लहान, ११ असोज – निर्वाचन प्रचारप्रसारको अन्तिम दिन माओवादी केन्द्रका पूर्वसभासद शिवराम यादवले फेसबुक स्टाटस लेखेका थिए, मधेश आन्दोलनको उद्गमस्थल लहान जित्नु एमालेका लागि समग्र मधेस जिते जत्तिकै हुन्छ । उनको चुनावी आकलन कमजोर देखिएन तर समग्र प्रदेश २ मा भने १८ सिटमा चित्त बुझायो, एमालेले ।
प्रदेश २ को व्यापारिक शहर लहानको चुनावी माहोल अन्तिम चरणमा पुग्दा वातावरण एमालेका मेयर उम्मेदार मुनी साहका पक्षमा देखिँदै गएको थियो ।
उदाहरण बने टीकापुर र लहान
पछिल्लो मधेस आन्दोलनको शुरुवात टीकापुरबाट भएको थियो । पहिलो मधेश आन्दोलनको उद्गम थलो नै लहान थियो । ती दुवैमा जित हात पारेर एमालेले सबैलाई चकित पारेको छ ।
स्थापित नेता मुनी साह माओवादी छाडेर एमाले प्रवेश गरेपछि लहानमा माहोल बदलिएको थियो । चुनावी माहोल आफ्ना पक्षमा पार्न वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, प्रचार विभाग प्रमुख योगेश भट्टराई र सचिव प्रदीप ज्ञवालीले लहानका सभाहरुमा निरन्तर उपस्थिति जनाएका थिए । लहान र एमालेलाई मत परिणाम अगाडिसम्म विपरित ध्रुवका रुपमा अथ्र्याइने गरेको थियो ।
अहिले भने दुवै पर्यायवाची देखिएका छन् । ‘एमालेलाई मधेश विरोधी भन्नेको मुखमा बुझो लागेको छ,’ नेता राजेन्द्रप्रसाद चौधरी भन्छन् । लहान देशकै ठूलो नगरपालिका हो । मतदाताको हिसाबले यो आफैंमा एउटा संसदीय निर्वाचन क्षेत्र हो । केही मात्र कम जनसंख्याका कारण उपमहानगरपालिका बन्न नसकेको लहानको जितले एमालेलाई सिरहामा उत्साहित बनाएको छ । कांग्रेस नेता प्रदीप गिरी र पद्मनारायण चौधरीको गृहनगर पनि भएकाले यो चुनावी परिणामका अन्य आयाम पनि छन् ।
सदरमुकाम सिरहा नगरपालिकामा उपमेयर जितेर पनि मेयरमा झिनो मतान्तरले पराजय भोगेको एमालेलाई लहानको जितले राहत दिएको छ । ‘विरोधीहरुले चोक-चोकमा मधेश आन्दोलनमा मारिएका शहीदको भिडियो प्रदर्शन गरे, कांग्रेस सरकारले हत्या गरेका मधेशीलाई एमालेले गरेको हत्याका रुपमा प्रचार पनि गरे,’ नवनिर्वाचित मेयर साहले भने, ‘तर, हामीले खण्डन गर्यौं, मधेशविरोधी एमाले होइन भन्ने जनताले पुष्टि गरे ।’ नागरिक अगुवा डा.नमोनारायण झाको भनाइमा एमाले नेताहरुको बोलीले मधेशमा नकारात्मक धारणा छ, उक्त पार्टीप्रति । झा भन्छन्, ‘यहाँ मुनी साहको व्यक्तित्वले जितेको हो ।’
जेएस मुरारका बहुमुखी क्याम्पसका प्राचार्य सजन साह पनि त्यसैमा जोड दिन्छन् । भन्छन्, ‘मुनी साहको व्यक्तित्वलाई एमालेले क्यास गरेको देखियो ।’
Previous Articleबडादशैंको सातौं दिन आज फुलपाति
Next Article प्रदेश नम्बर २: अब तिन तह बाँकी कहाँ के हुदैछ