अझै अलपत्र छ अस्पताल भवन
ठेकेदारद्धारा ताकेताको बेवास्ता
बागलुङ, २५ भाद्र – जिल्ला अस्पतालबाट बढुवा भएको ७ बर्ष बितिसकेको धौलागिरी अञ्चल अस्पतालको हाताभित्र दुइवटा ठूला भवन निर्माणाधिन छन् ।
ती भवन अस्पतालको हाताभित्रै भएकोले अस्पतालकै लागि हो भन्नेमा अस्पताल विकास समितिका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टको ठहर छ । तर धेरै बर्ष अघि निर्माण सम्पन्न भैसक्नुपर्ने भवनहरु अलपत्र छन् । अस्पताल हाता भित्रै भएर पनि भवन डिभिजनको नेतृत्वमा निर्माण हुने भएकोले अस्पताल विकास समितिले चासो राखेपनि दवाव दिन सकेको छैन ।
दिएको दवाव पनि निरर्थक जस्तो भएको छ । शितल निर्माण सेवाले जिम्मा लिएर म्याद सकिएको पनि दुइ बर्ष बितिसकेको भवन अलपत्र परेपछि अस्पतालको दैनिक प्रशासनिक काम देखि बिरामीको उपचार, इमरजेन्सी, ओपिडी लगायतको काम प्रभावित छ । त्यस्तै बिरामी राख्ने शैयाको पनि पर्याप्त व्यवस्था छैन । अस्पतालले दिनुपर्ने सेवा सुविधा नपाएपछि सेवाग्राहीले आक्रोस पोख्छन् । तर भवन नबनेकै कारण अस्पतालले सेवा दिन नसकेको भन्ने प्रष्टीकरण दिंदैमा हैरान भएको अध्यक्ष मञ्जेसबम मल्लले बताए ।
‘पर्याप्त भवन बनिसकेको भए उपचारलाई पनि प्रभावकारी बनाउन सकिन्थ्यो’ मल्लले भने,‘भएको पूर्वाधारको अधिकतम प्रयोग गरेर केही विशेषज्ञ सेवा भने दिएका छौं ।’ अस्पतालको प्रशासनिक भवनमा समेत उपचारको व्यवस्था थालेर कर्मचारी पुरानो जीर्ण टहरोमा सरेको उनले बताए । भवन बनेपछि मात्र प्रशासन, लेखा लगायतलाई सार्ने गरी पुरानैमा मिलेर बस्न लगाएको उनले बताए ।
यता ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि काम सक्नेमा ध्यान नदिएको उनले बताए । भवन डिभिजनले बढी पहल गर्नुपर्नेमा कम चासो राखेको पनि उनको गुनासो छ । अस्पतालको ए ब्लकमा मात्र बस्न मिल्ने छ भने बी को ठेक्का समय सकिएको पनि २ बर्ष बितेको छ । सी ब्लकको पनि थपिएको म्याद मात्र समेत सकिन लागेको छ । त्यति भएर पनि बिशेषज्ञ डाक्टरको प¥र्याप्त व्यवस्था अझै नभएपनि भएकाहरुबाट अस्पतालले हाडजोर्नी, हाइड्रोसिल, एपेन्डीसाइट र सुरक्षित सुत्केरीका लागि अपरेशन सेवा पनि अस्पतालले दिंदै आएको छ ।
पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको पालामा अनिवार्य अस्पतालमा जान निर्देशन दिएर पठाएपछि विशेषज्ञ डाक्टरहरुको उपस्थिति बढेको छ । जनशक्ति बढेपछि अस्पतालले सेवा पनि दिएको हो । यतिबेला दैनिक २ सय ५० देखि ३ सय सम्म बिरामी आउने गरेका छन् । ती मध्ये आधाले ल्याब परिक्षण गर्छन् । ल्याबमा पनि २ जनाले मात्र काम गर्नुपर्दा हैरानी भएको छ ।
त्यस्तै ल्याबको भवन पनि सानो, आवस्यक पूर्वाधार अपुग भएपछि काममा कठिनाई भएको हो । भवन बनेपछि मात्र आवस्यक सबै काम र मेसिनहरु जडान गर्न सकिने ल्याब शाखाकी अम्बिका बस्नेतले बताईन् ।
डायलाएसिस किन चलेन ? पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले गत बैसाखदेखि मिग्रौलाको डायलाएसिसको उपचार निशुल्कको व्यवस्था मिलाए ।
डायलाएसिस मेसिन नभएका ७ अस्पतालमा सरकारले मेसिन उपलब्ध गरायो र ६ स्थानमा उपचार सेवा पनि शुरु भयो । यसका लागि धौलागिरी अञ्पतालमा पनि २ वटा मेसिन भित्राइएको छ । अस्पतालले गरेको टेन्डरमा तोके भन्दा महंगो मूल्य सूचि राखेका ठेकेदारका कारण मेसिन ल्याउन संभावना नभएपछि मन्त्रीकै अगुवाईमा अनुदानका दुइ मेसिन आएका हुन् । तर मेसिन ल्याएर राखिएपनि दक्ष स्वास्थ्यकर्मीको अभावमा चलाउन सकिएको छैन । बागलुङकै झण्डै २३ जना बिरामीहरु अहिले राजधानीमा डायलाएसिस गरेर बसेका छन् । उनीहरुले सुविधा पाए बागलुङ आउने तयारी गरेका छन् । तालिम प्राप्त स्वास्थ्यकर्मी, केही उपकरण र केमिकलको अभावमा मेसिन चल्न नसकेको राजभण्डारीले बताए ।
अस्पतालले एक जना स्टाफ नर्सलाई मानवअंग प्रत्यारोपण केन्द्र पठाएर तालिम गर्न लगाउने, त्यहाँको तालिम प्राप्त स्वास्थ्कर्मी ल्याएर कम्तिमा ३ महिना काम लगाउने योजना अस्पतालको छ । त्यस्तो काम गर्न सकेमा बागलुङको स्वास्थ्यकर्मी तालिमप्राप्त बन्ने र तीन महिना सम्म लगातार काम भएपछि सहयोगी हरुले पनि काम सिक्ने अवसर पाउने भएकोले सोही अनुसारको व्यवस्था मिलाउन अध्यक्ष मल्लले पहल थालेको बताए । ‘दशै अघि मेसिन संचालनको व्यवस्था मिलाउने तयारी गरिएकोछ’ राजभण्डारीले भने, ‘एकदुइ दिन चलाएर अलपत्र पर्ने अवस्था आउन नदिनका लागि ढीला गरिएको हो ।’ अस्पताललाई विशेषज्ञ सहितको बनाउने लक्षमा अध्यक्ष र मेसुले काम गरेपनि राज्यकै निकायले बेवास्ता गरेको र आएका डाक्टरले पनि सुविधा सम्पन्न स्थानमा बस्ने बाहना बनाउने कामनै अस्पतालको चुनौती भएको राजभण्डारीको टिप्पणी छ ।
सरकार फेरियो डाक्टर फर्के
अस्पतालमा आएर सेवा दिएका केही विशेषज्ञ र डाक्टरहरु भने सरकार फेरिए लगत्तै फर्कन पनि थालेका छन् । १० तहका डा. सुनिलमणी पोखरेल भरतपुर मा १३ बर्ष बसेका थिए । गगन थापाको पालामा सरुवा भएर आएका पोखरेल सरकार फेरिनासाथ पुनः भरतपुर फर्केका छन् । उनले पुरानै अस्पतालमा फर्कन पाउनुपर्ने माग गर्दै अदालतमा मुद्दा समेत दिएका छन् ।
त्यस्तै एनेस्थेसिया डा. सुरेन्द्र कुँवर पनि अस्पतालको अनुमति बिना राप्ती उपक्षेत्रीय अस्पताल दाङ काज मिलाएर हिडेको मेडिकल सुपरिटेण्डन्ट डा. सागरकुमार राजभण्डारीले बताए । ‘एउटा मन्त्रीले अस्पतालाई महत्व दिएर सरुवा गरेर पठाउँछन्, अर्को मन्त्री आउन नपाउँदै ती डाक्टरहरु काज बनाएर जान्छन्’ राजभण्डारीले भने, ‘अस्पताल प्रशासनलाई जानकारी समेत नगराई उनीहरुलाई सरुवा गरिएको छ, नयाँ मन्त्रीले धौलागिरी अस्पताललाई हेलाहा गरे ।’
उस्तै काममा दुइ मन्त्रीको भावना फरक पर्दा मार खेपेको उनले गुनासो गरे । त्यस्तै स्त्रिरोग विशेषज्ञ डा. मञ्जु पाण्डे पनि निमय मिचेर ४ महिना नपुग्दै भरतपुर अस्पताल फिर्ता भएकी छिन् । उनको बिषयमा केही चर्चा चलेकोले फर्कन सक्ने संभावना पनि छ । तर तत्कालको काममा भने असर परेको छ ।