ग्रामिण सडकमा सास्ती नेपालीको गाउँघरमा दशै आएको छ । देश विदेशमा बसेका नेपाली दाजुभाई दिदीबहिनीहरु घर फर्कने लर्को लाग्न थालेको छ । गाउँघरमा उल्लासमय वातावरण पनि बनिरहेको छ । यतिबेला राजधानीदेखि जिल्ला र सदरमुकाम देखि गाउँ जाने सवारीको चाप अत्याधिक बढेको छ । सयौं हजारौं नेपाली घर फर्कने समयमा भीडभाड हुनु नौलो कुरा पनि भएन । साथै चाडपर्वका लागि खाद्यान्न, लत्ता कपडा लगायतका अत्यावस्यक सामाग्रीहरु ढुवानी गर्ने समय पनि हो । तर बर्षातमा विग्रेका ग्रामीण सडकहरुको अवस्था अहिले बेहाल जस्तो छ । मर्मत गरेर राम्रो बनाउनुपर्ने समयमा काम समेत थालिएको छैन । कतिपय गाउँ र नगरपालिकाले बजेट विनियोजन गरेर सडक संचालन गर्ने, मर्मत गर्ने भनेपनि काम भने नभएको हो । सडकको अवस्था जीर्ण भएकोले आम जनताले गाउँघरमा जानका लागि सास्ती खेपेका छन् । उनीहरुले समयमा घर पुग्न नसकेको अवस्था त छदैंछ, खाद्यान्न लगायतका सामाग्री ढुवानीमा सवारी नचल्दा सास्ती खेपेका छन् । पिठ्युँमै बोकेर हिडेका छन् ।
कतिपयले उचित सवारी नपाएकोले सदरमुकाममै थन्किएर बस्न बाध्य भएको पनि बताउन थालेका छन् । देशको ठूलो चाडपर्वको समयमा सडक मर्मतमा सरोकारवालाले वेवास्ता गरेको आम बुझाई छ । गत असार साउनमै नगर तथा गाउँपालिकाको परिषद र भेला गरेका जनप्रतिनिधिले पनि उचित बजेट विनियोजन गरेर सडक मर्मत गराउन सकेका छैनन् भने भएको बजेट पनि खर्च र सदुपयोग हुन सकेको छैन । त्यसोत कृषि, पशुविकास लगायतका बिषयगत कार्यालयको बजेट पनि नगर र गाउँपालिकामै गएको छ । समयमा जानकारी नभएको र निशर्त गएकोले अधिकांस बजेट पूर्वाधार निर्माण तर्फनै खर्च गर्ने गरि बिनियोजन भएको पाइएको छ । तर उक्त बजेट नगरको खातामा थन्केर बस्ने, जनताले सास्ती खेप्ने बाध्यता कहिले सम्म रहने हो ? हिउँद लागेपछि पानी नपर्दा सवारी साधन, चालक र सवारी धनीले पनि मर्मत गरेर गाउँ सम्म गाडि लैजान्छन् ।
तर अप्ठ्यारो परेको बेलामा जनप्रतिनिधिहरु तात्नुपर्नेमा बेवास्ता गरेर बसेको भान भएको छ । सिंहदरवारलाई गाउँमा ल्याएको दावी गर्ने दलका नेताहरुले पनि यतिबेला यो समस्यालाई चासो नदिएको पाईयो । त्यसोत दलहरुको संयन्त्रमा रहेको अधिकार जनप्रतिनिधिमा गयो भन्ने भनाई पनि नआएको होइन् तर दलीय क्षेत्रबाटै जनप्रतिनिधिहरु आएकोले जनताको हित र सेवाका लागि भने केही न केही काम गरेर देखाउनुपर्नेमा अहिले सम्म केही काम हुन नसकेको हो । अझै पनि जनताले खेपेको सास्तीलाई हेरेर सडक मर्मतको काम गर्नुपर्छ । दशै मनाउन आएका नेपालीलाई सास्ती दिएर तथा दुर्घटनाको जोखिममा सडक राखेर जाने हो भने जनप्रतिनिधि र स्थानीय सरकारको अनुभव जनताले कहिले पाउने हो ? यो प्रश्न आम जनताको अगाडि उब्जिरहेको छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरले चिरेको बागलुङलाई ती मार्गकै खण्डमा पनि सास्ती खेप्ने अवस्था छ भने गाउँजाँदा कस्तो होला ? एकपटक सबैले गम्भिर भएर सोच्न जरुरी छ ।