बागलुङ, २१ भाद्र – ढोरपाटन नगरपालिका वडा नं. ४ स्थित दुई विद्यालयमा चोरी भएको छ । वडाको छोरेगाँउस्थित छोरेगाँउ माध्यमिक विद्यालय र सोरबाङस्थित सोरबाङ प्राथमिक विद्यालयमा श्रृंखलाबद्ध रुपमा चोरी भएको छ ।
छोरेगाँउ माध्यमिक विद्यालयमा विद्यालयको ताला तोडफोड गरि विद्यालयमा रहेको २ थान भलिवल लगायत अन्य सामाग्री चोरी भएको विद्यालयका शिक्षक जितेन्द्र विश्वकर्माले बताए । शिक्षक विश्वकर्माका अनुसार, आईतबार राती विद्यालयमा चारी भएको हुन सक्ने आशंका गरिएको छ । आईतबार बिहान विद्यालयमा पुग्दा विद्यालयको ताला तोडफोड गरेको अवस्थामा पाईएको विद्यालयले जनाएको छ ।
चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । खवर गरे लगत्तै बोंगादोभान प्रहरी चौकीबाट प्रहरी टोली घटनाको अनुसन्धानका लागी त्यहाँ पुगेको थियो । विद्यालय तोडफोड गरि चोरी गर्नेको पहिचान भने हुन सकेको छैन । चोरीमा संलग्नहरुको खाजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उता सोरबाङस्थित सोरबाङ प्राथमिक विद्यालयको महत्वपुर्ण कागजातसहित अन्य सामाग्रीहरु चोरी भएको विद्यालयले जनाएको छ । विद्यालय छाएको ढुंगा निकाली छानो प्वाल पारी विद्यालयका महत्वपुर्ण कागजातसहित बल, मोबाईल चार्जर लगायतका अन्य सामाग्रीहरु चोरी भएको विद्यालयका शिक्षक दुर्जन साप्कोटाले बताए ।
गत शनिवार र आईतबार विद्यालय बन्द भएकाले २ दिनको अन्तरालमा कुन दिन चोरी भयो भन्ने एकिन गर्न नसकिएको शिक्षक सापकोटाको भनाई रहेको छ ।
दुई दिनको विदापछि विद्यालय सञ्चालनका लागि विद्यालय पुग्दा छानोबाट चोर पसी दाराजको ताला तोडफोड गरेको पाईएको शिक्षकहरुले बताएका छन् । विद्यालय तोडफोड गरि चोरी गर्नेको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ ।