बागलुङ, २३ भाद्र – ताराखोला गाउँपालिका– ५ तारामा निजी लगानीमा २२ किलोवाट क्षमताको विद्युत उत्पादन गरिएको छ ।
साबिक तारा गाबिसको छेल्दोर खोलामा ९५ लाख रुपयाँको लगानीमा सो विद्युत उत्पादन गरिएको हो । विद्युत उत्पादनका लागि ३४ जना स्थानीयले न्युनतम ५० हजारदेखि अधिकतम ५ लाखसम्म शेयर लगानी गरेको आयोजनाका अध्यक्ष रणबहादुर पुनले जानकारी दिए ।
गत २०७३ चैत्रदेखि निर्माण कार्य सुरु गरिएको उक्त कार्य ६ महिनाको अवधिमै सम्पन्न गरिएको कोषाध्यक्ष हर्कमान घर्तीले बताए । घर्तीका अनुसार, आयोजना सम्पन्न गर्ने अवधि सम्ममा ६५ लाख शेयर संकलन भएको र २० लाख बराबरको शेयर सदस्यबाट श्रमदान गरिएको र १० लाख जति ऋण रहेको छ ।
आयोजना संचालनमा ल्याउनका लागि ओसिन पावर सर्भिस प्रा. लि. बुटवलले प्राबिधिक सहयोगको काम गरेको थियो । प्रतिकुल मौसमका बाबजुद पनि स्थानीय समुदायको जागरुकताका कारण छोटो समयमै विद्युत उत्पादन गर्न सकिएको आयोजनाका सव–ओभर सियर हेमराज रेग्मीले बताए । उत्पादित विद्युत अहिलेलाई शेयर सदस्य तथा त्यस आसपासका घर धुरीमा बितरण गरिने र मागका आधारमा उद्योग कलकारखाना, संघ संस्थाहरुलाई बितरण गरिने उपाध्यक्ष रबिन घर्तीको भनाई छ । निर्माण कार्य सम्पन्नपछि बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
सो अबसरमा ओसिन पावर सर्भिस प्रा. लि.का मेनेजर ज्योति प्रकाश आचार्य, ताराखोला गाउँपालिका–५ का वडा अध्यक्ष रामबहादुर रोका, वडा सदस्य दलराम पुन, महिला सदस्य सपनादेवी बुढाथोकी, आयोजनाका उपाध्यक्ष रबिन घर्ती, गल्कोट पत्रकार समाजका सचिब पूर्णभद्र निउरे, लाबाङ प्राबिका प्रअ पोकबहादुर घर्ती, नारायण घर्ती, खिमबहादुर पुन, दिपक रोका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रम छेल्दोर खोला जलविद्युत आयोजनाका अध्यक्ष रणबहादुर पुनको अध्यक्षता, सदस्य लक्षुमण रोकाको स्वागत र दिलबहादुर घर्तीको संचालन मा सम्पन्न भएको थियो ।