बागलुङ/सोह्रश्राद्ध अर्थात पितृपक्ष बुधबारदेखि सुरु हुदै छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म रहने सोह्रश्राद्धमा छोरा–छोरीहरुले आफ्ना दिवंगत पितृहरुको श्राद्ध तथा तर्पण गर्ने गर्दछन् । घर नजिकका तीर्थ तथा तालकुन्डमा गइ स्नान गरी वैदिक विधिअनुसार पितृहरुलाई पिन्डदान र तर्पण गर्ने गरिन्छ ।
बिशेष गरेर सोह्रश्राद्धको समयमा कालिगण्डकीको उद्गम स्थल मुक्तीनाथमा पुगेर श्राद्ध गर्नाले पितृले मोक्ष प्राप्त गर्ने जनविस्वास रहिआएको छ । यसका अलावा काठमाडौंको पशुपति, गोकर्ण, जनकपुरको गंगासागर, कालीगण्डकी किनारका विभिन्न तीर्थस्थलहरु लगायतका नदी किनारमा आज कृष्ण प्रतिपदाको बिहानै देखी श्राद्ध गर्नेहरुको भीड लाग्ने गर्दछ ।
यो अवधिभर बाबुआमा नहुनेहरुले लसुन, प्याज, माछामासु लगायतका तामसी परिकारहरु खान नहुने धार्मिक परम्परा छ । यस अवधिभर बाबुआमा नहुनेहरुले एकछाक मात्रै खाने चलन छ । आश्विन कृष्ण पक्षमा सूर्य कन्या राशिमा रहेको बेला पितृका निम्ति पर्व जस्तै हुने धार्मिक मान्यता रहेको छ । हिन्दू धर्ममा पितृको स्थान देवताको भन्दा पनि माथि रहने गर्दछ ।
ठूला चाडपर्व, यज्ञ जस्ता ठूला कर्म गर्नुअघि पनि पितृको सम्झना गर्ने परम्परा रहेकाले बडादसैं र तिहार जस्ता ठूला पर्वअघि पितृ पक्षमा सम्पूर्ण पितृहरुको सम्झना गर्ने गरिएको विश्वास गरिन्छ ।