१ वर्षमा ११६ ख्याउटेको उपचार
बागलुङ, २० भाद्र – बिगत ५ बर्षदेखि जिल्लामा पोषणका लागि सुआहारा कार्यक्रम संचालनमा छ ।
अमेरिकी नागरिकको आर्थिक सहयोगमा संचालित परियोजनाका लागि नेपाल सरकारको सचिव तहदेखि जिल्लाका स्थानीय विकास अधिकारी र वडा सचिव सम्मका कर्मचारीहरु यो अभियानमा सहभागि छन् ।
कुनै न कुनै रुपमा उनीहरुलाई तलब र भत्ताको व्यवस्था सुआहारा कार्यक्रमले गरेको छ । तर जुन उद्धेश्यका लागि कार्यक्रम संचालनमा छ, त्यही कार्यक्रमको प्रभावकारिता न्युन देखिएको छ । त्यसको उदाहरण हेर्न धौलागिरी अञ्चल अस्पताल पुगे हुन्छ । अस्पतालमा आधारित पोषण पुनस्थापना केन्द्रले बर्षेनी कुपोषित र ख्याउटे बालबालिकाका लागि उपचार गरिरहेको छ ।
उनीहरु अभिभावकलाई समेत केन्द्रमै ल्याएर पोषण बारे प्रशिक्षण दिनुपर्ने बाध्यता छ । ‘भएको खानेकुरा पनि सन्तुलन मिलाएर नखुवाएकोले ख्याउटे भएका बालबालिकालाई हामीले उपचार गरिरहेका छौं’ केन्द्रकी प्रमुख रोविना शाक्यले भनिन्, ‘सन्तुलित खाना खान सिकाएर बढीमा १५ दिन सम्म अस्पतालमै राखेर पठाउने गरेका छौं ।’ मानव स्वास्थ्यका लागि आवस्यक पर्ने खानाका लागि पैसा खर्च गर्नै नपर्ने भएपनि नजानेर समस्या निम्तेको भेटिएको शाक्यले बताइन् । अति बिपन्न परिवारका भन्दा मध्यम खालका परिवारमा यस्तो समस्या देखिएको हो ।
दाल, भात, साग, गेडागुडी, माछामासु, अण्डा लगायतका पोषण्युक्त खानेकुरा खान सिकाउने कामनै केन्द्रले गर्दै आएको हो । जन्मेदेखि १४ बर्ष सम्मका बालबालिकामा हुने कुपोषणलाई यहाँ ल्याएर उपचार तथा खानेवानीको सुधार गरिन्छ । उनीहरुको उचाई, तौल र उमेर अनुसारको मोटोघाटो नदेखिएको पाईएपछि केन्द्रले भर्ना लिएर उपचार गराउने गरेको हो ।
‘अधिकांस ५ बर्ष मुनीका बालबालिका आउने गरेका छन्’ शाक्यले भनिन्, ‘अभिभावकलाई पोषणयुक्त खानेकुरा खुवाउने तरिका र सचेतनालाईनै सिकाउने गरेका छौं ।’ यो अभियानबाट बर्षेनी १ सय भन्दा धेरै बालबालिकाले पोषणयुक्त आहारा पाएको र अभिभावकले आवस्यक तालिम तथा जानकारी पाएका छन् । गत आर्थिक बर्ष २०७३/०७४ मा पनि यो केन्द्रमा १ सय १६ बालबालिका आएर उपचार तथा पोषण पाएर गएका छन् । साउन महिनामा पनि १० जना बालबालिकाको उपचार भएको थियो ।
चारबर्ष अघि नेपाल युथ फाउण्डेसनको आर्थिक सहयोग चारतारे युवा क्लब सिवाईसी नेपालको व्यवस्थापनमा केन्द्र स्थापना भएको थियो । आगामी बर्ष यो केन्द्र अस्पतालमा हस्तान्तरण हुनेछ । राष्ट्रिय रुपमा केही तथ्यांक आएपनि पाँचबर्षदेखि संचालित सुआहारा कार्यक्रमले पोषणमा के सुधार भयो भन्ने यकिन नभएको परियोजना संयोजक जगदिश लोहारले बताए ।
‘कति पुड्को, कति ख्याउटे र कति स्तनपान नभएकाले पाए भन्ने तथ्यांकको तयारीमा रहेका छौं’ उनले भने, ‘सामान्य सुधार भएपनि ठूलो मात्रामा सुधारको तथ्यांक आइनसकेको हो ।’ परियोजनाको चेतनाबाट अस्पतालमा उपचारका लागि आएकाहरु पनि छन् । उपचारको दायरामा आएकोमा परियोजनाले सहयोग पुगेको अनुमान गर्न सकिने जगदिश लोहारले दाबी गरे ।
Previous Articleसामाजिक सेवाः ज्येष्ठ नागरिकलाई राहत
Next Article भोलिदेखी सोह्रश्राद्ध