बागलुङ, १६ असोज – स्पेनको उत्तर–पूर्वी राज्य केटलोनिआमा हुन लागेको स्वतन्त्रता सम्बन्धी जनमत संग्रहलाई विथोल्न राष्ट्रिय प्रहरीले गरेको दमनमा साढे चार सय भन्दा बढी घाइते भएका छन् । बीबीसीका अनुसार स्पेनभित्रै स्वायत्त राज्यको रुपमा रहेको केटलोनिआमा आइतवार स्पेनमै रहने की स्वतन्त्र गणराज्यको रुपमा रहने भन्ने बारेमा जनमत संग्रह आयोजना गरिएको थियो ।
उक्त जनमत संग्रहलाई स्पेनको केन्द्रीय सरकारले अबैध घोषणा गरेको छ र मतदानको लागि जानबाट रोकेको छ । मतपत्र तथा मतदान बक्सहरु कब्जामा लिने क्रममा मतदानका लागि गएकाहरुसंग झडप भएको थियो ।
जम्मा ७५ लाख जनसंख्या रहेको राज्यको राजधानी बार्सिलोनामा प्रहरीले रबरको गोली समेत चलाएको बताइएको छ । केटलोनिआका नेताहरुले स्पेनी सरकारको यस प्रकारको अन्यायपूर्ण हिंसाले कटलन जनताको इच्छालाई बन्देज लगाउन नसिकने बताएका छन् । बार्सिलोनाका मेयर बद कोलाउले प्रहरी दमनको भर्त्सना गरेका छन् । स्पेनका गृह मन्त्रीले भने १२ प्रहरी अधिकृत घाइते भएको तीन जनालाई पक्राउ गरिएको र ९२ वटा मतदान केन्द्र बन्द गरिएको जनाकएको छ ।
स्पेनको केन्द्रीय सरकारले उक्त क्षेत्रमा थप प्रहरी बल र अर्धसैनिक दल परिचालन गरेको छ भने स्थानीय प्रहरीलाई शान्ति सुरक्षा कायम राख्न सघाउन आदेश दिएको छ ।
किन चाहियो स्वतन्त्र राज्य
केटलोनिआ स्पेनको सबैभन्दा धनी र उत्पादनशील क्षेत्र मध्ये एक हो । यसको आफ्नो छुट्टै एक हजार बर्ष पुरानो इतिहास छ । स्पेनिस गृहयुद्ध अघि नै यसले बृहत स्वायत्तताको उपभोग गर्दै आएको थियो । तर जनरल फ्रान्सिस्को फ्रान्कोको तानाशाहीमा यसले दमनको शिकार हुनुपर्यो ।
सन् १९७५ मा फ्रान्सिस्कोको तानाशाही अन्त्य भएपछि सन् १९७८ को संविधान अनुसार केटलोनिआले पुन स्वायत्तता प्राप्त गर्यो । सन् २००६ मा यसले थप शक्ति प्राप्त गर्यो । यसले एउटा ‘राष्ट्र’को रुपमा मान्यता पायो । यसको छुट्टै भाषाा र संस्कृति छ । तर स्पेनको संबैधानिक अदालतले ति अधिकारहरु धेरैलाई खारेज गरिदियो । यसले स्थानीय अधिकारीहरुलाई चिढ्यायो ।
स्पेनमा सुरु भएको आर्थिक मन्दीसंगै सार्वजनिक खर्चमा कटौती गरियो यसले पनि स्थानीयलाई बेखुशी बनायो । सन् २०१४ को नोभेम्बरमा अनौपचारिक जनमत संग्राह गरिएको थियो । त्यस बेला कुल मतदाता संख्या ५.४ मिलियन रहेकोमा दुई मिलियनले भाग लिएको र ८० प्रतिशत भोट स्वतन्त्रताको पक्षमा परेको बताइएको छ ।
सन् २०१५ मा स्वतन्त्रता पक्षधरले चुनाव जिते र सरकार बनाए । त्यही सरकारले स्वतन्त्र हुने वा स्पेनमै रहने एउट प्रश्न सोधेर जनमत संग्रहको घोषणा गरे । जनमत संग्रह हुन लागि रहेको बेला स्पेनको राष्ट्रिय प्रहरी र अर्ध सैनिक बलले हस्तक्षेप गरेको छ ।
Previous Articleप्रशासन र नगरपालिकाको मोटरसाईकल ट्राफिकको नियन्त्रणमा
Next Article मेलाबाट फर्किएको बोलेरो म्याग्दीको कुहुँमा दुर्घटना