तारानाथ आचार्य/बागलुङ, ६ असोज
काठेखोला गाउँपालिकाले आर्थिक बर्ष २०७४÷७५को वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । शुक्रवार आयोजित एक कार्यक्रमका बीच अध्यक्ष अमर थापाले वार्षिक कार्यक्रमलाई एकीकृत गरेर पुस्तक आकारमा सार्वजनिक गरेका हुन् । गाउँ कार्यपालिका बाट पारित नीति तथा कार्यक्रम र बजेटलाई एकीकृत गरेर पुस्तक आकारमा सार्वजनिक गरिएको हो । गाउँ पालिकाले बनाएका योजनाहरुलाइ जनता समक्ष सहजरुपले पुर्याउने उद्देश्यले कार्ययोजना सावजनिक गरीएको गाउँ पालिकाका अध्यक्ष अमर थापाले बताए । गाउँपालिका भित्र भइरहेका बिकास निर्माणका काम लगायत अव गर्न सकिने सबै कामलाई योजनामा समावेश गरिएको छ ।
करिव ४ सय योजनालाई गाउँ पािलकाले सूचिकृत गरेर बजेट समेत विनियोजन गरेको हो । योजनामा सडक र भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ ।
अध्यक्ष थापाका अनुसार आगामी बर्षका लागि काठेखोला गाउँपालिकको बजेटमा ११ करोड ७८ लाख पूजिगत बजेट, ४ करोड चालु बजेट समावेश छ । त्यस्तै सशर्त चालु खर्चमा १३ करोड ६४ लाख रुपैयाँ छ भने आन्तरिक तर्फ ५४ लाख खर्चहुने अनुमान छ । यसरी २९ करोड ९७ लाख १९ हजार रुपैया खर्च हुने गरी कार्यक्रम बनाइएको हो । गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट अधिकांस योजना बार्षिक रुपमा सकिने खालका छन् ।केही योजनामा भने दिर्घकालिन योजना बनाएर लगानी गर्नुपर्ने देखिएको थापाले जानकारी दिए । गाउँपालिकाको आय तर्फ आन्तरिक आय, कर दस्तुर र सेवा शुल्क, मालपोत रजिष्ट्रेसन, विद्युत रोयल्टी लाई राखिएको छ ।
त्यस्तै खर्च तर्फ विद्युत लाईनको विस्तार र पोल खरिद, पूर्वाधार विकास कार्यक्रम तथा लक्षित बर्गको कार्यक्रम लगायतलाई पनि प्राथमिकता दिइएको छ । भौगोलिक रुपमा कठिन र सडक तथा अन्य विकास निर्माणको रुपमा पछाडि परेकाले सबै मिलेर पूर्वाधार विकास गर्नुपर्ने प्राथमिकतामा राखिएको छ । त्यस्तै शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पनि काम गर्नुपर्ने आवस्यकतामा जोड दिइएको वडा अध्यक्षहरुले जोड दिए । कार्यक्रममा वडा नं. १ का अध्यक्ष खड्गबहादुर थापा, २ का अध्यक्ष यामबहादुर श्रीष, ३ का अध्यक्ष केशव थापा, ५ का अध्यक्ष शिवप्रसाद कंडेल, ७ का अध्यक्ष प्रेम लामिछाने र ८ की अध्यक्ष चित्रकला श्रीषले बोलेकी थिइन् ।
योजना तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बिजया दशमी, दिपाबली र छड पर्वको शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको थियो ।