सुरेन्द्र पौडेल
बिपि कोईराला भारतमा ३८ बर्ष निर्वासित जिवनपछि नेपालका राजासँग आफ्नो घाँटी जोडिएको भन्दै २०३३ साल पुस १६ गते नेपाल फर्किएका थिए । मेलमिलापको नीति अनुरुप आगामी दिनमा नेपाल चल्नुपर्दछ भन्दै अभियानको प्रारुप दिएका थिए । जुन दिन गरिएको उद्धघोष अहिले पनि उत्तिकै सान्दर्भिक छ । उनी मरेर गएपनि उनको योगदानको सिंगो मुलुकले सदा अनुसरण गर्नु आवश्यक छ । शान्तिका अभियन्ता जन्मिएको मुलुक पनि नेपाल नै हो । बिश्वको सर्वोच्च शिखर सगरमाथाको देश पनि नेपाल हो । तसर्थ अबका दिनमा मेलमिलापको सुगन्ध फैलाउँने धर्ति नेपाल हो भन्ने शैलीको ब्यापक अभ्यास गर्नुपर्ने जिम्मेवारी नेपाली नेतृत्वको काँधमा छ । नयाँ सोचका साथ २०७४ लाई मेलमिलाप अभियान बर्षको रुपमा घोषणा गरि भातृत्व र भाईचारा संसारमाझ बुझाउँने शैलीको गृहकार्य थाल्न बुद्धिजिवीहरुको एकमत हुनु आवश्यक भैसकेको छ । नेपालीमा आज खड्किएको प्रमूख पक्ष भनेकै सहि बिचारमा बिबिधता सहितको एकता हो । मानिस–मानिस बिचको ब्यवहारमा प्रष्टता हुने होभने मुलुकबाट अस्थिरताको अन्त्य हुने सम्भव छ । कन्फ्यूसियसले भनेका छन् कि “अरुसँग त्यस्तो ब्यवहार नगर जुन ब्यवहार तिमीप्रति अरुले गर्दा आँफूलाई मन पर्दैन् ।” तर दुःखको कुरा नेपालमा बोली र ब्यवहार फेर्ने नेतृत्व नेपाली समाजमा छ । दुधपोखरी बनाउँने भन्ने कथा जस्तै ब्यवहार हामी नेपालीमा छ । मानिसमा गरेर खानुपर्छ भन्ने भावना पाँईदैन । राज्यले शान्तिपूर्ण बातावरणको चाँजोपाँजो मिलाईदिनु पर्दछ । प्रगतिशील सोच सबै नेपालीमा हुनु पर्दछ । परिस्थितिले कमजोर भएकाहरुलाई राज्यले संरक्षणबादी प्रगतिशील सोचबाट हेर्नु पर्दछ । हातमा सीप भएर पनि काम नपाएको अवस्थाको अब अन्त्य हुनु जरुरी छ । जनताको माग बिगतमा ठूला–ठूला थिए । तर बर्तमानमा देखिएको देशभित्रको अस्थिर राजनीतिको कारणले गर्दा मूलुक चल्न हम्मेहम्मे परिरहेको छ । तसर्थ जनता अहिले केवल आफ्नो सीप, सम्मान, सेवा र परिश्रमको सुरक्षा जस्ता बिषय अति आवश्यक आधारभूत मागतर्फ केन्द्रीत हुँदै गैरहेका छन् । परिस्थिति जटिल बन्दै जाँदा जनतामा मेलमिलाप होईन बैमनस्यको अवस्था मौलाउँदै गैरहेको छ । धाकधम्कि एवं तिग्रे बल देखाउँने पुरानो कुसंस्कार मौलाउँदै जाने अवस्था आउँने होकि भन्ने संकेत देखिन थालेको छ । जुन अवस्था राज्यको हितमा छैन् । मुलुकमा सहि नेतृत्वको अभाव खड्किएको आमजनताले महशुस गरिरहेका छन् । राजनीति गर्नेहरु राजनीतिज्ञ बन्न नसकि सधै सिकारुको ब्यवहार देखाईरहेका छन् । राजनीति गर्नेहरुमा ब्यक्तिगत महत्वकांक्षा एवं नीजि स्वार्थ हाबी भैरहेको छ । समस्या दिन प्रतिदिन चुलिदै गैरहेको दुःखद एवं दर्दनाक स्थिति हाम्रो सामू बिद्यमान छ । मधेशबादी दलहरुका मागहरु अष्प्रष्ट छन् । पुरा गर्ने सोच अनुरुप वार्तामा बसे राज्य बिखण्डनतर्फ धकेलिने पक्का छ । केहि सिमित प्रभावशाली ब्यक्तिमा भएको तिउरे र जिउँरे बलको प्रभावमा मुलुक घ्वंशात्मक दिशातर्फ धकेलिरहेको अवस्था छ । मेलमिलापको सोचलाई आत्मैदेखि केन्द्रबिन्दुमा राखेर सबै दलहरुका बीच एकता र विश्वासको बातावरणमा उभिनु अतिनै आवश्यक छ । जनताको पेशा ब्यवसायको सुरक्षाको सवालमा सबै एकै ठाउँमा उभिनु आवश्यक छ । पानी बाराबारको अवस्थामा पुग्नै लागेका नागरिक र नेताको बिचको सम्बन्धमा मेलमिलापको अवधारणा अनुरुप अघि बढ्न बिलम्ब गर्नु हुँदैन । जहाँ मेलमिलाप त्यहाँ मात्र विकास र सम्बृद्धिले गति लिने निश्चित रहन्छ । मेलमिलापको नीति केवल राष्ट्रिय रुपमा मात्र नभै अन्तराष्ट्रिय जगतमा समेत यसै शीर्षकलाई केन्द्रबिन्दुमा राखेर नेपालीले नै नेतृत्व गर्नु आवश्यक भैसकेको छ । मानिसमा लोभ मोह, क्रोध, जस्ता पक्षको पछि लाग्नु हुँदैन् । सत्यताबाट नै संसार चल्दछ भन्ने सोंच सबैले राख्नु पर्दछ ।
नेपाल जस्तो सानो भौगोलिक संरचना भएको देशमा संघीयताको संस्कार कत्तिको टिकाउ होला ? मन ढुक्क पारेर बस्ने अवस्था छैन् । पछिल्लो समयमा मधेसमा भएको आन्दोलन र हड्तालले मुुलुकमा दैनिक अर्बौको क्षति पुगेको छ । सबै क्षेत्रका जनतामा गाँस, बास र कपासमा असहज अवस्था निम्त्याईदिएको छ । ब्यापार ब्यवसायमा मन्दी छाएको छ । कालाबजारी मौलाएको छ । सरकार रणनीतिक एवं बैज्ञानिक कदम चाल्न अयोग्य जस्तै देखिएको आमजनताले महशुस गरिरहेका छन् ।
यस्तो अवस्थामा सबै पक्ष एउटै टेवलमा बसी मेलमिलापको नीति अनुरुप एक आपसमा भाईचारा कायम गर्नु पर्दछ । त्याग र समर्थनको बातावरणबाट नै अघि बढ्दा जितै जितको खेलमा सबै सफल भईने निश्चित छ । बर्तमान सन्दर्भमा मुलुकले उन्नत संबिधान पाएको खुसीपूर्ण अवस्था छ । सबै बर्ग क्षेत्रको मागलाई बैज्ञानिक ढंगले समेट्ने गरि आएको संबिधानमा बिमति राख्ने अधिकार सबैलाई छ । तर राष्ट्रलाई बिखण्डनमा पु¥याउँने शैलीका नाजायज माग तेस्र्यायर असहमतिको माला जपिरहनेहरुले बुझ्नु पर्दछ कि, के हो मेलमिलापको नीति भनेर । बुझ्नु पर्दछ कि के हो राष्ट्रियता भनेर । अनि बुझ्नु पर्दछ कि के हो परिचय र पहिचान भनेर । केहि सीमित स्वार्थका कारण सुन्दर र हरियाली सार्वभौम मुलुकलाई बिनास गरेर मरुभूमि जस्तै अर्थहीन राष्ट्रको खोजी गर्ने चरित्रको जथ्था कोही पनि राष्ट्रबादी हुनै सक्दैन् । सहमतिको लागि एक पाईला पनि अघि नबढाउने बिरुद्ध राज्यपक्ष गम्भिर बन्नै पर्छ । कठोर कदम चाल्नै पर्दछ । यहाँनेर भन्न खोजिएको कुरा यो होईन कि राज्य पक्षले गरेका सबै काम राम्रा हुन्छन् । राष्ट्रियता बिरुद्धमा गरिएका राज्य पक्षका वा बिपक्षका निर्णय बिरुद्धमा अन्तिम निर्णय लिन सक्ने अदम्य साहस जनतामा हुनु पर्दछ । भने सरकार सफल सरकार बन्ने प्रयत्नका साथ जनमूखी कार्य गर्नुपर्दछ ।
प्रसिद्ध बिद्वान् जर्ज बनार्ड शाले भनेका छन् कि बिचारको युद्धमा पुस्तक नै अन्तिम अस्त्र हो । तसर्थ जनता सचेत शिक्षित एवं इमान्दार हुनु पर्दछ । मेलमिलापको सिद्धान्तमा मात्र सबै पक्षको हीतको खोजी सम्भव छ ।
(लेखक पौडेल बागलुङको पैयुपाटा निवासी हुन् ।)
Previous Articleबागलुङ जेसीजद्धारा दुई युवा सम्मानित
Next Article वनमा सेना छिर्न खोजेको भन्दै गाउँले रुष्ट