म्याग्दी/जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीको डाँडाखानीमा अवस्थित बालप्रिय सारदा आधारभुत विद्यालयको पुस्तकालय समुदायमा हस्तान्तरण गरिएको छ । रुम टु रिड नेपालको आर्थिक तथा गाजा डेभलपमेन्ट फाउण्डेशनको प्राविधिक तथा ब्यवस्थापनमा विगत चार बर्ष अगाडी विद्यालयमा स्थापना भएको पुस्तकालय बुधबार एक कार्यक्रमका विच समुदायमा हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रमको अवसरमा बोल्दै वडा अध्यक्ष पदम पुनले विद्यालयमा स्थापना भएका पुस्तकालयले विद्यार्थीको शैक्षिक गुणस्तरबृद्धिमा ठुलो योगदान पु¥याएको बताए । बाल विकासदेखी कक्षा ५ सम्मका विद्यार्थीलाई पुस्तकालयको प्रयोग गर्ने विधिबाट समेत धेरै विद्यार्थीहरु पुस्तकालयप्रति आर्कषित भएको पुनले बताए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका श्रोतब्यक्ति दुर्गाराम सुबेदीले पुस्तकालयलाई नियमित प्रयोगमा ल्याउने गरी बनाइएको घण्टी तालिकाको प्रयोगमा जोड दिएका थिए । उनले अतिरिक्त ज्ञान र पाठ्यक्रममा समेत सहयोगी भूमिका निर्वाह गर्न पुस्तकहरु पुस्तकालय भएको बताउँदै शिक्षकलाई समेत उपयोगी भएको बताए । उनले म्याग्दी जिल्लामा रुम टु रिड नेपालमार्फत स्थापना भएका पुस्तकालय प्रभावकारी देखिएको बताउँदै हस्तान्तरण गरेपछि पनि शिक्षा कार्यालय हुने अनुगममा पुस्तकालय समेत प्राथमिकतामा पर्ने बताए । सोही अवसरमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङका विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले पुस्तकालयले बालबालिकामा पठन सीपको विकास, विद्यार्थीको पढाई स्तर पहिचानका साथै आत्मनिर्भर स्वतन्त्र पाठक बनाउन सहयोग पुगेको बताए । कार्यक्रममा विद्यालयकी प्रअ जमुना रोकाले चारबर्षसम्म पुस्तकालय मार्फत गरिएको गतिविधि र आगामी तीनबर्षको कार्ययोजना प्रस्तुत गरेका थिए । यसैबीच, जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको दुई कोठे भवनको समेत उद्घाटन गरिएको छ । प्रमुख अतिथि वडा अध्यक्ष पुन र श्रोतब्यक्ति सुबेदीले भवनको उद्घाटन गरेका थिए । कुल १९ लाख ५७ हजार लागतमा सम्पन्न भएको भवनमा जिशिकाबाट १३ लाख ५० हजार बजेट प्राप्त भएपनि भवन निर्माणमा अपुग भएपछि विद्यालयले ६ लाख १३ हजार ऋण खोजेर भवन सम्पन्न गरेको थियो । विब्यस अध्यक्ष मनबहादुर श्रीषको अध्यक्षता, शिक्षक जोगबहादुर पुनको स्वागत मन्तव्य र शिक्षक मनबहादुर पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleचार दिनमा ४० स्थानीय तहको मतपरिणाम
Next Article पायल्स हुने कारण र अपनाउनुपर्ने सावधानी