बागलुङ, ३१ भाद्र – जिल्लामा पहिलोपटक आयोजना गरिएको धौलागिरी अञ्चल स्तरिय फुटसलको उपाधिको लागि बागलुङ स्पोर्टस् क्लब र नयाँ जिवन पुर्नस्थापना विच हुनेभएको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब निलोलाई पराजित गर्दै बागलुङ स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको हो । बागलुङ स्पोर्टस् क्लबले चिल्ड्रेन लाईफलाई ८–३ गोल अन्तरले पराजित गरेको थियो । बागलुङ स्पोर्टस्को जितको लागि खेलका म्यान अफदी म्याच समेत घोषणा भएका सुवास गुरुङले ४ गोल गरेका थिए । यस्तै विकास थापाले ३ र किरण दुराले १ गोल गरेका थिए । चिल्ड्रेन लाईफको लागि दिलिप जिसीले २ र निसान थापा मगरले १ गोल गरेका थिए ।
यस्तै दोस्रो सेमिफाइनलमा चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब रातोलाई पराजित गर्दै नयाँ जिवन पुर्नस्थापना केन्द्र फाइनलमा प्रवेश गरेको छ । चिल्ड्रेन लाईफ रातोलाई नयाँ जिवनले ५–१२ गोलअन्तरले पराजित गरेको छ । नयाँ जिवनको जितको लागि खेलको म्यान अफदि म्याच घोषित भएका सुनिल तामाङले २ गोल गरेका थिए । उनले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै नयाँ जिवनको लागि रोशन केसीले ४, गणेश थापाले ३, राजेश जिसीले २ र मोहन खड्काले १ गोल गरेका थिए । यस्तै चिल्ड्रेन लाईफ रातोको लागि राजेश महतले ३, आकाश केसी र किरण थापाले समान १–१ गोल गरेका थिए ।
मंगलबारदेखि संचालन भएको उक्त प्रतियोगितामा २ जना बाहिरी खेलाडी राख्ने पाउने नियम अनुसार फाइनल प्रवेश गरेका दुवै टिमले पनि २–२ जना पोखराका खेलाडीहरु राखेको र दुवै टिम उत्कृष्ट भएकाले फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
रश आवर फुटसल प्रा.लि. बागलुङले आयोजना गरेको उक्त फुटसलको विजेताले नगद ५० हजार र उपविजेताले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, बेस्ट किपर र अनुशासित टिमलाई सम्मान ३ हजार प्राप्त गर्ने छन् ।