केही समय पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो औपचारिक विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको मानसिक उपचार गराउन सरकारका नाममा आदेश दियो । अख्तियारको यो आदेशपछि समाजमा एक किसिमको तरंग नै पैदा भयो। आफ्ना अधिकार र कार्यक्षेत्रको कानुनी सीमा मिचेर काम गर्दै आएको अख्तियारले समाजका एकजना सम्मानित व्यक्तिमाथि यस किसिमको आरोप लगाउँदै आदेश दिनु आफैमा गलत मात्रै थिएन, राज्यको संवैधानिक निकायका प्रमुखको मर्यादा विपरीत कार्य पनि थियो । यसलाई सवैधानिक निकायमा आएको विचलन पनि भन्न सकिन्छ । भ्रष्टाचार नियन्त्रणको उद्देश्यले स्थापित अख्तियार संस्था र त्यसका प्रमुख लोकमान सिंह कार्कीले पछिल्ला दिनहरुमा विभिन्न खालका दूराचारमा लागेका समाचार यत्रतत्र प्रकाशित भइरहेका छन्। एउटा संवैधानिक निकायले समाजका एक व्यक्तिमाथि गरेको गलत टिप्पणीले समाजमा आक्रोशको वातावरण निर्माण गरेको छ। त्यही भएर डा. केसी पागल हुन् भने हामी सबै पागल भन्दै सर्वसाधारण टाउकामा स्कार्फ बाँधेर सडकमा ओर्लिए ।
वास्तवमा समाजमा नायकत्व प्राप्ति सहजै हुँदैन । त्यसका निम्ति जीवनलाई अविरल सुकर्ममा लगाउन सक्नुपर्छ। जीवनलाई साधारण ठानेर जनसेवामा लगाउन खोज्नु आफैमा असाधारण कार्य हो। यस्तो काम सजिलो भए समाजमा धेरै मानिस यसका निम्ति तयार हुने थिए। डा. केसी अनशन तोडेर उठेको १२ औँ दिनमा पूर्वी तराईको सप्तरीका डुबानपीडित गाउँमा आर्तहरूका चहराइरहेका घाउमा मल्हम लगाउन पुगेका छन्। बाढीपीडित स्थानीय बासिन्दाका नाडी छाम्न सरकारका कुनै निकाय पुग्न सकेका छैनन् तर डा. केसी एकाएक बस चढेर सप्तरीको तिलाठी गाउँमा पुगे। स्थानीयले उनको सेवा भावलाई देखेर खुशीको आत्मानुभुती प्रकट गरेका छन् । हुन त डा. केसीको ग्रामीण भेगको स्वास्थ्य सेवा यो नै पहिलो होइन। प्रत्येक पटक कुनै पनि विपत्तिमा उनी सेवाका निम्ति तत्पर हुन्छन् । उनी आफै विपद् परेका स्थानमा पुग्छन् र सेवा गर्न पाएकोमा खुसी बोकेर फर्कन्छन । यतिवेला डा. केसीले बाढीपीडितको सेवा गरेर आपसी मैत्रीपूर्ण भावनालाई बढाउन पनि सफल भएका छन् ।
अहिले समाजमा डा. केसीको जस्तो पागलपन समाज रूपान्तरणका निम्ति अपरिहार्य भएको छ। दीर्घ समाजसेवा र भ्रष्टाचारविरोधी अभियानमा रहेका उनको अहिलेको योगदानले मान्छेको सोच परिवर्तनमा सघाउने विश्वास गर्न सकिन्छ। डा. केसीले गरेको सेवाले पनि उनका मागप्रतिको उचाइ थप बढाएको छ। उनको यो सेवाबाट पनि अहिलेका आततायीहरू आत्तिन सक्छन । अख्तियार प्रमुख कार्की र अर्का आयुक्त राजनारायण पाठकलाई महाभियोग लगाउन माग गर्दै आमरण अनशन बसेका डा. केसीले उठाएका मागहरू यतिबेला झनै चहकिला हुँदै गइरहेका छन र संसदमा पनि वहस हुन थालेको छ । उनले आमरण अनशनमा तिनलाई महाभियोग लगाउन माग गर्दा प्रमाण जुटाउन धम्की दिँदै विज्ञप्ति निकाल्ने अख्तियारले धेरै विषयमा सोच्नुपर्ने वेला आएको छ भने सेवाभावमा लागेका केसीलाई सवैले सलाम गर्ने अवस्था सिर्जना भएको छ ।
Previous Articleदर्ता बिनै ईट्टा उद्योग संचालन
Next Article मोटरसाईकल ठक्करबाट चारदिनमा पाँच घाईते