अबको गन्तव्य मानव बेचबिखनविरुद्धको अन्त्य
बागलुङ, २१ भाद्र – ‘अबको गन्तव्य मानव बेचविखनको अन्त्य’ भन्ने नाराका साथ मानव बेचबिखन विरुद्धको दिवश मनाइएको छ ।
महिला तथा बालबालिका कार्यालय बागलुङको आयोजनामा मंगलवार भएको कार्यक्रममा जुनसुकै बहानामा महिला, बालबालिका र पुरुष समेत बेचविखनमा पर्ने गरेको डरलाग्दो अवस्थाबाट समाजलाई बचाउनुपर्ने बताइएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बेचविखनका लागि बैदेशिक रोजगारीको सपना देखाउने देखि विभिन्न प्रलोभव र डर समेत देखाउने गरेको पाइएको बताए ।
उनले अनमेल विवाहको कागजात बनाएका, पैसाको प्रलोभन, यौन शोषण र धम्कीका कारण सिमा कटाउने काम भैरहेको आँफैले देखेको दावी गरेका थिए । अध्यागमनमा बस्दा भेटेका धेरै घटनाबाट महिला, बालबालिका र केही पढेलेखेको छु भन्ने पुरुष समेत बेचबिखनमा परेको भेटेको उनको अनुभव छ । थापाले गाउँगाउँमा आउने मानिसले फकाएर समेत फसाउने गरेकोले सचेत बर्गले त्यस बारेमा चासो राख्नुपर्नेमा जोड दिए ।
बैदेशिक रोजगारीको लागि बागलुङका धेरै युवा बेचविखनमा परेको थापाको टिप्पणी थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक बिश्वराजसिंह थापाले मानव बेचविखनको सम्बन्धमा तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा उनले खुला सिमानाको फाइदा उठाएर मानव बेचबिखन बढेको बताए । साथै उनले जनचेतनाको अभाव, पिडितको आफ्नै सहमतिबाट र गरिवीले बेचिन बाध्य भएकाहरु समेत भेटिएको बताए ।
उनले मानव बेचविखन सम्बन्धी ऐन २०६४ तथा त्यसले गरेका कारवाहीका प्रावधान बारेमा प्रष्ट पारेका थिए । नयाँ मुलुकी ऐन तथा नयाँ संविधानले पनि यस्ता बिषयमा प्रष्ट बोलेकोले कुनैपनि बहानामा मानव बेचविखनमा संलग्नलाई नछाड्ने प्रतिवद्धता समेत जनाए । भ्रष्ट्राचार र मानव बेचविखन लगायतका गम्भिर अपराधमा राज्यले शुन्य सहनशिलताको अवधारणा ल्याएको भन्दै नेपाल प्रहरीले पनि कानूनको पालनामा कुनै कसुर नराख्ने प्रतिवद्धता जनाएका थिए ।
गत बर्ष बागलुङबाट पनि २ युवती बेचविखनमा परेको प्रहरीको तथ्यांक छ । प्रजिअ बिष्णुबहादुर थापाको अध्यक्षता, रश्मी गौतमको संचालन र महिला विकास अधिकृत डिलकुमारी शर्माको स्वागतमा कार्यक्रम सम्पनन भएको थियो ।