म्याग्दी, २८ भाद्र – जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले विद्यालयमा आकस्मिक अनुगमन गर्दा ८ जना शिक्षकहरु छड्केमा परेका छन् ।
सोमबार पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा सञ्चालित जनप्रिय माध्यमिक विद्यालयमा गरेको अनुगमनमा विद्यालयमा कार्यरत शिक्षकहरु छड्केमा परेका हुन् । दरबाङमा आयोजित औपचारिक कार्यक्रमको सिलसिलामा विद्यालय प्रवेश गरेका जिशिअ श्रेष्ठले सबैभन्दा पहिला शिक्षकहरुको हाजिरी रजिष्टर चेकजाँच गरेका थिए ।
हाजिरी चेक गर्ने क्रममा जनप्रिय माविको विभिन्न तहमा अध्यापन गराउने ८ जना शिक्षकहरुले विद्यालयको हाजिरी रजिष्टरमा आफ्नो हाँजिर नगरेको पाइएको उनले बताए । विद्यालयको शैक्षिक वातावरण, शिक्षकको उपस्थिति, विद्यार्थीको पढाई र समग्र अवस्थाको अनुगमन गर्दा शिक्षकले विद्यालय पुगेपछि सबैभन्दा पहिला गर्नुपर्ने काम आफ्नो हाजिर नै नगरेको पाइएको जिशिअ श्रेष्ठले जानकारी दिए ।
शिक्षक विद्यालयमा उपस्थिति भएपछि सबैभन्दा पहिला आफ्नो हाजिरी गर्नुपर्ने बताउँदै उनले विद्यालयमा आएर पनि कतिपय शिक्षकले हाजिर गर्ने क्रममा हेलचेक्र्याँई गरेको उनले बताए । हाजिरी नगर्ने शिक्षकहरुमध्ये केही शिक्षकको ६ सातदिन सम्म पनि लगातार हाँजिरी नभएको समेत पाइएको जिशिअ श्रेष्ठले बताए । विद्यालयमा अध्यापनरत शिक्षकले विदा लिएपछि हाँजिरमा विदा जनाउनुपर्ने, विद्यालय आएपछि हाँजिर गर्नुपर्ने जस्ता नियमित आफ्नो काम गर्नुपर्ने भए पनि त्यो नगरेको पाइएको जिशिअको भनाई छ ।
हाजिर नगरेका शिक्षकहरुलाई धेरै समयको एकैपटक हाँजिर नगर्न र छुटेको दिनको विदा मिलान गर्न निर्देशन दिएका छन् । जिशिअ श्रेष्ठले रजिष्टरमा हाँजिर नगरेका शिक्षकको खाली ठाउँमा चिह्न समेत लगाइदिएका छन्भने भ्रमण पुस्तिकामा निर्देशन समेत लेखिदिएका छन् ।