उनलाई हिमालयन आँखा अस्पतालमा लगियो। डाक्टरले उनको आँखाबाट सानो झुस निकालेर औषधी गरे। तर, उनको आँखाको समस्या ठिक हुनुको साटो झन् बढ्दै गयो। आँखाको भित्री भाग रातो र नानी पुरै सेतो हुँदै गयो। उनलाई काठमाडौं रिफर गरियो । अहिले उनको काठमाडौंमा २-३ जना डाक्टरको निगरानीमा उपचार हुँदैछ।
बागलुङका ३ वर्षीय मनबहादुर सुनारले सेतो पुतली देखेर खेलाउन थाले। पुतली खेलाएको हातले आँखा मिचेपछि एक्कासी उनको आँखामा पनि उस्तै समस्या देखियो। परिवार मनबहादुरलाई लिएर हिमालयन आँखा अस्पताल पुगे। उनको समस्या पनि विपनाको जस्तै थियो। आँखामा परेको झुस निकालेर औषधी गर्दा उनको पनि आँखाको समस्या उल्टै बढ्दै गएपछि काठमाडौं रिफर गरियो।
लमजुङका १ वर्षीय शिरिष विक तातेताते दौडँदै थिए। आँखामा एक्कासी सेतो पुतली ठोक्किन आइपुग्यो। सेतो पुतली आँखामा ठोक्किएसँगै उनको आँखा बेस्सरी चिलाउन र दुख्न थाल्यो। उनलाई पनि हिमालयन आँखा अस्पताल ल्याइयो। डाक्टरले उपचार गरे तर समस्या झन् जटिल हुँदै गएपछि उनलाई पनि काठमाडौं रिफर गरियो। अहिले उनको पनि डाक्टरको विशेष निगरानीमा उपचार भइरहेको छ।
यी तीनै जनामा सेतो पुतलीका कारण आँखामा गम्भीर समस्या देखिएको हो। तीनै जनामा पुतलीको झुस आँखामा परेपछि हुने सापु (सिजनल इन्डोथाल्माइटिस)को पुष्टि भएको छ। डाक्टरलाई थाहा भयो, यो त सेतो पुतलीबाट आँखामा लाग्ने डर लाग्दो रोग सापु पो रहेछ।
पोखरामा सेतो पुतलीबाट आँखामा यस्तो समस्या देखिएको ५ वर्षपछि हो। ‘हामीले यो रोगका विषयमा ख्यालै गरेनौं। यस्तो समस्या आउन छाडेको लामो समय भइसकेको थियो,’ हिमालयन आँखा अस्पताल पोखराका प्रमुख डा. इन्द्रमान महर्जनले भने, ‘अन्य समस्याजस्तै हामीले सामान्य रुपमा लिएर उपचार गर्यौं।’
पोखरामा ५ वर्षयता सेतो पुतलीको झुसले हुने संक्रमणबाट आँखामा लाग्ने सापु रोग देखिएको थिएन। डा. महर्जनका अनुसार ५ वर्ष पहिले प्रत्येक २÷२ वर्षमा यो समस्या देखिँदै आएको थियो। ‘आँखाको यस्तो समस्या लिएर आएपछि हामीले सुरुमा सामान्य उपचार ग¥यौं। आँखाको भित्री भागमा एउटा सानो झुस् परेको रहेछ । हामी त्यो निकाल्यौं र औषधी गर्यौं,’ हिमालयन आँखा अस्पताल पोखराका प्रमुख डा. इन्द्रमान महर्जनले भने, ‘उपचार गरिएको आँखाको समस्या घट्लाभन्दा झन् बढ्दै गएर आँखाको नानी नै सेतो भएपछि तत्काल काठमाडौं पठायौं।’ अहिले भलामकी विपनाको आँखामा सुधार हुँदैछ भने अन्य २ जनाको उपचार भइरहेको छ।
पोखरा र आसपासमा अहिले सेतो पुतलीको आतंकै छ। यो वर्ष सेतो पुतलीको संख्यामा वृद्धि भएको बताइएको छ । यो तापक्रम र केमिकलका कारण सेता पुतलीको वृद्धि हुने असोजपछाडि भने यो पुतली आफैं मर्दै जाने उनले बताए। यही समय धेरै बालबालिकामा यस्तो समस्या हुन सक्ने जोखिम रहेको भन्दै अभिभावक र बालबालिका सचेत हुनुपर्ने उनको भनाइ थियो। ‘तत्काल सचेतनाका कार्यक्रम सम्भव नभएकाले व्यक्ति आफैं सचेत हुनुपर्छ,’ महर्जनले सुझाए ‘रोग लाग्नेबित्तिकै उपचार ग¥यौं भने यो रोग निको हुन्छ । उपचारमा ढिलाइ गर्नु हुँदैन।’
यो रोगको संक्रमणका कारण अति छिटो आँखाको ज्योति गुम्ने सक्ने खतरा रहन्छ। ‘यो रोग यति जटिल हुन्छ कि २४ घन्टाभित्रै उपचार गरिएन भने आँखाको ज्योतिसमेत गुम्न सक्ने खतरा हुन्छ,’ उनले भने।
सुरुसुरुमा वर्षमा २० औं यस्ता समस्या आउने गरेको सम्झँदै महर्जनने पछिपछि प्रत्येक २ वर्षमा यस्तो समस्या हुने गरेको बताए। सेतो पुतलीबाट कसरी बालबालिकामा यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता नलागेको बताउँदै डा. महर्जनले पुतलीको झुस जब आँखामा पर्छ त्यसको रसायनले असर पार्ने जानकारी दिए। डा. महर्जनका अनुसार साना बाबुनानीमा सेता पुतलीबाट धेरै जटिल समस्या देखिने गरेको छ। ‘२०÷२२ वर्ष पहिलेदेखि हेर्दा अहिलेसम्म पोखरामा ५ वर्ष मुनिका बालबालिकामा मात्रै यो समस्या देखिएको छ,’ उनले भने, ‘पाका व्यक्तिलाई पनि सेतो पुतलीले असर त गर्छ तर यो रोग बालबालिकामा मात्रै देखिएको छ।’ पोखरामा ५ वर्षमुनिका बालबालिकामा यो रोग देखिए पनि काठमाडौं लगायतका ठाउँमा भने १० वर्षमुनिका धेरै बालबालिकामा यो रोग भेटिएको थियो।
महर्जनका अनुसार आँखा अचानक रातो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु, आँखाको नानी सेतो देखिनु, अत्यन्तै छोटो समयमा ज्योति ज्यादै कम हुँदै जानु लगायत सापुको मुख्य लक्षण हो। सेता पुतलीबाट बच्नु नै यो रोगको मुख्ष् उपाय भएको उनी बताउँछन्। ‘सेतो पुतली साँझमा उज्यालो ठाउँमामात्रै आउँछ। यो सेतो बल्ब, सेतो पर्दा, झ्याल लगायतमा बढी झुम्मिन्छन्,’ महर्जनले भने।
पोखरामै जन्मिएको रोग
यो रोग नेपालमा पोखराबाटै फैलिएको महर्जन बताउँछन् । पोखराबाट झन्डै २० वर्ष अगाडि यो रोग फैलिएको उनले बताए। सुरुमा थोरैमा देखिएको यो रोग सन् २००४ सालपछि भने देशका विभिन्न सहरमा फैलिएको थियो। पोखरामै सुरुसुरुमा वर्सेनि २० औं जनामा यो रोग देखिन्थ्यो।
‘यो रोगका विषयमा थुप्रै अध्ययन भएका छन्। म आफैं पनि अध्ययन टोलीमा सहभागी भएको छु,’ डा. महर्जनले भने, ‘तर अहिलेसम्म पनि विश्वमै यो रोगको कारण पत्ता लाग्न सकेको छैन।’ विभिन्न टोलीले विभिन्न जीव तथा प्रवधिबाट यो रोगको कारणबारे अनुसन्धान भए पनि जड पत्ता नलागेको उनी बताउँछन्।
यो रोग निरन्तर रुपमा नभइ केही वर्षको अन्तरमा देखिने गरेको छ। पहिले वर्ष वर्षमा र पछि २-२ वर्षमा देखिएको यो रोग अहिले ५ वर्षको अन्तरालमा देखिएको हो । सन् १९७५ तिरै यो रोग देखिए पनि १५|२० वर्ष यो रोग देखिएन । पहिले यसलाई ट्युमर भनिथ्यो । पछि अध्ययन टोलीले यो रोगलाई सापु नाम दिइएको हो।