बागलुङ/जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले पश्चिम क्षेत्रका ३ गाउँपालिका र १ नगरपालिकालाई एकै ठाउँमा राखेर क्षयरोगका विरामीको अवस्थामा विषयमा समीक्षा गोष्ठी सम्पन्न गरेको छ । जिल्ला तथा पश्चिम बागलुङका ४ स्थानीय तह तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा रहेका क्षयरोगका विरामीहरुमा सबैभन्दा बढी बडिगाड गाउँपालिकामा रहेको जनस्वास्थ्य कार्यालयले तथ्याँक सार्वजनिक गरेको छ । समीक्षा गोष्ठीमा पश्चिम बागलुङका ४ स्थानीय तहमा रहेका १८ स्वास्थ्य संस्थाका ईञ्चार्ज तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा आयोजना गरिएको उक्त समिक्षा कार्यक्रममा स्थानीय तहमा क्षयरोगको अवस्था, न्यूनिक।णका लागि स्वास्थ्य संस्थाले गरेका प्रयास,नेपाल सरकारको राष्ट्रिय रणनैतिक योजना र वर्तमान अवस्थाका विषयमा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका क्षेय कुष्ठरोग निरीक्षक देव प्रकाश घिमिरेले जानकारी गराएका थिए । घिमिरेले प्रस्तुत गरेको तथ्याँक अनुसार बागलुङ जिल्लामा आर्थिक वर्ष ०७२÷०७३ मा १ सय ५६ जना क्षेयरोगका विरामी रहेका र ती मध्ये ८३ जना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि सेवन गराउनै पर्ने विरामी रहेका छन् । यस्तै, जिल्लाकै क्षयरोग तथ्याँकमा पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा सबै भन्दा बढी क्षयरोगका विरामी रहेका छन् । जहाँ ४९ जना क्षेयरोगका विरामी तथा ती मध्ये ३० जना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि सेवन गराउनु पर्ने विरामी रहेका छन् । पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा ९ जनामा क्षयरोग देखिएको र ती मध्य ३ जना नियमित औषधि सेवन गराउने पर्ने विरामी देखिएका छन् । तमानखोला गाउँपालिकामा ५ जनामा क्षयरोग देखिएको छ भने ती मध्ये ३ जनाले नियमित औषधि सेवन गराइरहेका छन् । यस्तै ढोरपाटन नगरपालिकामा १३ जना क्षयरोगी देखिएका छन भने ६ जनाले नियमित औषधि सेवन गराइरहेको बताईएको छ ।
क्षयरोग किटाणु हरेक नागरिकमा ४० प्रतिशत हुने राज्यको तथ्याँक छ । यसर्थ नेपाल सरकारले नेपाललाई क्षयरोग महामारीका रुपमा लिएको र सन २०१४ देखि महामारी वर्षका रुपमा न्यूनिकरण अभियान सुरु गरेको छ । राज्यले नै सन २०१७ सम्म नेपालबाट ५० प्रतिशत क्षयरोग संक्रमण निदानको लक्ष्य अघिसारेकोले हरेक स्वास्थ्य संस्थाले यो अभियानलाई सार्थकरुपमा सफल पार्नुपर्ने दायित्व भित्र रहेको बताइएको छ । सन २०२० सम्म शतप्रतिशत संक्रमण निदान तथा २०५० सम्ममा महामारी अत्यको घोषणा गरिएको पनि जानाकारी दिईएको छ । क्षयरोग स्वासप्रस्वासका माध्यमबाट एक व्यक्तिदेखि अर्को व्यक्तिमा सर्ने भएकाले यो रोग लागेको एक जना क्षयरोगीले १० जनालाई सार्न सक्छ । रोगको निदानका लागि हरेक नागरिकले जुनसुकै बेला आफ्ना पायक पर्ने हरेक स्वास्थ्य संस्थामा पुगेर निशुल्क खकार परीक्षण गराउन सक्ने छन् । यदी संक्रमणको शंकालागे निशुल्क औषधिको व्यवस्था समेत नेपाल सरकारले व्यवस्था गरिदिएको जनस्वास्थ्य प्रमुख दिपक तिवारीले बताए । यो रोग एचआइभी पोजेटिभ भएका विरामीहरुमा अनिवार्य हुने र क्षयरोग र एचआइभी पोजेटिभ भएका विरामी भएमा उनीहरुलाई बढी निगरानीमा राखेर उपचार गराउनु पर्ने स्वास्थ्य कर्मीहरुको भनाई छ । हरेक नागरिका लागि अव स्वास्थ्य संस्थाहरुले क्षयरोग तथा एचआइभि परीक्षण अनिवार्य गर्ने अभियान स्थानीय तहमा सञ्चालन गर्न आवश्यक रहेको जनस्वास्थ्य प्रमुख तिवारीले बताए ।