देशमा स्थानिय निकायको निर्वाचन भएपश्चात हामीले बर्षा यामलाई बिदाई गरेका छौं । बिषेशतः कृषि प्रधाान मुलुक नेपाल बर्षात्को समयमा कृषि उत्पादनमा ब्यस्त बन्यो । बर्षात्को समयमा देशका अधिकांश ग्रामिण इलाका रहेका सडकहरु कति चले कति चलेनन् । तर बर्षात्को बिदाईसँगै हाम्रो घरआँगनमा भित्रिएको हिउँदको यामले जसरी बर्षात्ले कृषिमा सम्भावना बोकेर आयो ।
त्यसैगरी हिउँले पर्यटनको संभावना बोकेर आएको छ । एकातर्फ लामो समयसम्म कर्मचारीतन्त्रमा आधारित विकासको गति र अर्कोतर्फ संक्रमण कालमा गुज्रिरहेको राज्य व्यवस्थाका कारण देशका अन्य क्षेत्रको विकास जस्तै पर्यटनको विकास पनि सुस्त अवस्थामा थियो । २० बर्षसम्म स्थानिय निकाय जनप्रतिनिधिबिहिन हुनु र सक्रिय राजनीतिमा रहेका दलहरुको संयन्त्रको नाममा विकास बजेटमा लुटतन्त्रको विकासले पर्यटनको क्षेत्रलाई पनि छोडेन् । फलःस्वरुप प्रशस्त संभावना बोकेको भएपनि नेपालमा पर्यटनको विकासले चाहेको जस्तो गति लिन नसकेको कुरा हामी माझ जगजाहेर छ ।
पर्याप्त प्राकृतिक सौन्दर्यता, प्राचिन तथा पुरातात्विक महत्वका संरचना, जल, जमिन र जंगलको संयोजनमा बनेका हेर्न र घुम्न लायक स्थानहरु, मठमन्दिर, पाटीपौवा वा गुम्बा चैत्य हरेक क्षेत्रमा पर्यटनका हिसाबले अन्य मुलुकको तुलनामा अलिक फरक पहिचान भएर पनि राजनीतिक खिचातानी र अवसरवादी सोचको सिकार बनेको पर्यटन क्षेत्रले पनि देशमा भएको स्थानिय निकायको निर्वाचनपछि अन्य क्षेत्रमा जस्तै मुहार फेर्ने आशा गर्न सकिन्छ । हामीले हम्रो संभावनाको पहिचान तथा प्रचारप्रचार गर्न नसक्दा देशको पर्यटन चाहेको उचाइमा पुग्न नसकेको हो । हाम्रो देशको अर्थतन्त्रमा तेस्रो स्थानमा आफ्नो आर्थिक हैसियत राख्ने पर्यटनलाई अझ उचाईमा पु¥याउन स्थानिय निकायको महत्वपुर्ण भुमिका हुन्छ । जसरी सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेका छन् । त्यसैगरी पर्यटनको क्षेत्रमा पनि त्यसैगरी उच्च चासो र चिन्तनका साथ काम गर्न आवस्यक छ ।
बर्षात् पर्यटनको लागि त्यति उपयुक्त समय मानिदैन । जोखिमयुक्त सडक र प्रतिकुल मौसमका कारण बर्षात्मा पर्यटनको संभावना काम रहन्छ । हिउँदको अन्य र बर्षतको पुवार्धमा भएको स्थानिय निकायको निर्वाचन पश्चातको यो पहिलो हिउँद हो । अनुकुल मौसम, भौगोलिक बिकटताका बाबजुद पनि बनाईएका साना सडकमा समेत सवारी सञ्चालन, खेतीपाती थन्काए फुर्सदको समय पर्यटनका लागि अनुकुल बन्न सक्छ । स्थानिय तहमा भएका संभावनाहरुकोे खोजी तथा प्रचारप्रसारको लागि अब हामीसँग जनप्रतिनिधि छन् । प्रशासनिक कामका लागि राज्यकोषबाट तलब खाने कर्मचारी छन् । सबै क्षेत्र र बर्गको उचित प्रयोग गर्ने बेला हाम्री माझ आएको छ । अब राज्यको अर्थतन्त्रको बलियो आधार पर्यटन क्षेत्रलाई बनाउनका लागि सोच्नु पर्ने बेला आएको छ । अब हामीले हाम्रो लागि आफै गर्ने हो । स्थानिय तहदेखी राज्यको उच्च तहसम्म हामीले चुनेका प्रतिनिधिहरु निर्णयक तहमा छन् । हाम्रो सानो एरियामा पनि के कस्ता संभावनाहरु छन् तीनको पहिचान जनस्तरबाट पनि गर्न जरुरी छ ।
Previous Articleराजनीतिक भागवण्डाले जन्माएका गोपाल खड्काहरु
Next Article २०७४ असोज ९ सोमबारको राशिफल