म्याग्दी–जिल्लाको बेनी नगरपालिका–५ पुरुन्डीमा रहेको सरस्वती आधारभूत विद्यालयलाई शुक्रबार निःशुल्क जग्गादानको घोषणा भएको छ । बेनपा–५, पुलाडाँडामा जन्मिएर हाल रुपन्देही जिल्लाको सिनपा–८ बुद्धचोकस्थित भैरहवा बस्दै आएका गोपाल रामदामले विद्यालयलाई निःशुल्क रुपमा जग्गा दिने भन्दै घोषणा गरेका हुन् । पुरुन्डीको मोटरबाटोमा पर्ने एक रोपनी ३ आनाको जग्गा आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा विद्यालयलाई उपलब्ध गराउन उनले घोषणा गरेको विद्यालयले जनाएको छ । विद्यालयले विगत लामो समयदेखि जग्गा खोजी गरेपनि आर्थिक अभावका कारण पाउन सकेको थिएन ।
पुरुन्डीको विरुवाढुङ्गा डाँडामा रहेको विद्यालय अत्यन्तै साँघुरो र जोखिमयुक्त स्थानमा रहेको हुँदा यथाशीघ्र आवश्यक प्रक्रिया पुरा गरी निःशुल्क प्राप्त जग्गा विद्यालयको नाममा बनाएर विद्यालय स्थानान्तरण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलादेवी परियारले बताइन् । दलितहरुको मात्रै बसोबास रहेको पुरुन्डीमा कक्षा १ देखि ३ सम्म ४० जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेको शिक्षक गणेश दर्जीले जानकारी दिए । समाजसेवी गोपाल रामदामको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हिरा दर्जी, यामबहादुर परियार, ठहरबहादुर दर्जी र पूर्व वडाध्यक्ष बुधे दर्जीले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसरमा स्थानीयवासीले विद्यालयको नाममा जग्गा घोषणा गरेको भन्दै जग्गादाता रामदामलाई अबिर र फुलमालाले सम्मान गरेका थिए । कार्यक्रम विव्यस अध्यक्ष परियारको अध्यक्षता र शिक्षाप्रेमी टेकबहादुर विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleयस्तो छ निर्वाचनमा एमालेको १० तयारी
Next Article गाउँपालिकाले गर्यो डोजर प्रयोगको रकम तय