बागलुङ, २३ भाद्र – राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बागलुङबाट सरुवा भएर अन्यत्र जाने र शाखामा आएका नयाँ कर्मचारीलाई स्वागत तथा विदाई गरिएको छ ।
शाखाबाट केन्द्रीय कार्यालय ललितपुर सरुवा भएका सहायक अधिकृत सविना श्रेष्ठ र काभ्रेको बनेपा शाखामा सरुवा भएका सहायक प्रल्हादप्रसाद तिमल्सिनालाई विदाई गरिएको हो ।
यस्तै, केन्द्रीय कार्यालयबाट बागलुङ शाखामा आएका सहायक बुद्धराम बललाई स्वागत गरिएको छ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, शाखा समन्वय उपसमिति बागलुङका सह–संयोजक अशोकगोविन्द राजभण्डारी लगायत शाखा समन्वय उपसमितिका सदस्यहरुले स्वागत तथा विदाई गरेका थिए ।
कार्यक्रममा सञ्चालक जिसीले जहाँ गएपनि आफ्नो काममा निरन्तर र सक्रिय भएर लाग्न सुझाव दिए । यसैबीच, बैंकको शाखा समन्वय उपसमिति बागलुङको पहिलो बैठक सम्पन्न भएको छ ।
बैठकमा शाखा समन्वय उपसमितिमा मनोनयन भएका सबै पदाधिकारी तथा सदस्यहरु र सल्लाहकारहरुलाई सञ्चालक रामबहादुर जिसीले बधाई ज्ञापन गर्दै बैंकको कारोबार वृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।
उपसमितिका सह–संयोजक अशोक गोविन्द राजभण्डारी, सदस्यहरु बाबुराज कार्की, ध्रुवप्रसाद शर्मा, रुद्र्रबहादुर केसी, खिमबहादुर कार्की, रञ्जितप्रसाद श्रेष्ठ, लिला खड्काले शेयर सदस्य वृद्धि तथा कारोबार वृद्धिका लागि सक्रिय योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । बैंकका शाखा प्रमुख सन्तोष घिमिरेले शाखाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखामा धौलागिरिका २ सय १८ वटा सहकारी शेयर सदस्य रहेको, २ करोड ३० लाख ४२ हजार शेयर रकम, १४ करोड २२ लाख निक्षेप र १६ करोड ३३ लाख लगानी रहेको जानकारी घिमिरेले गराएका थिए ।
गत आर्थिक वर्षमा शाखाले ३० लाख मुनाफा गर्न सफल भएको उनले जानकारी दिए । बागलुङका ४० वटा सहकारीहरुले बैंकसंग नियमित कारोबार गरेका छन् ।
Previous Articleपर्वतका सन्तबहादुर सत्रवर्षदेखि साउदी जेलमा
Next Article २०७४ भाद्र २४ गते शनिबारको राशिफल