान सहित म्याग्दीको सिमानामा रहेको लेतेमा भेडाच्याङग्राको तथ्याङक राख्न कार्यालयले कर्मचारी समेत खटाएको छ । मुस्ताङका भेडा धौलागिरि अञ्चल सहित देशका विभिन्न जिल्लामा पुग्छन् । सडक मार्ग हुदै लैजानुपर्ने भएकाले पनि ब्यापारीले एकमहिना अगाडी कृषककै गोठमा गएर मुल्य निर्धारण गर्छन् ।
यसैविच गतबर्ष ७ सय भेडा लगेको नेपाल खाद्य संस्थानले यसबर्ष मुस्ताङबाट १५ सय भेडा लैजाने भएको छ । संस्थाले पशुसेवा कार्यालयलाई पत्र मार्फत १५ सय भेडाच्याङग्राको उपलब्ध गराउने वातावरण बनाउन अनुरोध गरेको कार्यालयले जनाएको छ । भेडाच्याङग्रा सहर पसेपछि चाडपर्व तथा ब्यापारिक कारोबार ह्वात्तै बढ्ने गरेको छ ।
तिब्वतबाट ८ हजार भेडाच्याङग्रा
तिब्वतको सिमानामा भएको अन्तरदेशीय ब्यापार मेलामा भेडाच्याङग्राको खरिदविक्री भएकाले करिव ८ हजारको हाराहारीमा मुस्ताङहुदै बाहिरिने लोमान्थाङका स्थानीय इन्द्रधारा विष्टले बताए । ‘ब्यापार मेलाले सहज भएको छ ।
तिब्वती भेडाच्याङग्रा धेरै उतै खपत हुन्छ’ उनले भने । नेपाली बजारमा माग अत्याधिक भएपनि मेलाको अवसरमा मात्रै नाका खुल्ने भएकाले अन्य समयमा दुवै क्षेत्रका ब्यापारीले चाहेर पनि भेडाच्याङ्ग्रा खरिदविक्री गर्न पाउँदैनन् ।
तिब्वती क्षेत्रका ब्यापारीले नेपाली बजारमा भनेजस्तो मुल्य पाउने भएपनि नाका बन्द भएकाले समस्या खेप्नुपरेको मुस्ताङीको भनाई छ ।
–हरिकृष्ण गौतम
Previous Articleस्तन क्यान्सरको कारण ब्रा हो ?
Next Article कक्षा १२ को परिक्षाफल प्रकाशित