म्याग्दी – जिल्लाको सदरमुकाम बेनीमा दैनिकजसो सडक दुर्घटना बढ्न थालेको छ । ब्यस्त सडकमा तीव्रगतिमा गुड्ने दुईपाङ्ग्रे सवारीसाधनको ठक्करबाट चारदिनमा पाँचजना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार साउन २० गते पश्चिम म्याग्दीको ओखरबोट गाविस–१ फुलबारी स्थायी घरभई दरवाङमा बस्ने ५१ बर्षिय मोतिराज गौतम र पर्वत मुडिकुवा– ६ घर भई क्याम्पसचोकमा बस्ने ६ बर्षिया स्वर्तनी भुषाल, साउन २२ गते अर्मन–८ की २६ बर्षिया मनदेवी घर्ती, बेनपा–७ का ४ बर्षिय विन्सन श्रेष्ठ र साउन २४ गते साँझ बेनपा–८ स्थायी घरभई हाल बेनपा–८६ इन्द्रेणी टोल बस्ने ४ बर्षका आयूष थापा घाईते भएका छन् ।
ठक्करबाट तीन बालबालिका घाईते भएका छन् । थापालाई ठक्कर दिएर मोटरसाइकल फरार भएको छ ।दैनिकजसो मोटरसाइकलको ठक्करले दुर्घटना बढ्न थालेपछि ट्राफिक चेकजाँच कडाई गरिने प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए । ‘बालबालिकालाई समेत अभिभावकले निगरानीमा राख्नुपर्छ । साँझपक चेकजाँच बढाउन निर्देशन दिएको छु’ उनले भने ।
घाईतेको अवस्था खतरामुक्त भएपनि लगातारको दुर्घटनालाई मध्यनजर गरेर चोकचोक सहित बजारभित्र चेकजाँचलाई प्रभावकारी बनाइने प्रनाउ खड्काले बताए । बेनीबजारको अति ब्यस्त सडकमा ब गती नियन्त्रणका लागि आवश्यक पर्ने ब्रेकर समेत नभएकाले समेत समस्या भइरहेको छ ।
साँघुरो सडकमा यूवाहरूले तीब्रगतिमा सवारीसाधन चलाउने, बालबालिकाहरू सडकमै खेल्ने तथा पैदलयात्रीले समेत विना सतर्कता सडक वारपार गर्ने गरेकाले समेत सवारी दुर्घटना हुने गरेको छ । बजार भित्र विद्यालय, हस्पिटल सहित सार्वजनिक महत्वका संघसंस्था भएकाले पनि सवारीसाधन चलाउँदा चालकले समेत सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।