बागलुङ, १८ असोज – दशै बिदा सदुपयोग गर्दै हिमालपारिको जिल्ला मुस्ताङ भम्रण गर्ने आन्तरिक पर्यटक बढेका छन् । मुस्ताङको भम्रणमा आउने पर्यटकको संख्या बढेपछि जोमसोम, कागवेनी, घासा, म्याग्दी सदरमुकाम बेनी, गलेश्वर लगायतका क्षेत्रका होटल भरिभराउ भएका हुन् ।
दशँैको टीकाको भोलिपल्टदेखि मुस्ताङ भम्रणमा आउनेको भिड बढेसँगै होटल भरिभराउ भएको र होटलको क्षमता भन्दा पनि बढी पाहुना आउन थालेपछि व्यवस्थापन गर्नै मुस्किल परेको बेनी स्थित होटल शिखरका सञ्चालक सुजन बरुवालले वताए ।
दशँै बिदामा मुस्ताङ भम्रण गर्नेले बास बस्न बेनीका होटलमा अग्रिम बुकिङ समेत गर्न थालेका छन् । पर्यटकको चाप बढेपछि बेनीका ठूला तथा साना होटल पाहुनाले दैनिकजसो भरिभराउ हुन थालेका हुन् ।
मुस्ताङको प्रसिद्ध मुक्तिनाथ, लोमानथाङ लगायतका ठाउँको भम्रणका लागि नेपालका विभिन्न क्षेत्रबाट सयौँको संख्यामा मोटरसाइकल र अन्य सवारीसाधनमार्फत आन्तरिक पर्यटक भित्रिरहेको दानाका होटल व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए ।
निजी तथा सार्वजनिक सवारीसाधन हुँदै पर्यटक भित्रने क्रम बढेपछि बेनीसँगै बेनी–जोमसोम क्षेत्रका होटल व्यावसायी उत्साहित छन् । निजी सवारीसाधनमा आएका पर्यटकले मुस्ताङसँगै सडकखण्डअन्तर्गत पर्ने म्याग्दीको धार्मिक एवं पर्यटकीयस्थल गलेश्वर, तातोपानी कुण्ड, रुप्से झरना, अन्धगल्छीलगायतका पर्यटकीयस्थलको समेत अवलोकन गर्ने गरेका छन् ।
Previous Articleआगलागीबाट विस्थापित परिवारलाई बहराइनको सहयोग
Next Article नेपाल घुम्ने पर्यटकलाई चीनको १० बुँदे निर्देशन