बागलुङ, १२ असोज – बडादशैँको आठौ दिन आज महाअष्टमी तिथिमा कालिका भगवतीको मन्दिरमा विहानै देखी श्रद्धालुहरुको भीड लागेको छ । नवरात्रको पहिलो दिन देखी नै कालिका भगवती मन्दिरमा श्रद्धालु भक्तहरुको घुईँचो लाग्ने भएता पनि विशेष गरी महाअष्टमी र महानवमीको दिनमा श्रद्धालुहरुको भीड हुने गर्छ । महाअष्टमीको मध्यरातमा कालरात्रिको विधिपूर्वक पूजा गरी बलि दिने गरिन्छ ।
महाअष्टमी नवरात्रको अष्टमी तिथिलाई भनिन्छ । हिन्दुहरुको महान पर्व विजया दशमीका अवसरमा देवी दुर्गा भवानीका नौ अवतारको पूजा अर्चना गरिन्छ । हिन्दु धर्ममा नवरात्रका नौ दिन अत्यन्त पवित्र एवं विशेष फलदायी मानिन्छ । महाअष्टमीका दिन दुर्गा माताको आठौँ अवतार (रुप) भद्रकालीको पूजा गरिन्छ ।
पौराणिक कथा अनुसार सतीदेवीले पिता दक्षप्रजापतिले आफ्ना पति महादेवको निन्दा गरेपछि हरहर महादेव भन्दै उनको यज्ञमा फाल हानेर आत्मादाह गरेको महादेवले थाहा पाएपछी दक्ष प्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली देवी यसै अष्टमीका दिन उत्पन्न गरेकाले यस दिन भद्रकालीलाई सोह्र सामाग्रीहरु जुटाएर पूजा गर्ने गरिन्छ ।
महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाअर्चना गरिन्छ ।
आज महाअष्टमी: कालिका मन्दिरमा श्रद्धालुहरुको भीड
Previous Articleमुलुक बाहिर ‘म’, भर्चुअल दशैं र खसी
Next Article १२ असोज २०७४, ढोरपाटन दैनिक