बागलुङ, १२ असोज – जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीले बागलुङलाई पर्यटकीय जिल्लाको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पर्यटन पत्रकार संघ बागलुङले ३७ औँ विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको ‘विकासको लागि दिगो पर्यटनमा सञ्चार क्षेत्रको भुमिका विषयक अन्तरक्रिया तथा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताहरुले बागलुङलाई पर्यटकीय जिल्लाको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
पर्यटन क्षेत्र राम्रो आर्थिक श्रोत हुने बताउँदै जिल्लालाई अब रेमिट्यान्सको भन्दा पर्यटनको जिल्लाको रुपमा चिनाउनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । जिल्लामा ढोरपाटन शिकार आरक्ष, कालिका मन्दिर, पञ्चकोट, घुम्टे, हाँडीकोट, भकुण्डे लगायतका थुप्रै पर्यटकीय क्षेत्र रहेको बताउँदै वक्ताहरुले पर्यटन क्षेत्र दिगो आर्थिक श्रोत हुनेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले जिल्लामा थुर्पै पर्यटकीय क्षेत्रहरु भएपनि पर्याप्त प्रचारप्रसारको अभावमा अपेक्षाकृत पर्यटकहरु भित्राउन नसकेको बताए । शिरिषले पर्यटन पत्रकारिताको क्षेत्रमा कलम चलाएर सञ्चारकर्मीहरुले मार्गदर्शन गर्नुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय सचिव ताराप्रसाद शर्माले दिगो विकासको लागि पर्यटन नै उपयुक्त भएको बताउँदै पर्यटकीय जिल्लाको रुपमा विकास गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताए । नेपाल पत्रकार महासंघ बागलुङका सल्लाहकार रामबहादुर जिसीले बागलुङलाई पर्यटकीय क्षेत्रको विकासको लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । पूर्वाधार निर्माणको अभावमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन गाह्रो हुने बताउँदै पर्यटकीय स्थलसम्म पुग्नको लागि सहज यातायात सुविधा हुनुपर्नेमा उनको जोड थियो । ‘कालिगण्डकी करिडोरले भारत र चीनको तिब्बतसम्मको दुरि छोटिएकाले लुम्बिनी जाने बुद्ध धर्मवालम्बी र मुक्तिनाथ जाने भारतीय हिन्दु धर्मावलम्बीहरुलाई जिल्लामा आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्नु पर्दछ’ जिसीले भने ।
नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीले पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटन मैत्री वातावरण हुनुपर्नेमा जोड दिए । ड्राइभरको बोली व्यवहारदेखि होटलले गर्ने आतिथ्यता समेत पर्यटनमैत्री हुनुपर्ने राजभण्डारीेको भनाई थियो । नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय सदस्य बिक्रम सुनारले पर्यटनमैत्री वातावरण निर्माणको लागि आफुहरुले निरन्तर कलम चलाउने बताए ।
फोटो पत्रकार संघका मञ्जुल शाक्यले पर्यटन क्षेत्रको विकासको लागि साना–साना कुरामा पनि ध्यान दिनु पर्ने बताउँदै जिल्लामा प्रशस्त मात्रामा पर्यटकीय क्षेत्र रहेको बताए । नेपाल पर्यटन पत्रकार संघ बागलुङका अध्यक्ष विजय रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष नारायण रिजाल र सञ्चालन सचिव रबिना बोहोराले गरेकी थिइन् ।
Previous Articleचाडपर्वः खानपानमा सर्तकता
Next Article बागलुङका तीन पत्रकारलाई कृषि पत्रकारिता पुरस्कार