बागलुङ – वनलाई समुदायमा हस्तान्तरण गरेपछि संरक्षण बढ्न थालेको सरोकारवालाले बताएका छन् । बागलुङमा पनि हस्तान्तरण गरेर समुदायले जिम्मा पाएपछि यो क्रम बढेको जिल्ला वन अधिकृत बिन्दुकुमारी मिश्रले बताइन् । उनका अनुसार सरकारले कुल भूभागको ४० प्रतिशत वन हुनुपर्ने प्रावधान राखेकोमा जिल्लामा ४४ प्रतिशत पुगेको उनले बताइन् । जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ र समुदायमा आधारित वन सहजकर्ता संजालको आयोजनामा मनाइएको सामुदायिक वन राष्ट्रिय दिवशको अवसरमा सरोकारवालाले वनको संरक्षणले वातावरण संरक्षणमा सहयोग पुगेको धारणा राखे । मिश्रका अनुसार वन ऐन २०४९ र नियमावली २०५१ आएपछि ५ सय १४ वटा सामुदायिक वन हस्तान्तरण भएको छ । कुल वनक्षेत्र रहेको ९८ हजार ४६ हेक्टर वन मध्ये ४८ हजार हेक्टर जंगल हस्तान्तरण भएको हो । ती सामुदायिक वनमा २५ हजार महिला र ३१ हजार पुरुष सदस्य छन् । महिलाले मात्र व्यवस्थापन गरेका ३८ वटा सामुदायिक वन छन् । ऐन अउनुअघि रामरेखा सामुदायिक वन, डुगाचौर सामुदायिक वन र सौर्यपाखो सामुदायिक वन समुदायमा गैसकेका थिए । दिवशको अवसरमा आयोजित कार्यक्रममा गत जैविक विविधता दिवशको दिन आयोजित ‘जिविकोपार्जनको लागि जैविक विविधताको मुल प्रवाहीकरण’ बिषयक विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिताका विजयी लाइ पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा रुद्रेपिपल माविका क्षितिज रिजाल प्रथम, न्यु एभरेष्ट एकेडेमीकी रक्षा कार्की द्वितिय, चिल्ड्रेन लाइफका गणेश कंडेल तृतिय र सुजना ढकाल सान्त्वना भएका थिए । त्यस्तै कार्यक्रममा आर्थिक बर्ष २०७२÷७३ मा उत्कृष्ठ भएका सामुदायिक वनलाइ सम्मान तथा पुरस्कृत गरिएको थियो । गत बर्ष सौर्यपाखो सामुदायिक वन भकुण्डे उत्कृष्ठ भएको हो । त्यस्तै सिद्धबराह सामुदायिक वन भीमगिठे, पैतेनी भञ्ज्याङ सामुदायिक वन भकुण्डे, ढाँडपानी सामुदायिक वन रायडाँडा, रामरेखा सामुदायिक वन, ढुंगाचौर सामुदायिक वन नारायणस्थान लगायतलाइ सम्मान र पुरस्कार दिइएको थियो । जिल्ला वन अधिकृत विन्दुमिश्रको अध्यक्षता, सहायक वन अधिकृत रामबहादुर विकको संचालन र सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष प्रेम लामिछानेको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला भूसंरक्षण अधिकृत निरन्जन श्रेष्ठ, सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय, पत्रकार महासंघका सचिव दिल शिरिष, पुरस्कृत वनको तर्फबाट प्रेमबहादुर थापा लगायतले बोलेका थिए ।
Previous Articleमोटरसाईकल ठक्करबाट चारदिनमा पाँच घाईते
Next Article एउटै गाउँबाट डेढ करोडको आलु निर्यात