काठमाडौँमा रमाउँदै चिनियाँ पर्यटक
लक्ष्मी लम्साल
बेइजिङ, १८ असोज-नेपालमा वर्षा ऋतुको अन्त्य र पर्यटकीय सिजन सुरू भएसँगै चीनको राष्ट्रिय पर्यटन प्रशासनले नेपाल घुम्न चाहने चिनियाँका लागि १० बुँदे निर्देशिका जारी गरेको छ।
चीनको राष्ट्रिय दिवस तथा मध्यशरद पर्वको ८ दिन लामो विदाको अवसरमा नेपालमा पनि परम्परागत चाडपर्वको विदा परेकाले नेपाल भ्रमण गर्नु उपयुक्त भएकाले केही कुराहरूमा सचेतता अपनाउन प्रशासनले अपील जारी गरेको हो।
चिनियाँ पर्यटक बढाउन नेपालले अघिल्लो वर्षदेखि हवाईयात्रा गरेर नेपाल पुग्ने चिनियाँका लागि अनअराइभल निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ। यदि कुनै चिनियाँ केरूङ नाकाबाट नेपाल भ्रमणमा जान चाहन्छ भने नाकाको अध्यागमन विभागमा गएर आवश्यक कागजात बमोजिम राहदानीमा छाप लगाइमाग्न सक्छ।
चीनले सुरक्षित यात्राका लागि यात्रा सुरक्षा बीमा गर्न र आफ्ना कागजातको राम्रो ख्याल गर्न सुझाव दिने गरेको छ। पर्यटन प्रशासनले आफ्नो वेभसाइटमा लेखेको छ– खुला सिमाना भएको भारतीय सीमा क्षेत्रमा तेश्रो मुलुकका नागरिकबाहेक नेपाली र चिनियाँलाई बन्देज नहुने भएकाले भारत जानका लागि नेपालभित्रै भिसा लिएर सुविधा उपभोग गर्न सकिनेछ।नेपालको यातायात पूर्वाधार कमजोर छ। त्यसैले यात्रा गर्दा सुरक्षित र भरपर्दो ट्राभल रूट प्रयोग गर्न, साथै खराब मौसमका बेला पहाडी क्षेत्रमा जाँदा मिनिबस, मिनिभ्यान, अन्य यातायातमा ध्यान दिनुका साथै मोटरसाइकल नचढेर साइकल भाडामा लिन सल्लाह दिइएको छ।नेपालको पर्यटन श्रोत समृद्ध भएकाले हाइकिङ, हिमाल आरोहण, प्याराग्लाइडिङ, बोटिङ, र्याफ्टिङ लगायत कैयन साहसिक पर्यटकीय योजनाहरू छन्। यस्ता पर्यटकीय गतिविधिमा भाग लिँदा न्यूनतम् सर्तहरू पालना गर्न र अन्तर्राष्ट्रिय ट्राभल बीमा गर्न, भरपर्दो स्थानीय ट्राभल एजेन्सी छनोट गर्न सुझाव दिएको पर्यटन प्रशासनले नेपालका उच्च हिमाली क्षेत्रमा संचार सम्पर्क कमजोर हुने भएकाले सचेत हुन भनेको छ।
हाइकिङ, पर्वतारोहण, वा अरू पर्यटकीय परियोजनामा भाग लिँदा हातमा हात मिलाएर, राम्रो शारीरिक तयारी वा उद्धार बीमा गर्नुका साथै निरन्तर संचार हुने माध्यम अवलम्बन गर्न भनिएको छ। नेपालमा विदेशी मुद्रा वा सुन लैजान कडा बन्देज भएकाले ५ हजार डलर, २० ग्राम सुन, १०० ग्राम चाँदी भन्दा बढी लैजाँदा भन्सार पास गर्न, अन्यथा अपराधको मुद्धामा पर्न सक्नेतर्फ सतर्क गराएको छ।
नेपालमा संकटापन्न जनावर र वनस्पति वा तिनबाट उत्पादित वस्तु लैजान र ल्याउन प्रतिबन्ध छ। हात्तीका दारा, कछुवाको खपेटा, गैँडाको सिङ लगायत अन्य शंकास्पद वस्तुहरू नकिन्न तथा गरगहना, थांका, बोधि वा अन्य विशेष चिनो उपहारहरू कतिसम्म लैजान पाइन्छ, भन्सारमा बुझेर मात्र खरिद गर्न सुझाव दिएको छ।चिनियाँ पर्यटकहरूलाई जुन देशमा गएको हो, त्यहाँको स्थानीय नियम कानुन पालना गर्न, सँस्कृति, धर्म र पर्यटकीय निर्देशिका पछ्याउन साथै सट्टाबाजीका गतिविधि नगर्न, नेपालका सडकमा जताततै कुकुर र बाँदरहरू देखिने भएकाले तिनीहरूसँग नजिस्किन पनि नेपालस्थित चिनियाँ दूतावासको सुझावलाई पनि समेटेर निर्देशिका प्रस्तुत गरिएको छ।
नेपाल घुम्दा, सुरक्षा सतर्कता अपनाउन, रातमा बाहिर नजान, साथीभाइ तथा आफन्तबीच निरन्तर सम्पर्कमा रहन, प्राकृतिक विपत्ति, दुर्घटना, व्यक्तिगत घाइते, लुटपाट र चोरी, यात्रामा विवाद इत्यादि भएको खण्डमा नेपाल प्रहरी वा चिनियाँ दूतावासमा सम्पर्क राख्न पनि चीनको पर्यटन प्रशासनले सूचित गरेको छ।
विदाको मौकामा चिनियाँ पर्यटकहरू घरेलु तथा विदेशका लागि पर्यटकीय आम्दानीका श्रोत बन्ने गरेका छन्। चीनले पनि आफ्ना नागरिकलाई देश विदेश भ्रमण गर्न प्रोत्साहित गर्ने गरेको छ।
तर चीनको पर्यटन विभागले यस्तो सूचना जारी गर्दा चिनियाँका नजरमा नेपालको पूर्वाधार कमजोर रहेको तथा असुरक्षा बढी भएको विश्लेषण गर्दै चिनियाँ पर्यटकहरू हतपत नेपाल गइहाल्न रूची देखाउँदैनन्। केही आधारभूत तथा सामान्य सुझावले पनि कुनै देशको पर्यटकीय स्तर कति भरपर्दो हुन्छ भन्ने कुराको संकेत गर्ने गर्दछ।
नेपाल घुम्ने पर्यटकलाई चीनको १० बुँदे निर्देशन
Previous Articleमुस्ताङको भम्रण गर्ने बढेपछि होटलहरु भरिभराउ
Next Article बृहत लोकतान्त्रिक गठबन्धन बनाउन कांग्रेसको आह्वान