बागलुङ/जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाले नेपालको आर्थिक विकासका लागि कृषिजन्य उद्यमको विकास गर्नु पर्नेमा जोड दिएका छन् । मिर्मिरे कृषि सहकारी संस्था लिमिटेड बानपा–३ कृषि गाउँ बागलुङले आयोजना गरेको २ दिने सहकारी शिक्षा तथा नेतृत्व विकास तालिमको शुक्रवार उद्घाटन गर्दै ढुंगानाले कृषिबाटै देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् । राज्यले कृषि क्षेत्रका लागि दिने अनुदान ठिक ढंगले परिचालन नभएको उनको गुनासो थियो । कार्यक्रममा तालिमका प्रशिक्षक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले कृषि क्षेत्रमा लागेर अर्ध वेरोजगारका रुपमा रहेका कृषकहरुलाई वैकल्पिक आयस्रोतको उपाय खोज्न सहकारीहरुको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । तालिम उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष गंगाबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चन्द्रनिधि पौडेलको स्वागत र कोषाध्यक्ष थानेश्वर सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा संस्थाका सञ्चालक तथा लेखा समितिका पदाधिकारी तथा सदस्यहरु, अगुवा कृषक शेयर सदस्यहरु र कर्मचारी गरी २५ जनाको सहभागिता छ । सहकारी संस्थाले सामुहिक खेती, बंगुरपालन, माछापालन, केरा खेती लगायतको व्यवसाय संस्थागत रुपमा सञ्चालन गरेको छ । २ सय २० जना शेयर सदस्य रहेको संस्थामा ३० लाख शेयर रकम, ५७ लाख वचत, ८० लाख लगानी रहेको छ ।