तारानाथ आचार्य/बागलुङ, ५ असोज
चाडपर्वको समयलाई मध्यनजर गर्दै बागलुङ प्रहरीले सुरक्षा व्यवस्थामा कडाई थालेको छ । दशै तिहार लगायतका उत्सवमा हुन सक्ने संभावित अप्रिय घटनालाइ कम गर्न प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेको हो । ‘चाडपर्व बिषेश सुरक्षा योजना’ बनाएर सामाजिक सुरक्षामा कडाई थालिएको प्रहरी नायव उपरिक्षक बिश्वराजसिंह थापाले बताए । अप्रिय घटना हुन सक्ने संम्भावित क्षेत्रको पहिचान गरी बर्दी तथा सादा पोसाकका प्रहरी खटाइएको थापाले बताए । चाडपर्वका बेला चोरी डकैंती, सडक दुर्घटना तथा लागुपदार्थ ओसारपसारका घटना बढि हुन सक्ने भन्दै त्यसको नियन्त्रणका लागि प्रहरी तयार रहेको थापाले बताए ।
पर्वको समयमा आर्थिक कारोवार बढि हुने र गरगहनाको प्रयोग समेत बढि हुने भएकोले प्रहरीले त्यसतर्फ निगरानी बढाएको छ । ‘बैंक तथा बित्तिय संस्था र गरगहनाको व्यापार हुने स्थान वरपर बिषेश निगरानी बढाएका छौं’ थापाले भने ‘मौका छोपेर हुने चोरी डकैतीलाई कम गर्न यसो गरिएको हो ।’ हिन्दुहरुको महान चार्ड दशैं तथा तिहारको बेला बिभिन्न मठमन्दिरहरुमा पाठपुजा हुने र त्यस्ता स्थलहरुमा भीडभाड हुने भएकाले आवस्यकता अनुसार प्रहरी परिचालन गरिएको पनि उनले बताए । चाडपर्वको मौका पारेर बिभिन्न संघ संस्थाले आयोजना गर्ने सार्वजनिक कार्यक्रम तथा स्थलहरुमा समेत प्रहरीले सक्रियता बढाउने योजना थापाले सुनाए ।
प्रहरीले सडक तथा सवारीमा पनि निगरानी बढाएको छ । अनावश्यक भीडभाड र कानूनले बन्देज गरेका बस्तु तस्करीको संभावना हुने भएकाले सवारीको चेकजाँच र सडकमा समेत निगरानी बढाइएको प्रहरी निरिक्षक सुरेन्द्र ढुङ्गानाले बताए । उनका अनुसार, जिल्ला प्रहरी कार्यलय बागलुङ अन्र्तगतका २५ वटै शाखा तथा बिटहरुलाई सक्रिय बनाइएको छ । जिल्लाभर साइकल, पैदल तथा सवारीमा समेत गस्तीको व्यवस्था मिलाइएको ढुङ्गानाले बताए । ‘हामीसँग जनशक्तिको अभाव छ’ ढुङ्गानाले ढोरपाटन सँग भने– ‘कम जनशक्तिलाइ धेरै समय प्रयोग गरेर भएपनि सुरक्षा व्यवस्थामा प्रश्न उठ्न दिँदैनौं ।’ ५ सय २२ जना कर्मचारीको दरबन्दी रहेको जिल्लामा हाल ४ सय ९ जनाले मात्रै काम गर्दै आएका छन् । उनीहरुमध्ये पनि १ सय ९ जना प्रदेश नम्वर २ को निर्वाचनका लागि खटिएकाले प्रहरीलाई जनशक्तिको अभाव भएको हो । दरबन्दीमा पुरा नभएसम्म काममा चुनौती रहने उनले बताए । ढुङ्गानाका अनुसार, हाल उपलव्ध जनशक्तिलाई ओभरटाईम काम दिएर सुरक्षामा खटाईएको हो । प्रहरीले हरेक दिन १८ घण्टासम्म डिउटी गरिरहेका छन् ।
प्रहरीले आवश्यक जनचेतनाको लागि मातहातका सबै प्रहरी चौकीहरुलाई खटाएर माइकिङ् गर्ने, पर्चा पम्प्लेट बाँड्ने लगायतका काम समेत सुरु गरेको प्रनाउ थापाले बताए । उनका अनुसार, सामाजिक सुरक्षासँगै अनुगमनको कामलाई पनि चुस्त बनाईएको छ । चाडपर्वका बेला हुन सक्ने कृतिम अभाव र कालो बजारीलाई नियन्त्रण गर्न बिभिन्न निकायसँग सहकार्य गर्दै अनुगमन थालिएको हो । ‘सुरक्षा र उपभोक्ताको अधिकारमा कुनैपनि सम्झौता गर्दैनौं’ थापाले भने– ‘कानुनले बन्देज गरेका सेवा तथा बस्तुको तस्करी गरी रातारात धनी बन्न खोज्नेहरु हाम्रो निगरानीमा छन् ।’ बागलुङ बजारका केही औषधी पसल लागूऔषध बिक्री बितरणमा संलग्न रहेको पाइएकोले आवश्यक निगरानी भइरहेको थापाले बताए । सामान्य सुराकीको आधारमा निगरानी बढाइएको र आवश्यक प्रमाण फेला परे कारबाहीको दायरामा ल्याइने उनले बताए । त्यस्ता पसलहरुले समेत चाडपर्वको मौका छोपेर तस्करी गर्ने भएकाले उनीहरुलाई पनि निगरानीमा राखिएको थापाको भनाई छ ।
चार्डको बेला जुवातास तथा मादक पदार्थको सेवन तथा बिक्रीमा पनि प्रहरीले रोक लगाउने तयारी गरेको छ । जिल्लाका सबै शहरी इलाकामा बेलुकी ९ बजेपछि मदिराको बिक्री बितरणमा रोक लगाई होटल तथा रेष्टुरेन्टलाइ बन्द गर्न आग्रह गरेको थापाले बताए ।
Previous Articleसस्तो पसलमा १२ दिनमा ४२ लाखको विक्री
Next Article २०७४ असोज ५ बिहिबारको राशिफल