जतिबेला लैनसिंह बाङ्देल पेरिसमा कला अध्ययनका दिनहरु बिताइरहेका थिए, आफनी श्रीमतीलाई सम्बोधन गर्दै यस्तैयस्तै लेखिरहेका हुन्थे। आज पनि मुलुक बाहिरका ‘म’हरु आफ्ना प्रिये/प्रिय, आमा–बाबु वा आफन्तहरुका नाममा यस्तैयस्तै शब्दहरु कोरिरहेकै छन्।
अरु गर्न सक्ने नै के हो र ?
मुलुक बाहिरका ‘म’हरुले मच्चिने भनेको सम्झनाका पिङहरुमा हो, बाङदेलजस्तै। भावनाका लिंगा, भावनाकै लठ्ठो, भावनाकै पिर्कामा बसेर सम्झनामा मच्चिने। अनि भन्ने, ओहो ती दिन ! हो त नि ती दिन, दिन तिनै थिए।
अब न ती दिन छन्, न ती दिनजस्तो समय छ। गाउँतिरको समय त अहिले गाउँतिरको जस्तो छैन, सहर र विदेशका झन् के कुरा ?
हामी जिन्दगीका अरु कुरामा जतिसुकै आधुनिक बनौँ, चाडबाड मनाउने कुरामा हामीलाई पुरानै मनपर्छ। सिमेन्टका, चिनियाँ ईंट्टाका वा जतिसुकै राम्रा रङीविरङी घर बनुन्, हामीलाई चाडबाडको बेला कमेरो माटोको याद नै बढी आउँछ। मच्चिने त अरु पनि कति चीज छन् कति तर लिंगे पिङको स्वाद, त्यो पनि बाबियोको लठ्ठो भएको, हाम्रो मनमा गडेको छ। अहिले त बजारमा बिजुलीबाट चल्ने अनेक ‘रोटे–यन्त्र’ छन्, तर काठका ठेडी ठोकिएको काठैको रोटे पिङ सम्झँदा पो हामीलाई लाग्छ, ओहो ती दिन! बजारमा नपाइने के खानेकुरा छ र? तर हामीलाई ढिकीमा कुटेको चिउरा पो चिउरा जस्तो लाग्छ मासुको झोलसँग खान।
चाडबाडहरु, खासमा त्यो बेलामा गरिने काम र कुरामा भन्दा त्यो बेलाको मौसम, स्थान, त्यो बेलाको त्यहाँको हावा–माटोको गन्ध र त्यो परिवेश वा माहौलसँग बढी जीवन्त हुँदा रहेछन्, सुहाउँदा रहेछन्। कल्पना गरौं न, न्युयोर्कको म्यानह्याटनमा वा क्यालिफोर्नियाको सानफ्रान्स्किोमा निधारभरी टीका लगाएर हिंडदा कहाँ गाउँका बारीका कान्लाका बाटाहरुमा टीका लगाउन हिंडे जस्तो हुन्छ र? बरु उल्टै सकसक पो लाग्छ। न्युयोर्कको रैथाने गोरा बरु नेपालमा दशैंको टीका निधारभरी लगाएर ढुक्कसँग हिंड्न सक्छ बारीका कान्लाका बाटाहरुमा। तर नेपालको कुनै एउटा गाउँको रैथानेलाई न्युयोर्कका रैथाने बस्तीहरुमा त्यसो गर्न सकसक लाग्छ।
रङ छ, दही चामल छ, टीका तयार। तर के हो के हो केही नपुगेको जस्तो। खसी छ, आन्द्राभुँडी, टाउको, रक्ति सबै छ, तर केही छुटेको जस्तो। यसैले भनेको, चाडबाडहरु चीजहरुमा होइन, स्थान, मौसम, हावा–माटोको गन्ध, परिवेश र वरपरको सँस्कृतिसँग बढी जीवन्त हुँदा रहेछन्, सुहाउँदा रहेछन्।
केही दिनअघि नेपालबाट मेरा बालसखा प्रज्वल पंगेनीले मेसेन्जरमा पठाए:
खरले छाएको, रातोमाटो र कमेराले लिपेको घरमा
माकुराको जालो पन्छाउँदै घर पोत्ने चटारो हुन्थ्यो र पो
दशैं आएझैं लाग्थ्यो
दशैंलाई भन्दै घोर्ले खसी घरको पालीको ठेटनामा बाँधिन्थ्यो र पो
दशैं आएझैं लाग्थ्यो
दशैंलाई भन्दै साँचेर राखेको काँक्रो थाँक्रामै पाकेर पटपटी फुट्थ्यो र पो
दशैं आएझैं लाग्थ्यो
दशैंलाई भन्दै टेको लागाएर राखिएको केरा बोटमै पहेँलपुर हुन्थ्यो र पो
दशै आएझैँ लाग्थ्यो
दशैंलाई भन्दै चिउरा कुट्न रातभरी गाउँका ढिकी भक्रयाँइ–टयाँइ, भक्रयाँइ–टयाँइ गर्थे र पो
दशैं आएझैँ लाग्थ्यो
अहिले त कठै! दशैंको सूचना न रातोमाटो र कमेरोले दिन्छ, न खसीले।
अहिलेको दशैंको सूचना दिन न पट्पटी फुटेको काँक्रो छ, न बोटमै पाकेका मुंग्रे वा धुस्रे केरा छन्। मुलुकबाहिर त झन् कहाँ पाउनु हतपती यी चीज ?
अहिलेका चाडपर्वहरु फेसबुकमा पहिले र खासमा पछिमात्र आउँछन्। आउन त आउँछन्, तर कहिलेकाहीँ समय नपुग्दै आउँछन्।
अहिलेका चाडपर्वहरु ‘भर्चुअल’ बन्दै गएका छन्।
पहिले चाडबाड स्वभाविक मात्र होइन, ‘अर्गानिक’ पनि थिए। अहिलेका चाडपर्व भर्चुअल र रासायनिक बन्दै गएका छन्। चाडपर्व त प्राकृतिक र अर्गानिक रहेकै राम्रो गाँठे।
अवस्था जस्तोसुकै होस्, हामी जहाँ होऊँ, चाडबाडको नशाको तलतल मेटाउने जुगाड गर्न भने हामी खप्पिस छौं।
अमेरिकातिर अहिले आल्मुनियम कागजका भाँडामा जमरा राख्ने चलन छ। यहाँसम्म त ठिकै थियो तर हुँदाहुँदा अब त कस्तो भइसकेछ भने जमरा पनि अर्कैले राखिदिने। माटो खोज, मकै–जौ जुटाऊ, बेलाबेलामा पानी छर्क। को गरोस् झन्झट ?
घटस्थापनाको केही दिनअघि टेक्सासको डलासस्थित नेपाली मन्दिरबाट एउटा खबर आयो, ‘जमरा राख्ने भए सम्पर्क गर्नू। आल्मुनियमको कागजको सानो भाँडाको दश डलर, अली ठूलोको बीस डलर।’ मन्दिरले मन्दिरमै राखिदिने, आफू त उही मंसिरमा पाकेको धान काट्न गएजस्तो, जाने, काट्ने, ल्याउने। पैसा पनि अनलाईनबाट तिरे हुने।
पत्रकार मित्र रामचन्द्र भट्टले अनलाईनबाटै जमरा राख्ने ‘अर्डर’ दिएको सगर्व सुनाएपछि मैले पनि उनलाई सुझाएँ, ‘टीका पनि अनलाईनबाटै व्यवस्था गरौं, सक्की गो। उताबाट गुरुले स्क्रिनमा टीका–जमरा देखाउँछन्, यताबाट तपाईंले टीका जमरा प्राप्त गरेको ‘फिल’ गर्नुस्, भर्चुअल रियालिटी थ्रिडी चश्मा लगाएर। काम तमाम।’
खाने र आची धुने/पुछ्नेबाहेक अरु बाँकी गर्न कम्युटर हाजिर छ। खानेकुरा रासायनिक तत्वले खतम, सँस्कृति र जीवनशैली रासायनिक यन्त्रले।
कहिलेकाहीँ एउटा प्रश्न मनमा आउँछ, हैन, हाम्रा सँस्कृति र जीवनशैलीमा भइरहेका परिवर्तनहरुमा कतै गएर ब्रेक लाग्छ कि चलेकोचल्यै गर्छ? हामीलाई प्रिय लागेका उहिले–उहिलेका चीज, भोलि कतै जिन्दगीका बाटामा फेरि भेटिएलान् कि नाइँ? यसो हेर्दा त लाग्छ, जे सम्झँदा प्रिय लाग्छन्, तीनैलाई लत्याउँदै पनि गएका छौं हामी।
अँ, खानेकुराको हकमा भने ‘भर्चुअल रियालिटी’को काम छैन। खुच्चिङ !
यसैले टेक्सासका हाम्रा उनै पत्रकार मित्र भट्टजी खसी लिन भने हुत्तिँदै फार्म हाउस पुगे। पुग्नै पर्यो। जमरा जस्तो गर्न पाएनन्।
न्युयोर्क होस् वा सानफ्रान्सिस्को, डलास होस वा भर्जिनिया, दशैं लागेपछि खसी खोज्दै फार्म हाउसतिर लाग्ने नेपालीको संख्या बढ्दो छ। अब त कतिपय फार्म हाउसहरुले नेपालीको खसी किन्ने ‘सिजन’ बुझिसकेका छन्। र त्यहीअनुसार मौका छोपेर मूल्य बढाउन पनि बाठा भइसके।
खासमा अमेरिका खसीको मासुको देश होइन। सन् १९९१ अघि त अमेरिकामा न खसीको मासु आयात हुन्थ्यो न खसी उत्पादन नै। मध्यपूर्व, दक्षिणपूर्वी एसिया, अफ्रिका र दक्षिण तथा मध्य अमेरिकीहरुको बढदो आगमनसँगै अमेरिकामा खसीको मासुको आयात र उत्पादन बढेको हो। अहिले पनि अमेरिकामा खसीको मासुलाई खास समुदाय वा जाति विशेषसँग मात्र जोडेर हेरिन्छ। यसैले कुखुरा, गाई वा सुँगुरजस्तो अमेरिकामा खसीको मासुको स्थान छैन।
अष्ट्रेलिया र न्यूजिल्याण्डबाट आयातित खसीको मासु भने पाइन्छ बजारमा। हिजोआज अमेरिकाभित्रै खसीका फार्म हाउसहरु पनि बढेका छन्। तर नेपालमा जस्तो न कालीमाटी बजार छ, न खसीबजार। नेपालमा जस्तो बाटो–बाटोमा खसी डोर्याउँदै बेच्न कोही हिँड्दैन, हिँड्न पनि पाँइदैन। म्यानहटनमा खसी डोहार्याउँदै हिंडेको कोही नेपालीको चित्र एकछिन कल्पना गर्नुस् त।
सिंगो खसीको रहर हो भने फार्म हाउस त जानै पर्यो। खुसीका कुरा, हिजोआज कतिपय फार्म हाउसहरुले नेपाली देख्नेबित्तिकै यिनले टाउकोदेखि भुँडीसम्म र रगतदेखि कलेजो, फोक्सोसम्म छोड्दैनन् भन्ने बुझिसेका छन्। अब त भन्नै पर्दैन, सबै ठीकठाक पारिदिन्छन्। कतिपय नेपाली त प्लाष्टिकमा तेल–बेसार बोकेरै जान्छन्। र फार्म हाउसमै दल्न भ्याउँछन्। दशैं आउँदै गर्दा दुइजना नेपाली भेट भए कुरा हुने एउटा विषय खसी पनि हो। अलि पुरानोले नयाँलाई सुनाउँछ, ‘फलानो ठाउँमा राम्रा खसी पाइन्छन्। भुँडी, टाउको सबै बनाएर दिन्छ।’
फेरि पनि दोहोर्याउँ, खसी छ, आन्द्राभुँडी, टाउको, रक्ति सबै छ, तर के हो के हो, केही छुटेको जस्तो।
यसैले भनेको, चाडबाडहरु चीजहरुमा होइन, मौसम, हावा–माटोको गन्ध, परिवेश वा माहौल र वरपरको सँस्कृतिसँग बढी जीवन्त हुँदा रहेछन्, सुहाउँदा रहेछन्।
Previous Articleभारतलाई हराउँदै नेपाल बन्यो साफ यू-१८ च्याम्पियन
Next Article आज महाअष्टमी: कालिका मन्दिरमा श्रद्धालुहरुको भीड