१० असोज, बागलुङ–ताराखोला गाउँपालिका–५ को वडा भेला सम्पन्न भएको छ । भेलामा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले ताराखोलाको समग्र पक्षको विकासका लागि सबैसंग हातेमालो गर्दै अघि बढ्ने कुरामा जोड दिए । भेलाले ताराखोला गाउँपालिका वडा नं. ५ मा कौशिला घर्तीको अध्यक्षतामा १३ सदस्यीय महिला संजाल ,देबिलाल घर्तीको अध्यक्षता ११ सदस्यीय जनजाति संजाल, कुमार रोकाको अध्यक्षतामा ११ सदस्यीय युवा संजाल, कुलबहादुर रोकाको अध्यक्षतामा १३ सदस्यीय कृषि संजाल, चित्रबहादुर दर्जीको अध्यक्षतामा ११ सदस्यीय दलित संजाल, खिमबहादुर पुनको अध्यक्षतामा ११ सदस्यीय अपांग संजाल, राजेन्द्र कँडेलको अध्यक्षतामा ९ सदस्यीय बाल संरक्षण समिति, दिपक रोकाको अध्यक्षतामा ९ सदस्यीय बन समन्वय समिति र भुमादेबी कँडेलको अध्यक्षतामा व्यापार संगठन समितिको गठन गरेको छ ।
त्यसैगरी, भेलाले वडा अध्यक्ष रामबहादुर रोकाको अध्यक्षतामा १५ सदस्यीय टोल सुधार समिती समेत गठन गरेको छ । भेलामा जिल्ला समन्वय समिति बागलुङका सदस्य फुलमाया पुन, ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुन रोका, ताराखोला गाउँपालिकाका प्रमुख राजनीतिक सल्लाहकार नरेश केसी, कार्यपालिका सदस्य धनबहादुर बिक, वडा नं. ४ का वडा अध्यक्ष जितबहादुर खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए । भेला ताराखोला गाउँपालिका वडा नं. ५ का अध्यक्ष रामबहादुर रोकाको अध्यक्षता र सामाजिक परिचालक भिमा रोकाको संचालन र वडा सदस्य मनबहादुर रोकाको स्वागतमा सम्पन्न भएको थियो ।