राजेशचन्द्र रा.भ.
‘जीवन पर्यन्त शिक्षाका लागि एक स्थानीय तह, एक नमुना पुस्तकालय’ भन्ने नारासहित अहिले देश ब्यापि रूपमा १० औ राष्ट्रिय पुस्तकालय दिवस हामीले बागलुङ जिल्लामा पनि यसबर्ष मनाउने काम सम्पन्न भएको छ । नेपालमा पुस्तकालयको धेरै लामो इतिहास नभएपनि लामो समयदेखि सामुदायिक पुस्तकालय भने जनतन चल्दै आएको देखिन्छ । बागलुङ जिल्ला कै सन्दर्भमा भन्नु पर्दा २००३ सालमा स्थानीय शिक्षाप्रेमी ओमप्रसाद गौचन र मेघ कुमार बैद्यले स्थापना गर्नु भएको बिद्यामन्दिर पुस्तकालयको शुरूवात बिद्यामन्दिर माध्यमिक स्कुलबाटै भएको कुरा धेरैलाई थाहा छैन । तर अहिले पुस्तकालय छुट्टै पहिचानमा संचालन हुँदै आएको छ ।
राणा शासनको समयमा पुस्तकालय स्थापना गर्नु आफैँमा चुनौतीको बिषय त छदै थियो । शिक्षाको ज्योतिका साथै राजनीतिक आन्दोलन अगाडि बढाउन समेत पुस्तकालयले प्रभाकारी भुमिका खेलेको कुरा सबैलाई थाहा भएको बिषय हो । पुस्तकालय खोल्ने ठूलो कुरा हैन त्यसलाई निरन्तर रूपमा चलाउनु महत्वपूर्ण कुरा हो । तपाई हामी सबैको साझा सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय २००३ सालदेखि अहिलेसम्म निरन्तर रूपमा चल्दै आउनुलाई लिन सकिन्छ । ७ दशकभन्दा बढी नियमित पुस्तकालयको निरन्तरता यो कुनै चानचुने कुरा हैन । सरकारी सहयोग र समर्थनबिना समुदाय तथा पुस्तकालयप्रेमीको सहयोगमा अहिलेसम्म चल्दै आएको पुस्तकालयले निकै उतारचढाब बेहोर्दै यहाँसम्म आइपुगेको छ । जति–जति सूचना र सञ्चारले फड्को मार्दै गयो पुस्तकालय पनि त्यसको पछि–पछि चल्न बाध्य छ । हिजोसम्म सबै पुस्तककै भरमा चल्दै आएको पुस्तकालय र पाठक पनि अहिले नयाँ प्रबिधिअनुसार चल्न र खेल्न सिकेपछि सबैको माग चाहनाअनुसार बिद्युतिय पुस्तकालय ई–लाइब्रेरीको व्यवस्था गरेपछि नयाँ तरङ्ग आएको छ ।
साँच्चै भन्ने होभने अहिले पुस्तकालय दिबसको नारा ‘जीवन पर्यन्त शिक्षाको लागिः एक स्थानीय तह एक नमुना पुस्तकालय’ अगाडि सारिएको छ । यसलाई सकारात्मक रूपमा लिन जरुरी छ । अहिले धमाधम पुस्तकालय खोल्ने क्रम जारी छ । सरकार सबै सामुदायिक बिद्यालयमा पुस्तकालय खोल्नलाई लगानी गरेको छ । अहिले गाउँ–गाउँमा पुस्तकालय र ई–लाइब्रेरी संचालन गर्न समेत स्थानीय निकाय, सरकारी, गैर सरकारी संघसंस्थादेखि स्वदेश तथा बिदेशमा रहेका पुस्तकालयप्रेमी महानुभाबको सहयोग र समर्थनमा अभियान नै चलेको छ । देश संघियतामा प्रबेश गरिसकेको अबस्थामा हामीले कसरी आफ्नो प्रदेशलाई राम्रो बनाउने, कसरी आर्कषित बनाउने भन्नेतर्फ सोच्न जरुरी छ ।
२००३ देखि संचालनमा आएको यस पुस्तकालयमा सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक, साँस्कृतिकदेखि सबै खालका १४ हजारभन्दा धेरै पुस्तक छन् । जुन पुस्तक बहुमल्य छन्, बजारमा खरिद गर्न समेत सकिदैन ति पुस्तकलाई हामीले सहज रूपमा बिश्वको जुनसुकै कुनामा बसेर पनि इन्टरनेटमा हेर्न सकिने बनाउन जरुरी छ । हामीले प्रदेश नम्बर ४ को नमुना पुस्तकालय बनाउने अभियानलाई अगाडि बढाउन जरुरी छ । पुस्तकालय संचालन गर्ने प्रमुख चुनौती भनेको आर्थिक नै रहेछ । अहिलेको युगमा पैसा नै सबै थोक हो तर पैसा भएर मात्रै पुस्तकालय संचालन गर्न सकिन्छ भन्ने कुरा चाहिँ भ्रम मात्रै हो । प्रमुख कुरा पुस्तकालय चलाउन ब्यबस्थापन टिम नै हो । जुन टिम राम्रो छ त्यसले पैसा नभए पनि चलाउन सक्छ भन्ने उदाहरण बिद्यामन्दिर पुस्तकालय पनि एक हो । सबैको सहयोग र समर्थनमा सुबिधा सम्पन्न भबन बनेको छ । पुस्तकालयले २०६५ सालदेखि बालबिकास केन्द्र पनि संचालन गर्दै आएको छ ।
अब यसलाई साँच्चिकै नमुना पुस्तकालय बनाउने अभियानलाई सर्बप्रथम बागलुङ नगरपालिकाले अगुवाई गरेर जान जरुरी छ । अहिले सिमित कर्मचारीबाट संचालन गर्दै आएको यस पुस्तकालयबाट भबिष्यका दिनमा २४ घण्टे सेवा दिने सोच पनि अहिलेदेखि नै बनाउन जरुरी देखिन्छ । हाम्रो जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिकालाई समेत यस अभियानमा सहभागी बनाउन पर्छ । तबमात्र हामीले खोजेको अभियान पूरा हुनेछ । हामीसंग इतिहास बोकेको पुस्तकालय छ भनेर मात्रै पुग्दैन । हामीले समयअनुसार पुस्तकालयलाई चलाउन जान्नु पर्छ । हामी सुबिधा सम्पन्न भबनमा पुस्तकालय संचालन गरिरहेका छौ तर समयअनुसार पाठकको संख्या बृद्धि भएपछि यो सुबिधा सम्पन्न भबन पनि साँघुरो भएको महसुस भएको छ । भोलिका दिनमा आफ्नो प्रदेशलाई स्थापित गर्न समेत सामुदायिक पुस्तकालयलाई संस्थागत गरेर लैजान जरुरी छ । अहिलेसम्म अलग्गै पहिचान बनाउन सफल बिद्यामन्दिर पुस्तकालयले हजारौं पाठकलाई शिक्षा दिने काम गरिसकेको छ ।
पुस्तकालयले बागलुङ आउने देशका प्रमुख ब्यक्तित्वलाई ल्याउने, पुस्तकालय अबलोकन गराउने, पुस्तकालयबारे भनाई लेख्ने काम पनि भएको छ । पुस्तकालयले त्यसलाई निरन्तरता दिदै आएको छ । सूचना र संचारमा आएको फड्को संगै पुस्तकालयले बिद्युतिय पुस्तकालय बनाउने अभियानको शुरूवात गर्दा स्वदेश तथा बिदेशमा रहेका पुस्तकालयप्रेमीको मायाबाट स्पष्ट हुन्छ । विशेष गरेर लाइब्रेरी फाउन्डेसनका बिदेश संयोजक सोम सापकोटाको विशेष पहलकदमीमा पुस्तकालयले ई–लाइब्रेरी संचालन गर्न सक्यो । बागलुङ नगरपालिका कार्यालयबाट केही बर्षदेखि संस्थागत विकासको लागि बजेट बिनियोजन गर्दै आएको कारण पुस्तकालय चलाउन मद्दत पुगेको छ ।
विद्युतिय पुस्तकालय चलाएपछि यसलाई चाहिने कम्प्युटर लगायतका उपकरण पाठकको माग अनुसार थप गर्दै जानुपर्ने अबस्था छ । यसलाई संचालन गर्ने दक्ष जनशक्ति उत्पादन गर्न तालिम लगायतका समस्या आफ्नो ठाउँमा छ । पुस्तकालयसंग आर्थिक स्रोतको कुरा गर्दा अहिले अक्षयकोषमा ७ लाख रूपैयाँ पुगेको छ । बालबिकास विकास केन्द्रको छुट्टै ५० हजार कोष रहेको छ । अब केही दिनमै ३ लाख रूपैयाँ अक्षयकोषमा थप गरेर पुस्तकालयको कोष १० लाख पु¥याउने योजना रहेको छ । तर अहिलेको जमानामा १० लाखको अक्षयकोष पनि धेरै भने हैन । इतिहास बोकेको सामुदायिक पुस्तकालयलाई संस्थागत रूपमा चलाउन सरकाले नै यसलाई चाहिने जनशक्ति र बजेट नियमित बिनियोजन गर्न जरुरी छ । सबैको आशाको केन्द्र भनेको स्थानीय सरकार हो । प्रदेश ४ कै नमुना पुस्तकालय बनाउने दायित्व पनि स्थानिय सरकारको हो । यसमा दुई मत छैन् ।
पुस्तकालयले पाठकलाई सेवा, बालबालिकालाई शिक्षा दिदै आएको छ । यसलाई आगामी दिनमा आयआर्जनसंग समेत जोडेर लैजाने कार्यक्रम बनाउने समेत सोच बनाउन जरुरी देखिन्छ । प्रत्येक बर्ष साधारणसभा र दुई बर्षमा अधिबेशन नियमित रूपमा गर्दै आएको यो पुस्तकालयलाई १० औ पुस्तकालय दिबसको अबसरमा प्रदेश ४ कै नमुना पुस्तकालय बनाउने साझा अभियान बनाउने सरोकारवालाको एउटै धारणा छ ।
Previous Articleलियो काउन्सेलिङ मिटिङ बागलुङमा
Next Article रसआवरले फुटसल प्रतियोगिता गर्ने