बागलुङ, २० भाद्र – नेपाल पत्रकार महासंघ बागलुङले आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितताको समाचार प्रकाशन भएपछि मुद्दा दायर गरिनु भ्रष्टाचारको खुलासा गर्ने कामलाई निरुत्साहित गर्ने र पत्रकारिता क्षेत्रमा त्रास सिर्जना गर्ने नियोजित प्रयास भएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
‘सार्वभौम संसदका विभिन्न समितिहरूले अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको ‘नेपाल आयल निगमको जग्गा खरिद’ प्रकरणका विषयमा शाखाका निवर्तमान उपाध्यक्ष तथा वर्तमान केन्द्रिय सभासद दिलिप पौडेलले अनुसन्धानात्मक रिपोर्टिङ गरी समाचार प्रकाशित गरेपछि विकसित घटनाक्रम प्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार प्रकाशन भएपछि निगमका प्रवन्धक गोपाल खड्काले नागरिक दैनिकमा कार्यरत पत्रकार पौडेल सहित प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, प्रधान सम्पादक गुणराज लुइँटेललाई विपक्षी बनाई जनही २० करोड रुपैयाँका दरले क्षतिपूर्ति माग गरेर मुद्दा दायर गरेका छन् ।
’एउटा नागरिकको अदालतमा जाने अधिकारको महासंघ सम्मान गर्दछ’, शाखा अध्यक्ष दिल शिरीष र सचिव राम थापा ‘अविरल’द्धारा जारी विज्ञप्तिमा भनिएको छ, ’तर, घटनाक्रम विश्लेषण गर्दा यो मुद्दा नियोजित रुपमा भ्रष्टाचारको खुलासा गर्ने कामलाई निरुत्साहित गर्ने, पत्रकारिता क्षेत्रमा त्रास सिर्जना गर्ने र सञ्चारमाध्यम तथा पत्रकारलाई क्षतिपूर्तिका नाममा आर्थिक क्षति पु¥याउने मनसायबाट प्रेरित रहेको देखिन्छ ।’