बागलुङ/ गल्कोट नगर विकास समितिको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता चन्द्रदत्त रेग्मी नियुक्त भएका छन् । नेपाल सरकार शहरी विकास मन्त्री स्तरीय निर्णयबाट उनी आगमी २ बर्षका लागि नगरविकास समिति अध्यक्षमा नियुक्त भएका हुन् । भदौ २ गतेको निर्णय अनुसार रेग्मीलाई अध्यक्षमा मनोनयन गरिएको चिठी उनको नाममा प्राप्त भएको छ । उनलाई गलकोट नगरविकास समितिको अध्यक्षमा मनोनित गरेको चिठी मन्त्रालय अन्तरगतको नगरविकास समिति तथा साना शहर शाखाले भदौ ७ गतेको मिति राखेर काटेको छ । नगरविकास समिति अध्यक्षमा शहरी विकास मन्त्रीले आफ्नो पार्टीका स्थानीय नेतालाई नियुक्ति गर्ने अभ्यास रहँदै आएको छ । माओवादी केन्द्रबाट शहरी विकास मन्त्री बनेका प्रभु शाहले उनलाई अध्यक्ष मनोनित गरेका हुन् । रेग्मीको नाममा पठाईएको चिठीमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रीस्तरको भदौ २ गतेको निर्णय अनुसार तपाईलाई गलकोट नगरविकास समिति बागलुङको अध्यक्ष पदमा बढीमा २ बर्षको लागि मनोनित गरिएको व्यहोरा अनुरोध छ ।’ उनी गलकोट नगरविकास समितिको पाँचौ अध्यक्ष भएका हुन् । गलकोट नगरविकास समितिमा यस अघि नेपाली कांग्रेसका नेता नारायणध्वज मल्ल अध्यक्ष थिए । उनको कर्यकाल गत साउनमा पुरा भएको थियो । मल्ल काँगे्रस नेता नारायण खड्का शहरी विकास मन्त्री हुँदा मनोनित भएका थिए । अहिलेसम्म गल्कोट नगरविकास समितिमा माओवादी केन्दबाट तीन पटक र काँग्रेसबाट दुईपटक अध्यक्ष भएका छन् । प्रस्तावित गल्कोट नगरविकास समितिको अध्यक्षमा पनि तत्कालिन नेकपा माओवादी (अहिले माओवादी केन्द्र) का भिमबहादुर बस्नेत अध्यक्ष बनेका थिए । हरिचौरका उनको यसअघि नै निधन भईसकेको छ । रेग्मी गलकोट नगरपालिका वडा नम्बर–२ नरेठाँटीका बासिन्दा हुन् । उनी शिक्षक पेशा छाडेर स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षको चुनाब लडेका थिए । रेग्मीलाई पराजित गर्दै काँग्रेसका हिमबहादुर भण्डारी वडा अध्यक्ष निर्वाचित भएका थिए । वडा अध्यक्षको चुनाव अघि उनले नरेठाँटीको महेन्द्र माविका शिक्षक थिए । उनी माओवादी निकट शिक्षक संगठनमा सक्रिय थिए ।
Previous Articleपत्रकार हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन हुँदै
Next Article निजामती कर्मचारीद्वारा रक्तदान